डिजिटल युगमा आउटडोर खेलको महत्त्व बढ्दै: ब्रिटिश कलेजका विद्यार्थीहरूले क्लिफमा लिए साहसिक खेलहरूको मज्जा


काठमाडौंको ब्रिटिश कलेजका विद्यार्थीहरूले कुष्मास्थित द क्लिफ नेपालमा साहसिक खेलहरूको मज्जा लिएका छन् ।

चार दर्जनभन्दा बढी विद्यार्थीहरूले शुक्रबार क्लिफमा विभिन्न साहसिक खेल तथा गतिविधिहरूको अनुभव लिएको क्लिफका अध्यक्ष राजु कार्कीले जानकारी दिए ।

उनका अनुसार क्लिफमा विद्यार्थीहरूले बञ्जी, वाल क्लाइम्बिङ, स्काई चेयर, क्रेजी ब्रिज लगायतमा मज्जा लिएका हुन् ।

अहिलेको डिजिटल युगमा विद्यार्थीहरूले विभिन्न ग्याड्जेट, भिडियो गेम लगायतमा समय बिताउनुभन्दा यस किसिमको ‘आउटडोर’ खेलहरुमा सहभागी हुँदा उनीहरुको आत्मविश्वास बढ्ने अध्यक्ष कार्की बताउँछन् ।

राजु कार्कीको परिकल्पना र नेतृत्वमा कालीगण्डकी नदीको खोँचमाथी पर्वत र बाग्लुङ बलेवा जोड्ने गरि बनाइएको द क्लिफमा विश्वकै अग्लो स्विङ र विश्वकै दोस्रो अग्लो बन्जी जम्प सञ्चालन हुँदै आएको छ ।

बन्जी र स्विङसँगै क्लिफमा रिसोर्ट, विश्वकै अग्लो व्यवसायिक स्काइ साइक्लिङ,  स्काइ क्याफे, वाल क्लाइम्बिङ, गुलेली पिङ,  क्रेजी ब्रीज, स्काइ ग्लाइडिङ, स्काइ क्याफे लगायत गतिविधि सञ्चालनमा छन् ।

४ चैत्र २०८०