सङ्घीय राजधानी काठमाडौँमा पर्यटक बसका लागि छुट्टै र व्यवस्थित बसपार्क नहुँदा ती बसहरू सडकमा नै पार्क गर्न बाध्य छन् । पर्यटन क्षेत्रलाई मुलुकको आर्थिक मेरुदण्डका रूपमा लिइए पनि पर्यटक बोक्ने सवारीसाधनका लागि आवश्यक पूर्वाधार भने अझै उपेक्षित देखिन्छ ।
काठमाडौँ महानगरपालिका–१६ सोह्रखुट्टे क्षेत्रमा अहिले पर्यटक बस सञ्चालन हुँदै आएका छन् । यसअघि झण्डै तीन दशकसम्म कान्तिपथ सडकलाई पर्यटक बसपार्कका रूपमा प्रयोग गरिँदै आएको थियो । तर, विसं २०७५ असार १६ गतेदेखि अत्यधिक भीडभाड र ट्राफिक चापको कारण देखाउँदै महानगरपालिका र ट्राफिक प्रहरीले कान्तिपथबाट बसपार्क हटाई सोह्रखुट्टे सडकमा सारिएको थियो ।
सोह्रखुट्टेमा बसपार्क सारिएको सात वर्ष बितिसक्दा पनि पर्यटक बसका लागि स्थायी र व्यवस्थित बसपार्क निर्माण हुन सकेको छैन । परिणामस्वरूप, पर्यटक बसहरू अहिले पनि सडक किनारमै पार्क गरेर सेवा दिन बाध्य छन् ।
हाल काठमाडौँबाट पोखरा, चितवनको सौराहा, लुम्बिनी र जनकपुरजस्ता प्रमुख पर्यटकीय गन्तव्यतर्फ दैनिक करिब १०० वटा पर्यटक बस सञ्चालनमा छन् । ती बसमार्फत दैनिक दुई हजारदेखि तीन हजारसम्म स्वदेशी तथा विदेशी पर्यटक आवतजावत गर्ने गरेका छन् ।
टुरिस्ट बस एसोसिएसन अफ नेपाल (टिवान) का अध्यक्ष भीष्म न्यौपाने सरकारले पर्यटक बस क्षेत्रलाई बेवास्ता गरेको गुनासो गर्छन् ।
“पर्यटनबाट अर्थतन्त्र बलियो बनाउने कुरा गरिन्छ, तर पर्यटक बसका लागि आधारभूत पूर्वाधारसमेत छैन,” उनले भने, “पर्यटक बसपार्कलाई राज्यले प्राथमिकतामा राख्नुपर्छ।”
उनका अनुसार विश्वका धेरै मुलुकले पर्यटक बोक्ने सवारीसाधनका लागि छुट्टै बसपार्क विकास गरेका छन् । तर, नेपालमा राजधानीमै यस्तो सुविधा नहुनु दुःखद भएको उनको भनाइ छ । ठमेल आसपास जस्तो प्रमुख पर्यटकीय क्षेत्रमा नै पर्यटक बसपार्क निर्माण गर्नुपर्नेमा उनले जोड दिए ।
टिवानका पूर्वअध्यक्ष तथा बाबा एड्भेञ्चर प्रालिका सञ्चालक प्रह्लाद लोहनीले पनि लामो समयदेखि सम्बन्धित निकायलाई ध्यानाकर्षण गराउँदै आए पनि ठोस पहल नभएको बताए ।
“चासो र प्रतिबद्धताको अभावकै कारण पर्यटक बसपार्क अझै सपना बनेको छ,” उनले भने ।
हाल व्यवसायीहरूले बिहान ५ बजेदेखि ७ बजेसम्म सोह्रखुट्टे सडकमा बस पार्क गरी यात्रु चढाउने गरेका छन् । रातको समयमा भने विभिन्न निजी ग्यारेजमा शुल्क तिरेर बस राख्नुपर्ने बाध्यता रहेको उनीहरूको भनाइ छ ।







