पर्यटकका लागि सुविधा थप्दै द लास्ट रिसोर्ट, टेन्टलाई पनि थप व्यवस्थित बनाइने

२ करोडमा लगानी विस्तार


उपासना शर्मा सिन्धुपाल्चाेक, भाेटेकाेशी । ६ पुष २०७९
bungy bhotekoshi

२३ वर्ष पूरानो विरासत बोकेको भोटेकोशीको ‘द लास्ट रिसोर्ट’ ले लगानी विस्तार शुरू गरेको छ ।

टेन्ट बसाइका लागि लोकप्रिय रहेको यस रिसोर्टले पछिल्लो समय पर्यटकको माग रुम पनि रहेको भन्दै १५ वटा रुम विस्तार शुरू गरेको हो । ‘आन्तरिक पर्यटकलाई समेत मध्यनजर गर्दै रुम विस्तार गरिरहेका छौँ,’ लास्ट रिसोर्टका जनरल म्यानेजर भुवन शर्माले टुरिजम पानासँग भने । नेपालमा बन्जी जम्पको शुरूवात गर्ने यो रिसोर्ट साहसिक पर्यटनका लागि प्रख्यात छ ।

विगतमा अन्तर्राष्ट्रिय पर्यटकले टेन्ट रुचाएपनि आन्तरिक पर्यटकले भने रुम नै खोजेको भन्दै रिसोर्टले अत्याधुनिक प्रकृतिको रुम विस्तार गरिरहेको रिसोर्ट प्रशासनको भनाइ छ । विश्वव्यापी रुपमा कोभिड १९ भाइरसको महामारी आएपछि थला परेको पर्यटन क्षेत्र अहिले पुनरुत्थानको क्रममा रहेको छ । यतिखेर अन्तर्राष्ट्रिय पर्यटकको नेपाल आगमन बढ्दै गएपनि पूरानै अवस्थामा भने फर्किएका छैनन् । त्यसकारण पनि रिसोर्टमा आन्तरिक पर्यटकहरूकै घुइँचो बढिरहेको छ । नेपाली पर्यटकहरूको चाहना टेन्टभन्दा बढी रुम देखिएको जनरल म्यानेजर शर्माको भनाइ छ ।

एड्भेन्चर टुरिजमका लागि पायोनियर रहेको यस रिसोर्टले पर्यटकहरूका लागि सुविधाजनक रुम बनाइरहेको हो । उनका अनुसार, अहिले रिसोर्टले ६ वटा नयाँ रुम बनाइरहेको छ । यसअघि ४ वटा रुम सञ्चालन गरिसकेको भएपनि थप ६ वटा रुम विस्तार गरिएको उनले बताए । रिसोर्टले आवश्यकता हेरेर १५ वटा रुम सञ्चालन गर्ने योजना बनाएकोमा ४ वटा यसअघि नै सञ्चालनमा आएको छ । बाँकीमध्ये ६ वटा आगामी अगष्ट महिनाभित्रै सञ्चालनमा ल्याइने उनको भनाइ छ । उनले भने,‘बाँकी ५ वटा भने आवश्यकता अनुसार निर्माण गर्ने सोचमा छौँ ।’

रिसोर्टले ६ वटा रुमका लागि करिब ७५ लाख रुपैयाँ लगानी लाग्ने अनुमान गरेको छ । रुम सञ्चालनमा आएपछि पर्यटकलाई उनीहरूको रुची र चाहना अनुसार टेन्ट वा रुम विकल्प दिइनेछ । यसो हुँदा उनीहरूले आफ्नो रोजाइ अनुसार नै ‘इन्जोय’ गर्न सक्नेछन् । टेन्टमा बस्न चाहनेका लागि टेन्टलाई थप व्यवस्थित बनाउने काम भइरहेको जनरल म्यानेजर शर्मा बताउँछन् ।

पहिले कपडाको मात्रै टेन्ट प्रयोग गरिएकोमा अब भने त्यसलाई थप व्यवस्थित गरिने भएको छ । जसअनुसार, टेन्टको छेउछाउमा इट्टाको पर्खाल पनि लगाइएको छ । परिवार नै बस्न मिल्नेगरि टेन्टको व्यवस्थापन गरिएको उनले जानकारी दिए ।

विगतमा टेन्टबाट बाथरुमको दुरी टाढा भएको गुनासो आउने गरेको थियो । सो गुनासोलाई सम्बोधन गर्दै रिसोर्टले टेन्ट नजिकै बाथरुम पनि बनाएको छ ।रिसोर्टले टेन्ट नजिकै ७ वटा बाथरुम थप गरेको जानकारी दिएको छ ।

२ करोड रुपैयाँमा लगानी विस्तार

रिसोर्टले पछिल्लो समय आफ्नो सेवा सुविधा विस्तारलाई प्राथमिकतामा राखेको छ । जसअनुसार, विभिन्न सेवा तथा सुविधा थप गर्न करिब २ करोड रुपैयाँ अनुमानित लागत लाग्ने योजना बनाएको रिसोर्टका सञ्चालकहरूले जानकारी दिएका छन् ।

जसमा रिसोर्टले केही समयअघि मात्रै सानो आकारमा रहेको प्लन्ज पूललाई ठूलो बनाएको छ । गर्मी समयमा यसभित्र बसेर चिसोको मज्जा लिन सकिने रिसोर्टले बताएको छ ।

यस्तै, स्नुकर राख्ने तयारी भइरहेको छ । जसका लागि थाइल्याण्डबाट मगाइसकिएको रिसोर्टको भनाइ छ । करिब २ महिनाभित्रै यो आइपुग्ने अपेक्षा रिसोर्टको छ । यी बाहेक रुम विस्तार र टेन्टको व्यवस्थापनमा पनि लगानी बढी लाग्ने देखिएको रिसोर्टले जनाएको छ ।

६ पुष २०७९