पर्यटन यातायात क्षेत्रमा महिलाको सहभागिता बढाउने तथा उनीहरूलाई सीपयुक्त र रोजगारीमुखी बनाउने उद्देश्यले महिला लक्षित हलुका सवारी चालक प्रशिक्षण कार्यक्रम सञ्चालन गरिने भएको छ।
नेपाल पर्यटक यातायात व्यवसायी संघ (NTVA) ले दिगो पर्यटन परियोजना (STP) सँगको सहकार्यमा एक महिने प्रशिक्षण कार्यक्रम सञ्चालन गर्न लागेको जनाएको छ। कार्यक्रमअन्तर्गत ३० जना महिलालाई छनोट गरी सैद्धान्तिक तथा व्यवहारिक दुवै प्रकारका कक्षा सञ्चालन गरिनेछ।
संघका अनुसार तालिम पूरा गरेका सहभागीलाई पर्यटन यातायात क्षेत्रमा कार्यरत कम्पनीहरूसँग रोजगारीका अवसरका लागि जोड्ने प्रयास गरिनेछ। प्रशिक्षण सफलतापूर्वक सम्पन्न गर्ने सहभागीलाई प्रमाणपत्रसमेत प्रदान गरिने बताइएको छ।
तालिममा सहभागी हुन कम्तीमा एसईई वा सो सरह उत्तीर्ण भएको हुनुपर्नेछ। आवेदनका साथ शैक्षिक योग्यताको प्रमाणपत्र, नेपाली नागरिकता, प्यान कार्डको प्रतिलिपि तथा चार प्रति पासपोर्ट आकारका फोटो बुझाउनुपर्ने व्यवस्था गरिएको छ।
आवेदन दर्ताका लागि एक हजार रुपैयाँ शुल्क निर्धारण गरिएको छ। इच्छुक महिलाले २०८३ जेठ २९ गतेभित्र आवेदन दिन सक्नेछन्।
उम्मेदवार छनोटका लागि अन्तर्वार्ता जेठ २१ गते बिहान ११ बजे लाजिम्पाटस्थित NTVA सचिवालयमा सञ्चालन हुनेछ। छनोट भएका उम्मेदवारको नामावली असार १ गते सार्वजनिक गरिने र तालिम असार २ गतेदेखि सुरु हुने जनाइएको छ।
संघले अनुभवी प्रशिक्षकमार्फत तालिम सञ्चालन गरिने जानकारी दिँदै आवेदन शुल्कबाहेक अन्य कुनै अतिरिक्त शुल्क नलाग्ने स्पष्ट पारेको छ।
यसैबीच, हाल मध्यपूर्वी मुलुकहरूमा उत्पन्न अस्थिरता र द्वन्द्वका कारण स्वदेश फर्किएका नेपाली महिलालाई छनोट प्रक्रियामा प्राथमिकता प्रदान गरिने व्यवस्था गरिएको छ।
थप जानकारीका लागि इच्छुकले नेपाल पर्यटक यातायात व्यवसायी संघको कार्यालय वा फोन नम्बर ०१–४५९२५८७, ९८०१०१९२२५ मार्फत सम्पर्क गर्न सक्नेछन्।








