नेपाल र भियतनामका उपराष्ट्रपतिबीच धार्मिक सांस्कृतिक पर्यटन प्रवर्द्धनबारे छलफल


टुरिजम पाना संवाददाता काठमाडौं । ८ भाद्र २०८२

उपराष्ट्रपति रामसहायप्रसाद यादव र नेपालको तीन दिने औपचारिक भ्रमणमा आएकी भियतनामका उपराष्ट्रपति भो थि आन सुआनबीच प्रतिमण्डलस्तरीय भेटवार्ता भएको छ ।

आज यहाँ भएको भेटमा उनीहरुबीच दुवै मुलुकमा धार्मिक समानता रहेको र धार्मिक र सांस्कृतिक पर्यटनका प्रचुर सम्भावनाबारेमा छलफल भएको थियो । उनीहरुबीच मित्रवत्, न्यानो र सौहार्द रूपमा सम्पन्न भेटवार्ता भएको जानकारी गराउँदै परराष्ट्र मन्त्रालयका सहसचिव प्रकाश अधिकारी द्विपक्षीय, क्षेत्रीय र अन्तर्राष्ट्रिय विषयका बारेमा विचार आदानप्रदान भएको बताए।

दुवै मुलुकबीचको सम्बन्ध मित्रता, सद्भावना र सार्वभौमिकताको सम्मानमा आधारित रहेको र अन्तर्राष्ट्रिय मञ्चमा साझा धारणाका साथ अघि बढ्ने सम्बन्धमा उनीहरुबीच कुराकानी भएको थियो । दुवै उपराष्ट्रपतिबीच मन्त्रालयगत र विभिन्न तहमा भ्रमण आदानप्रदान गर्ने सहमति भएकोसमेत भएको छ । सो अवसरमा दुवै मुलुकबीच हवाई सम्बन्ध विस्तारका लागि आपसी छलफल गर्ने विषयमा कुराकानी भएको सहसचिव अधिकारीले बताए।

८ भाद्र २०८२