पदयात्रा पर्यटनमा टान गण्डकीको प्रयास, थपिए ३०० जना दक्ष पोर्टर गाइड र ट्रेकिङ गाइड


टुरिजम पाना संवाददाता पोखरा । ३ भाद्र २०८२

नेपाल ट्रेकिङ एजेन्सीज एशोसिएसन टान गण्डकी प्रदेश कमिटीमा आयोजित एक महिने पोर्टर–गाइड र ट्रेकिङ गाइड तालिम सम्पन्न भएको छ । एक महिनासम्म सञ्चालन भएको तालिममा ३२० जना प्रशिक्षार्थी सहभागी भएका थिए ।

टान गण्डकी प्रदेशका अध्यक्ष कृष्णप्रसाद आचार्यका अनुसार तालिममा लामो समयदेखि अनुमति पत्र, लाइसेन्स, बिना काम गर्दै आएका गाइड तथा पोर्टरलाई प्राथमिकतामा राखिएको थियो । साथै केही नयाँ सहभागीलाई पनि तालिम दिने व्यवस्था गरिएको थियो । तालिममा ६० जना पोर्टर गाइड र बाँकी ट्रेकिङ गाइड प्रशिक्षार्थी थिए ।

एसएलसी उत्तीर्ण हुनु न्यूनतम योग्यता तोकिए पनि, लामो अनुभवका आधारमा कम्पनीको सिफारिसमा एसएलसी नभएका पुराना कामदारलाई समेत तालिममा सहभागी गराइएको अध्यक्ष आचार्यले जानकारी दिए । यो तालिम लिएका पोर्टर–गाइडले ४ वर्षसम्म काम गरेपछि फेरी अर्को तालिम लिएर गाइडमा रुपान्तरण भएर कामलाई निरन्तरता दिन सक्ने व्यवस्था गरिएको छ ।

नेपाल एकेडेमी अफ टुरिजम एण्ढ होटल म्यानेजमेन्ट (न्याथम)का विज्ञ प्रशिक्षकहरूले तालिम सञ्चालन गरेका थिए भने टान गण्डकीले समन्वय र व्यवस्थापनको जिम्मेवारी लिएको थियो । सहभागीले भौगोलिक ज्ञान, वनस्पति तथा जीवजन्तु, सरसफाइ, उद्धार, रक क्लाइम्बिङ लगायत विषयमा सैद्धान्तिक र व्यावहारिक कक्षा लिएका थिए ।

अध्यक्ष आचार्यले गण्डकी प्रदेश अहिले अन्नपूर्ण बेसक्याम्प, थोरङ्लापासलगायत मार्दी भ्यु प्वाइन्ट, कपुचे, घोरापानी–पूनहिल पदमार्ग चर्चित भइरहेको बताए । उनका अनुसार अफ–सिजनमा पर्याप्त जनशक्ति भए पनि पर्यटक आवागमन बढ्ने सिजनमा भने अझै पनि जनशक्ति अभाव देखिने गरेको छ ।

“हाम्रो गाइड र पोर्टरहरू चार महिनाको आम्दानीले मात्रै टिक्न सक्दैनन् । धेरैजसो खाडी मुलुक रोजगारीमा जान बाध्य छन्,” अध्यक्ष आचार्यले भने, “तर फ्रान्स, अष्ट्रिया, जर्मनी र स्विट्जरल्यान्डजस्ता मुलुकमा यही पेशामा लाग्दा भने नेपालीहरूलाई सम्मानपूर्वक फरक श्रेणीमा लिइन्छ ।”

हाल गण्डकीमा पोर्टर–गाइडले प्रतिदिन कम्तिमा २२०० देखि २५०० रुपैयाँ पाउने गरेका छन् भने गाइडले सोभन्दा बढी पारिश्रमिक पाउने गरेका छन् ।

३ भाद्र २०८२