कोकाकोलाको कार्यालयमा एमच्याम नेपालको अवलोकन भ्रमण


टुरिजम पाना भरतपुर । १२ आश्विन २०८०

अमेरिकी लगानीमा नेपालमा संचालित ब्यवसायहरुको छाता सँस्था अमेरिकन चेम्बर अफ कमर्सले (एमच्याम)ले आफ्ना सदस्य मध्येको एक बोटलर्स नेपाल (तराई) लिमिटेडमा ‘मेम्बरसिप लर्निङ’ कार्यक्रम अन्तर्गत अवलोकन भ्रमण सम्पन्न गरेको छ ।

कार्यक्रमले एमच्यामका सदस्यहरूलाई नेपालमा सञ्चालित सबैभन्दा पुरानो अमेरिकी कम्पनी बोटलर्स नेपालका सदस्यहरूसँग भेट्ने, कम्पनी तथा यसको ब्यवसाय, उत्पादन प्रक्रिया, गुणस्तर, दिगोपना र समुदाय वरपरका अन्य गतिविधिहरू बारे जान्ने अवसर प्रदान गरेको एमच्यामका अध्यक्ष अजित शाहले बताए ।

कम्पनीले पेय पदार्थ उत्पादन मात्रै गर्ने नभई बोतलको रिसाइकल समेत गर्दै आएको छ ।

सो अवसरमा एमच्याम सदस्यहरूलाई नारायणी मोडेल सेकेन्डरी स्कुलको भ्रमण गराइएको थियो । भ्रमणका क्रममा कोका-कोलाले आफ्नो साझेदार स्प्लास नेपालसँग मिलेर ‘रेन वाटर हार्वेस्टिङ’ र ‘ग्राउन्ड वाटर रिचार्ज’ परियोजना कार्यान्वयन गरेकोबारे जानकारी गराएको थियो ।

यस परियोजना मार्फत पिउने पानीको सुविधा गरिएकाले विद्यालयका तीन हजार विद्यार्थी सहज लाभान्वित छन् ।

एमच्यामको नेटवर्किङ कमिटीले समन्वय गर्ने यो कार्यक्रम हरेक सदस्यको कार्यालयमा गएर अन्तरक्रिया र अवलोकन गर्ने भएकाले त्यहाँको बारेमा बिस्तृतमा बुझ्ने, कम्पनीहरूबीच व्यवसायिक साझेदारीको ढोका खुलाउने तथा समस्याहरूसँग जुध्न एक ढिक्का बनाउने शाह बताउँछन् ।

एमच्यामका बोर्ड सदस्य आकाश गोल्छाले एमच्याम टिमलाई यस्तो महत्त्वपूर्ण भ्रमण गराएकोमा कोका कोला टिमलाई धन्यवाद दिए।

एमच्याम नपालका अध्यक्ष अजित शाह र सिडर गेट्सका प्रमोद राईको नेतृत्वमा लर्निङ सिरिज सञ्चालन गरिएको थियो । कार्यक्रमको सम्योजन बोटलर्स नेपालको पब्लिक एफियर्स डाइरेक्टर स्नेह राजभण्डारीले गरेकी थिइन् ।

१२ आश्विन २०८०