टानले संयुक्तरूपमा ल्होसार पर्व मनाउने


टुरिजम पाना संवाददाता काठमाडौँ । २८ माघ २०८०

ट्रेकिङ एजेन्सिज् एशोसिएसन अफ नेपाल (टान) ले संयुक्तरूपमा ल्होसार पर्व मनाउने भएको छ । पर्वतीय पदयात्रा व्यवसायमा गुरुङ, तामाङ, शेर्पा, हेल्मोलगायत समुदायको बाहुल्यता रहेको टानले चार वर्षपछि संयुक्तरूपमा ल्होसार कार्यक्रम गर्न लागेको हो ।

यस वर्ष आगामी फागुन ४ गते आपसमा मनोरञ्जन र खुसी साटासाट ल्होसार पर्व मनाइने टानका द्वितीय उपाध्यक्ष एवं ल्होसार कार्यक्रमका संयोजक धनबहादुर गुरुङले बताए । “कोरोना महामारीका कारण चार वर्ष रोकिएको ल्होसारलाई हामीले अहिलेदेखि पुनः निरन्तरता दिन लागेका छौँ”, उनले भने । ल्होसारको अवसरमा सांस्कृतिक कार्यक्रमसमेत हुने जनाइएको छ ।

टानले ल्होसार कार्यक्रमलाई सम्पन्न गर्नका लागि टानका द्वितीय उपाध्यक्ष एव नयाँ पदमार्ग खोज अन्वेषण तथा अध्ययन समितिका संयोजक गुरुङको संयोजकत्वमा कार्यसमितिका सहकोषाध्यक्ष छिरिङदोर्चे शेर्पा, सदस्य कुमार लामा, लाक्पा शेर्पा र कृष्णबहादुर परियार रहेको समितिसमेत निर्माण गरेको छ । टानले यस वर्षको ल्होसार कार्यक्रममा रु २५ लाखभन्दा बढी खर्च हुने अनुमान गरेको छ ।

२८ माघ २०८०