पर्यटन प्रवर्द्धनमा सहकार्यका लागि स्वीडिस सांसदसँग आग्रह


टुरिजम पाना संवाददाता काठमाडाैं । १२ भाद्र २०८०

नेपाल पर्यटन बोर्डले नेपालको पर्यटन प्रवर्द्धनका लागि सहकार्य गर्न स्वीडिस सांसदहरुसँग आग्रह गरेको छ ।

नेपाल भ्रमणमा रहेको स्वीडिस सांसदहरुको टोलीसँग बोर्डमा आयोजित भेटमा बोर्डका कार्यकारी प्रमुख डा. धनञ्जय रेग्मीले दुवै देशबीच सहकार्यका पर्याप्त सम्भावना रहेको भन्दै सहकार्यका लागि आग्रह गरे ।

उनले नेपाल लामो समयदेखि युरोपियन युनियनको सेफ्टी लिस्टमा रहेको कारण नेपालको युरोपसँग सिधा उडान हुन नसकेको र यसको प्रत्यक्ष प्रभाव पर्यटनमा परेको बताए । उनले त्यसबारे पहल गरिदिन सांसदहरुलाई आग्रह गरे ।

धेरै युरोपियन नेपालको साहसिक पर्यटनमा रमाउन नेपाल आउन चाहने भन्दै उनले सिधा हवाई सम्पर्कको अभावका कारण त्यो हुन नसकेको बताए ।

हवाई सुरक्षाबारे नेपाल सरकार गम्भीर रहेर आफ्ना काम गरिरहेको सन्र्दभमा युरोपियन आकाशको प्रतिबन्ध हटाउन भूमिका खेल्न समेत आग्रह गरे ।

भेटमा स्वीडेनका सांसद मारिया स्टोकाउजले नेपाल लामो समयदेखि युरोपियन युनियनको सेफ्टी लिस्टमा रहेको विषयलाई आफुहरुले गम्भीर रुपमा लिएको बताए । यस विषयमा आफ्नो तर्फबाट थप पहल गर्ने आश्वासन उनले दिए ।

सांसदद्वय एलेक्जेन्ड्रा एनेष्ट्रिल, सोफिया ल्याभेन्गेजले नेपालको पर्यटन विकासका लागि स्वीडेन सकारात्मक रहेको उल्लेख गर्दै सहकार्यका क्षेत्रहरु पहिचान गरि आवश्यक पहल गर्ने बताए ।

बोर्डका निमित्त बजार निर्देशक लक्ष्मण गौतमका अनुसार स्वीडेनबाट सन् २०१९ मा करिब ४० हजार पर्यटकले नेपाल भ्रमण गरेका थिए । सन् २०२३ को जनवरीदेखि जुलाईसम्म १४ हजार पर्यटकले नेपाल भ्रमण गरेका छन् ।

 

१२ भाद्र २०८०