चुनावी मैदानमा पर्यटन व्यवसायीहरु

संसदमा पर्यटन व्यवसायका मुद्दा उठाउने चाहना


गोविन्द मरासिनी काठमाडौं । १७ कार्तिक २०७९
tourism professional in election

मंसिर ४ मा हुने संघ तथा प्रदेश सभा निर्वाचनको माहौल तातेको छ । निर्वाचनका लागि राजनीतिककर्मीहरु मात्र फरक पेसा, व्यवसायमा आवद्धहरु पनि चुनावी मैदानमा होमिएका छन् । राजनीति गर्नेहरुमात्र राजनीतिमा आउनुपर्छ भन्ने परम्पराको अन्त्य गर्दै समाजसेवी, कलाकार, पत्रकार, व्यवसायी लगायतका अन्य व्यवसायीहरुको पनि राजनीति मोह वढ्दो छ । अहिलेको निर्वाचनमा प्रदेश तथा संघीय सांसद चुनिनका लागि पर्यटन व्यवसायीहरु विभिन्न दलका तर्फबाट र स्वतन्त्र उम्मेदवारको रुपमा चुनावी मैदानमा छन् ।

राजेन्द्र बजगाई

Rajendra bajgai

नेपाली कांग्रेसका नेता एवं पर्यटन व्यवसायी राजेन्द्र बजगाई सत्तारुढ गठबन्धन अन्तर्गत नेपाली कांग्रेसको तर्फबाट गोरखा क्षेत्र नं १ बाट उम्मेदवार रहेका छन् ।

विगत २७ वर्षदेखि पर्यटन क्षेत्रमा आवद्ध रहेका बजगाई ट्रेकिङ एजेन्सीज् एशोसियशन अफ नेपाल (टान)का पूर्व महासचिव समेत हुन् । काठमाडौंको बालुवाटारमा निर्माणाधिन ‘वर्णबास म्युजियम होटल’ सहित बजगाईको पर्यटन व्यवसायमा थुप्रै लगानी रहेको छ । टानको महासचिव हुँदा बजगाईले सगरमाथा आधार शिविरमा मन्त्रिपरिषद्को ऐतिहासिक बैठक सफल पार्नसमेत महत्वपूर्ण भूमिका खेलेका थिए ।

बिनोद चौधरी

binod choudhary

अर्बपति व्यवसायी रहेका बिनोद चौधरी नवलपरासी क्षेत्र नं १ बाट प्रतिनिधि सभा सदस्यको चुनावी मैदानमा छन् । यसअघि दुइपटकसम्म समानुपातिका सांसद बनेका चौधरी पहिलोपटक चुनावी मैदानमा आएका हुन् । नेपालको पर्यटनको मुख्य आधार रहेको होटल व्यवसायमा चौधरीको ठूलो लगानी रहेको छ ।

होटल भिभान्ता (ललितपुर), चितवन होटल, समिट होटल (ललितपुर), मेघौली सेराई (चितवन), उन्नती कल्चर भिलेज (गैडाकोट) लगायतका तारे होटलमा चौधरीको लगानी रहेको छ । उनका भारत, श्रीलंका, माल्दिभ्स, चीन, अफ्रिका हुँदै अमेरिकासम्म चौधरी समूहका होटेल छन् । यसका अलवा धार्मिक पर्यटकहरु नेपाल भित्राउने उद्देश्यका साथ नवलपुरमा सिजी शास्वतधामको निर्माण समेत गरेका छन् ।

माया गुरुङ maya gurung

सिन्धुपाल्चोक क्षेत्र नं २ बाट राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट प्रतिनिधि सभा सदस्य उम्मेदवार रहेकी माया गुरुङ एभरेष्ट वुमन ट्रेक्स एण्ड एक्सपिडिसन प्रा.ली. की प्रबन्ध निर्देशक हुन् । पर्वतारोही समेत रहेकी उनी ग्लोबल इनक्युलिसिप एडभेञ्चरकी संस्थापक सदस्य समेत हुन् ।

धवल शम्शेर राणा

Dhawal Shumshere Rana

बाँके क्षेत्र नं २ मा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट प्रतिनिधित्व गर्दै प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवार रहेका धवल शम्शेर राणा पनि एक प्रसिद्ध पर्यटन व्यवसायी हुन् । उनको नेपालगञ्जमा बाटिका होटल र बर्दिया राष्ट्रिय निकुञ्जमा रोयल एडभेञ्चर रिसोर्ट समेत रहेको छ ।

सुवर्णराज पन्त

suwarna raj panta

यसैगरी कास्की क्षेत्र नं २ मा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट संघीय सांसद पदका लागि उम्मेदवार बनेका सुवर्णराज पन्त पनि एक पर्यटन व्यवसायी हुन् । विभिन्न व्यवसायमा सक्रिय पन्त पोखरामा रहेको विल्लावोङ होटल र प्याराग्लाइडिङ कम्पनीसँग समेत आवद्ध छन् ।

शुशील पन्त

Sushil panta

राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट गोरखा क्षेत्र नं २ बाट उम्मेदवारी दिएका अर्को पर्यटन व्यवसायी शुशील पन्तले हेभिवेटका उम्मेदवार गठबन्धनका दलका नेता माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग प्रतिस्पर्धामा छन् । सन् १९९९ बाट पर्यटनको क्षेत्रमा प्रवेश गरेका पन्त हाल पर्यटनका विभिन्न संघसंस्थामा समेत आवद्ध छन् ।

उनी भिलेज टुरिजम प्रोमसन फोरम नेपालको संस्थापक सदस्य, ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) को सदस्य, नेपाल पर्वतारोहणको सदस्य र नेपाल एसोसिएसन अफ टुर तथा ट्राभल एजेन्ट्स (नाटा) को सदस्य भई पर्यटनका क्षेत्रमा कार्य गर्दै आएका छन् । उनी वाइल्ड लाइफ सफारी एडभेन्चर रिसोर्ट र एडभेन्चर गोरखा ल्याडका सञ्चालक हुन् ।

कविन्द्र बुर्लाकोटी

Kabindra Burlakotiराष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट गोरखा क्षेत्र नं २ मा उम्मेद्वार रहेका कविन्द्र बुर्लाकोटी ट्राभल व्यवसायमा आबद्व छन् । उनी सुमिरे ट्राभल एण्ड टुर्सका सन्चालक हुन् ।

उमेश श्रेष्ठ

Umesh Shrestha

हाल प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको राज्यमन्त्री रहेका उमेश श्रेष्ठ चितवन क्षेत्र नं २ मा गठबन्धनको तर्फबाट उम्मेदवार रहेका छन् । नेपाली कांग्रेसका नेता श्रेष्ठको पर्यटन व्यवसायमा समेत पर्याप्त लगानी छ । पर्यटनका क्षेत्रमा उनले चितवनमा सिराइचुली, सेन्ट्रल पार्क लगायत होटल, धुलिखेलमा हिमालयन दृश्य रिसोर्ट र तनहुँमा घाँसी हेल्थ रिसोर्ट एण्ड वेलनेस सेन्टर लगायतमा लगानी गरेका छन् ।

सुमन पाण्डे

यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट उम्मेदवार रहेका चुनावी मैदानमा रहेका अर्का पर्यटन व्यवसायी हुन् सुमन पाण्डे । उनले नुवाकोट क्षेत्र नं २ बाट प्रतिनिधि सभा तर्फको उम्मेदवार रहेका छन् । झण्डै तीन दशकदेखि पर्यटन व्यवसायको अनुभव र विभिन्न संघसंस्थाको नेतृत्व गर्दै उनी चुनावी मैदानमा होमिएका हुन् ।

हाल फिस्टेल एअरको सञ्चालक रहेका पाण्डेसँग २ पटकसम्म नेपाल पर्यटन वोर्डको कार्यसमिति सदस्य, टानको पूर्व अध्यक्ष भईसकेका पाण्डे हाल प्यासिफिक एशिया ट्राभल्स एशोसिएशन अन्तर्राष्ट्रियको सचिब पनि हुन् ।पाण्डेको एक्सपोलर हिमालयले पोखराको आकाशमा स्काई डाइभ गराउँदै आएको छ ।

योगेश गौचन थकाली

yogesh gauchan thakali

कांग्रेसको राजनीतिसँगै पर्यटन व्यवसायीको समेत छवि बनाएका योगेश गौचन थकाली मुस्ताङमा नेपाली कांग्रेसको तर्फबाट प्रतिनिधि सभा उम्मेदवार बनेका छन् । रोमी गौचन थकालीले आफू चुनाव लड्दै आएको क्षेत्रमा युवालाई प्रोत्साहन गर्नुपर्ने भन्दै आफ्नै छोरा २८ बर्षीय गौचनलाई उम्मेदवार बनाएका हुन् ।

गौचन उनी परम्परागत होटल व्यावसायदेखि पर्यटन व्यवसायमा जोडिएका थिए । पर्यटकीय नगरी पोखरामा त्रिथुङ्गा टुर्स एण्ड टाभल्स प्राइभेट लिमिटेड कम्पनी सञ्चालन गरिरहेका योगेश हजुरबुवाको पालादेखि जोमसोममा सञ्चालनमा रहेको कालापानी गेष्ट हाउसको म्यानेजिङ डाइरेक्टर हुन् ।

मनबहादुर गुरुङ

man bahadur gurung

कास्की क्षेत्र नं १ मा नेकपा एमालेको तर्फबाट उम्मेदवार रहेका मनबहादुर गुरुङ पनि पर्यटन व्यवसायी हुन् । कृषि व्यवसाय समेत सञ्चालन गर्दै आएका गुरुङको पोखरामा सिक्लेस भ्यू होटल रहेको छ ।

हरिकृष्ण श्रेष्ठ

उद्योग वाणिज्य संघको पूर्व केन्द्रीय सदस्य रहेका हरिकृष्ण श्रेष्ठ एमालेबाटै म्याग्दी जिल्लाबाट प्रतिनिधि सभा सदस्य उम्मेदवार रहेका छन् । उनको म्याग्दीमै होटल डल्फिन र ट्राभल्स समेत सञ्चालन गरेका छन् ।

दीपक खड्का (संखुवासभा)

नेपाली कांग्रेसको तर्फबाट संखुवासभामा प्रतिनिधि सभा सदस्यका उम्मेदवार रहेका दीपक खड्का पनि पर्यटन व्यवसायी हुन् ।ट्राभल्समा लगानी गरेका पर्यटन व्यवसायी खड्काले वुढानिलकण्ठमा पाँच तारे होटल र झापामा इस्टन नेपाल होटल खोल्ने तयारीमा छन् ।

डा. टकराज गुरुङ र भेष बहादुुर पौडेल

bhes bahadur paudel

गठबन्धनकै तर्फबाट लमजुङ प्रदेश सभा (क) र (ख) मा उम्मेदवार बनेको कांग्रेसका डा. टकराज गुरुङ (क) र भेष बहादुुर पौडेल (ख) दुबै पर्यटन व्यवसायी हुन् । नेपाली कांग्रेस लमजुङका पूर्व सभापति समेत रहेका पौडेल उद्योग वाणिज्य संघ लमजुङ शाखाका पूर्व अध्यक्ष हुन् । लमजुङको वेशीशहरमा रहेको गेटवे हिमालय रिसोर्टका लगानीकर्ता समेत हुन् । यो सँगै गोरखाले प्रतिनिधि सभा र प्रदेश सभामा गरी ४ उम्मेदवार पर्यटन व्यवसायी पाएको छ ।

टेकबहादुर गुरुङ

हाल राजनीतिमा सक्रिय रहेका मनाङका टेकबहादुर गुरुङ पनि पूर्व पर्यटन व्यवसायी हुन् । उनी अहिले नेपाली कांग्रेसको राजनीतिमा सक्रिय भएपछि उनको पर्यटन सम्बद्व व्यापार व्यवसाय उनको परिवारका सदस्यहरुले सम्हाल्दै आएका छन् । उनी नेपाली कांग्रेसको तर्फबाट मनाङमा प्रतिनिधि सभा सदस्यको उम्मेदवार हुन् ।

काठमाडौ क्षेत्र नं ७ राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट प्रतिनिधि सभा उम्मेदवार रहेका गणेश पराजुलीले पर्यटकीय नगरी ठमेलमा होटल व्यवसाय गर्दै आएका छन् ।

पर्यटन व्यवसायीहरु आफ्ना विभिन्न मुद्दा, व्यापार, व्यवसायका समस्याहरुबारे संसदमा आवाज उठाउने उद्देश्यका साथ चुनावी मैदानमा आएको बताउँछन् । देशैभरबाट पर्यटन व्यवसायीहरु चुनावी मैदानमा होमिदैं गर्दा पर्यटन व्यवसायमा राज गरेका व्यवसायीले राजनीतिमा भने जनताको विश्वास जित्न कति सहज होला त्यसका लागि मंसिर ४ पर्खनुको विकल्प छैन् ।

१७ कार्तिक २०७९