कायाकिङबाट प्याराग्लाइडिङमा मोडिएको सुस्मिताको यात्रा


टुरिजम पाना संवाददाता पोखरा । १२ माघ २०८०

कलिलो उमेर , बिवाह र पारिवारिक जिम्मेवारी ! हरेक जिम्मेवारीलाई निभाउन हिम्मत गर्ने शाहस र निरन्तर मेहेनतमा बिश्वास गर्ने एक महिला पात्र।

उनी हुन ओखलढुंगाकी सुस्मिता सुनुवार, जसको १४ वर्षको उमेरमा रामेछापका सानु बाबु सुनुवारसँग बिहे भयो । नौ कक्षा पढ्दै गर्दा पछि पनि पढाउने सर्तमा बिहे भए पनि घरगृहस्थी सम्हाल्दा सम्हाल्दै जसोतसो उनले १० कक्षा पढिन।

यता पढाइ रोकियो उता आमाको भुमिका थपियो। अब श्रीमती , बुहारी संगै १६ बर्षकै उमेरमा छोराकि आमाको भुमिकाका लागि तयार भइन उनी । दिनहरु बित्दै गए , एकदिन सानोबाबू उनलाइ लिन आए र आफू संगै पोखरा लगेर नेपालकै पहिलो महिला कायाक बनाउने सपना देखाए। उनी श्रीमानले देखाएको सपनालाइ पूरा गर्न १६ महिनाको नाबालक छोरालाइ सासु ससुराको भरोसामा छाडेर अघि बढिन।

साहसिक यात्राको सुरुवात

सानुबाबु कायकिङ गर्थे । सानुबानु त्यो बेला कायाकिङमा सुबिख्यात नाम थियो। दुबै जना खोलाको छालसँग लुकामारी खेल्न थाले । सुस्मितालाई न कायाक भनेको थाहा थियो न त पौढिन नै जानेकी थिइन। कायाक सिक्दा कतिपटक पानीमा डुब्न खोजिन , कतिपटक फोहोर पानी सेवनले बिरामी भइन , कतिपटक चिसोले आँखामा समस्या उत्पन्न भयो अनि कतिपटक उनले आफ्नो चरित्रमा उठेका औंलालाई सहजै नजरअन्दाज गरीदिइन त्यस्को कुनै लेखाजोखा नै छैन। कायक सिक्ने क्रममा उनी धेरैजसो थुप्रै केटाहरुको बिचमा सिक्नुपर्ने हुन्थ्यो , अनि समाजले बाटो पाउथ्यो उनलाई गिराउन , उनको मजबुत अठोटलाई तोड्न ! तर सानोबाबू उनको हौसला लाई टुट्न दिदैनथे।

सुस्मिता कायाक सिक्न पनि भ्याउथिन , अरुको घरमा गएर काम गरेर केही खर्चको जोहो पनि गर्थिन। त्यहि संघर्षको फलस्वरूप उन ले कायकिङमा छोटो समयमै राम्रो प्रगति गरिन् । उनले कर्णाली , भोटेकोसी , सुनकोशी, कालीगण्डकी , अपर सेती , लोवर सेती लगायत थुप्रै खोलामा उनले कायाक गरिन। सन २००८२००९ को कायकिङ नेपाल च्याम्पियन समेत बनिन उनी । सोही उपाधिले उनलाई स्विजरल्याण्ड र स्पेनसम्म पुर्यायो ।

जलपछी हवाइ यात्राको छलाङ
भनिन्छ श्रीमान श्रीमति एकै रथका दुई पांग्रा हुन। उनले पनि श्रीमानले देखाएको बाटो पहिल्याउन छाडिनन न त उनको उडान भर्ने सपनामा कुनै रोक लगाए सानोबाबुले। उनले पानीको यात्रालाइ बखुबी निभाइसकेकी थिइन । पछि उनलाई सानुबाबु सँगै प्याराग्लाइडिङमा उड्न मन लाग्यो । कायाकमा श्रीमानका कारण आएकी उनलाइ प्याराग्लाइडिङमा भने आफै रस पस्यो। बेसिक कोर्स ब्लु स्काइ प्याराग्लाइडिङ बाट गरिन् भने टेन्डम कोर्स सानुबाबुसँगै गरिन् ।

उनीहरूले बाबू एड्भेन्चर इन्टरनेसनल प्याराग्लाइडिङ स्कुल सन्चालनमा ल्याए । सोलो (एक्लै) उड्न २००९ मै सिके पनि छोराछोरी हुर्काउनु पर्दा उनले प्याराग्लाइडिङलाई केही समय निरन्तरता दिन सकिनन् ।

उनले सन् २०१६ देखि ब्यवसायिक उडान गर्दै आइरहेकी छिन् । उनलाई कायकिङभन्दा प्याराग्लाइडिङ सजिलो लाग्छ ।
मलाई आफू उड्न, अनि अरूलाई पनि उडाउन मन लाग्छ,’ उनले भनिन्, ‘आँखाले देखुन्जेल र कानले सुनेसम्म उडाउने आँट छ ।’
प्याराग्लाइडिङमा मानसिक रूपमा मात्र तनाव हुने तर कायाकिङ र र्‍याफ्टिङ मानसिकसँगै शारीरिक तनाव पनि हुने उनको अनुभव छ । ‘प्याराग्लाइडिङमा पनि सिक्ने बेलामा दुवै तनाव हुन्छ, तर उड्न थालेपछि सबै सोचमा भर पर्छ । त्यसैले यही सजिलो लाग्छ,’ उनले भनिन् ।

सैद्धान्तिक र प्रयोगात्मक गरी १० वटाभन्दा बढी परिक्षा दिएर मात्रै पाइलटले लाइसेन्स पाउँछ । हरेक वर्ष पाइलटको सामान अर्थात् क्यानोफी, हार्नेस, हेलमेट, प्यारासुट परीक्षण गरेर मात्रै लाइसेन्स नवीकरण हुने उनले बताइन् ।

परिवारकै प्रेरणाको स्रोत

सुस्मिता परिवारकै प्रेरणाको स्रोत बनेकी छिन । उनैको पदचाप पछ्याउँदै उनको आफ्नै बहिनीहरू निकिता सुनुवार, अनुस्का सुनुवार पनि पाइलट भइसकेका छन् । उनकी काकाकी छोरी देवकी सुनुवार पनि पाइलट बनेकी छिन्।

पेसा र ब्यवसाय दुबै प्याराग्लाइडिङमै गर्दै आएकी सुस्मिता आफ्नो काममा अत्यन्तै सन्तुष्ट रहेकी बताउँछिन् । सन्सारका मान्छेसँग आकासमा चरा झै उड्न पाउनु नै यो पेषाको मुख्य आकर्षण भएको उनको भनाइ छ ।

उनले अहिले आफ्नै कम्पनी समेत सञ्चालन गरिरहेकी छन् । उनले सञ्चालन गरेको फ्लाइङ हिमालय प्याराग्लाइडिङ कम्पनीमा उनीसहित ६ जना पाइलट छन् ।

आफैप्रती गर्व लाग्छ !
सुस्मिता ढुक्कका साथ भन्छिन हिजोको त्यो छुच्ची , कलिली , पढाइप्रती रुचि भएकी तर विभिन्न समस्यामा बाधिएकी सुस्मिता , आफ्ना सपना पूरा गर्न आफ्नै बच्चासङ टाढिएकी सुस्मिता , घरखर्च चलाउन अरुको घरका जुठा भाडा माझेकी सुस्मिता , आफ्नै अघि आफ्नो चरित्रहत्यालाइ समेत नियालेकी सुस्मिता र आजकी अत्मबिश्वासी , आत्मनिर्भर , स्वतन्त्र र कसैको प्रेरणाको स्रोत बन्न पाउँदा आफुले गरेको मेहेनत प्रती मलाइ एकदम गर्ब लाग्छ। जब हिजोका दिन सम्झिन्छु आजपनि आखा भरिएर आउँछ, उनी भन्छिन।

१२ माघ २०८०