आन्तरिक पर्यटनको हब बन्दै इटहरीको तालतलैया (तस्वीरहरू)


टुरिजम पाना काठमाडौं । १३ माघ २०७९

सुनसरीको इटहरी उपमहानगरमा अवस्थित तालतलैया पछिल्लो समय आन्तरिक पर्यटनको हब बन्दै गएको छ ।

तालतलैयामा विद्यार्थी तथा अन्य आन्तरिक पर्यटकहरूको आवागमन बाक्लो बन्दै गएको तालतलैया विकास समितिका अध्यक्ष लक्ष्मी प्रसाद खनालले जानकारी दिए ।

उनका अनुसार, पछिल्लो समय तालतलैयामा पिकनिकका लागि जानेहरूको पनि भीड लाग्दै गएको छ ।

कात्तिकदेखि फागुनसम्म पिकनिक आउने, मनोरञ्जन गर्ने, साधारणसभा सञ्चालन गर्ने लगायतका लागि आन्तरिक पर्यटकहरू आउने गरेको अध्यक्ष खनाल बताउँछन् ।

इटहरी चोकबाट नजिकै रहेको यो तालसम्म सहजै पुग्न सकिने उनको भनाइ छ । इटहरी चोकबाट करिब १५ मिनेटमै तालतलैया पुग्न सकिने खनालले जानकारी दिए । इटहरी चोकबाट टेम्पोमा सहजै तालतलैयासम्म पुग्न सकिन्छ । टेम्पोले प्राय: ५० रुपैयाँ भाडा लिने गरेको छ ।

तालको वि.सं. २०५६ देखि समिति नै गठन गरेर व्यवस्थापन गरिँदै आइएको उनको भनाइ छ ।  तालतलैयामा ढुंगाका विभिन्न आकृतिहरू समेत कुँदिएको छ ।

नेपाल ललितकला प्रतिष्ठानले समिति र त्यहाँको निजी क्षेत्रसँगको सहकार्यमा तालतलैयामा ढुंगाको मूर्ति बनाइएको अध्यक्ष खनालले जानकारी दिए ।

तस्वीरहरू:

१३ माघ २०७९