कैलालीको टीकापुर विमानस्थलमा २७ वर्षपछि पहिलोपटक नियमित हवाई उडान सेवा सुरु भएको छ । आइतबार काठमाडौँबाट नेपालगञ्जसम्म यति एयरलाइन्सबाट र त्यहाँबाट तारा एयरको कनेक्टिङ फ्लाइटमार्फत टीकापुर विमानस्थलमा उडान सुरु भएको हो ।
पहिलो उडानमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री अरुणकुमार चौधरीलगायत सवार थिए । विमानस्थलमा टीकापुर नगरपालिकाका प्रमुख रामलाल डगौरा थारुलगायतले राज्यमन्त्री चौधरी, पाइलट, चालक दलका सदस्य र यात्रुहरुलाई भव्य स्वागत गरेका थिए । त्यसअवसरमा सयौँको संख्यामा उपस्थित स्थानीयले विमानस्थल सञ्चालन भएकामा खुसीयाली व्यक्त गरेका थिए ।
हाल सातामा दुई दिन आइतबार र बिहीबार काठमाडौँ-नेपालगञ्ज-टीकापुर तथा टीकापुर-नेपालगञ्ज-काठमाडौँ नियमिक उडान सञ्चालन हुने गरी टीकापुर नगर र तारा एयरबीच सम्झौता भएको छ । हाल एकतर्फी भाडा नौ हजार रुपैयाँ निर्धारण गरिएको छ ।