७६ औँ अन्नपूर्ण हिमाल आरोहण दिवसको अवसरमा लमजुङ जिल्लाको दोर्दी गाउँपालिकामा पर्यटन प्रवर्द्धन तथा अन्तरक्रिया कार्यक्रम आयोजना हुने भएको छ ।
उद्योग तथा पर्यटन मन्त्रालय, गण्डकी प्रदेश सरकार, नेपाल पर्यटन बोर्ड, दोर्दी गाउँपालिका तथा अन्नपूर्ण संरक्षण आयोजना (एसीएपी) को सहकार्यमा ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) गण्डकीले कार्यक्रम आयोजना गर्न लागेको हो । कार्यक्रम जेठ २० र २१ गते सञ्चालन हुने दोर्दी गाउँपालिकाका अध्यक्ष युवराज अधिकारीले जानकारी दिए ।
टान गण्डकीका अध्यक्ष कृष्णप्रसाद आचार्यका अनुसार कार्यक्रममार्फत दोर्दी गाउँपालिकाभित्र रहेका पर्यटकीय गन्तव्यहरूको प्रवर्द्धन, स्थानीय व्यवसायी तथा सरोकारवाला निकायसँग अन्तरक्रिया तथा जलवायु परिवर्तनसम्बन्धी विषयमा छलफल गरिनेछ ।
कार्यक्रमको पहिलो दिन सहभागीहरू पोखराबाट भोटेओडार हुँदै करिब तीन घण्टाको सवारी यात्रापछि मञ्जाङ ढोकेडाँडास्थित लक्ष्मी माध्यमिक विद्यालय पुग्नेछन् । त्यहाँबाट करिब ४० मिनेट पैदल यात्रा गर्दै लामा गाउँ पुग्ने कार्यक्रम तय गरिएको छ । बाटोमा दासडाँडा पुगेपछि सहभागीलाई पञ्चेबाजासहित स्वागत गरिने तालिका छ ।
त्यही दिन ७६ औँ अन्नपूर्ण आरोहण दिवस विशेष कार्यक्रम, पदमार्ग तथा पर्यटकीय गन्तव्य प्रवर्द्धनसम्बन्धी औपचारिक सत्र, आरोही सम्मान कार्यक्रम तथा स्थानीय व्यवसायी र सरोकारवालासँग अन्तरक्रिया आयोजना गरिनेछ । कार्यक्रममा जलवायु परिवर्तन र विश्वव्यापी तापक्रम वृद्धिले पर्वतीय पर्यटन तथा स्थानीय वातावरणमा पारेको प्रभावबारे पनि छलफल हुनेछ ।
साथै, सहभागीहरूले लामा गाउँमा स्थानीय गुरुङ समुदायको सांस्कृतिक कार्यक्रम अवलोकन गर्नेछन् । गुरुङ होमस्टेमा सहभागीहरूको खाना तथा आवासको व्यवस्था गरिएको छ ।
दोस्रो दिन बिहान नेपाली झण्डा पार्क, चियाबारी र मौलाकोट क्षेत्रको अवलोकन तथा गुम्बा दर्शनको कार्यक्रम रहेको आयोजकले जनाएको छ ।
आयोजकका अनुसार यस कार्यक्रमले दोर्दी गाउँपालिकाका पर्यटकीय सम्भावनालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्न महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ ।








