आज अन्तर्राष्ट्रिय पर्वत दिवस


टुरिजम पाना काठमाडौं । २५ मंसिर २०७९
dhawalagiri trekking

आज अन्तर्राष्ट्रिय पर्वत दिवस । नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । जलवायु परिवर्तन र जनसङ्ख्या वृद्धिका कारण पर्वतीय क्षेत्रमा पारेको असर न्यूनीकरणमा जोड दिँदै प्रत्येक वर्ष डिसेम्बर ११ मा यो दिवस मनाउने गरिन्छ ।

पर्वतीय जीवनका बारेमा सचेतना जगाउने उद्देश्यले सन २००३ देखि पर्वत दिवस मनाउन थालिएको हो । यस वर्षको अन्तर्राष्ट्रिय पर्वत दिवसको नारा वुमन मुभ माउन्टेन अर्थात् महिलाहरुले पर्वतलाई चलाउन सक्छन् भन्ने रहेको छ ।

हिमालको देश भनेर चिनिने नेपालको कुल भूभागको १५ प्रतिशत भूभाग हिमाली क्षेत्रले ओगटेको छ । हिमाली जडीबुटी, हिमाली जीवजन्तु लगायतको उपलब्धताका हिसाबले नेपाल विश्वमै चर्चित छ ।

यस्तै नेपाल पर्वतारोहण तथा पदयात्राका लागि विश्वको रोजाइमा पर्ने गन्तव्य हो । यस वर्षको नारा जस्तै नेपालको पर्वतीय क्षेत्रमा महिलाहरुको प्रभाव बढ्दै गएको छ ।

हिमाली क्षेत्रमा हुने गतिविधि बढेसँगै हिमालमा फोहरको मात्रा पनि बढ्दै गएको छ । यस्तै, हिमाली वन्यजन्तु र वनस्पतिहरु मासिने क्रम पनि बढिरहेकाले पर्वतीय क्षेत्रको संरक्षणका लागि थप पहल आवश्यक रहेको संरक्षणकर्मीहरु बताउँछन् ।

२५ मंसिर २०७९