नाम्चेको आकाशमुनी ‘साइलेन्ट सेसन’…


टल्किएका हिमशृङ्खला। सगरमाथाको प्रवेशद्वार मानिने सुन्दर नाम्चे बजार। हिमालकै श्रृङ्खला मुनी रहेको (३,४४० ) हेलिप्याड । जहाँ प्रकृतिको शान्त वातावरण । अर्कोतिर संगीतको धुन ।

कुनै ठूलो लाउडस्पिकरको कोलाहल थिएन। अन्तर्राष्ट्रिय सगरमाथा दिवसको अवसरमा नाम्चेले नौलो सांगीतिक अनुभव महसुस गर्ने अवसर पायो ।

हाइल्याण्ड कलेक्टिभ र ३३ डिग्री स्काइ वेस्ट स्काइबारको संयुक्त आयोजनामा नाम्चेमा ‘साइलेन्ट सेसन हाइल्याण्ड एक्सिपरियन्स’ सम्पन्न भएको हो ।

विश्वकै प्रसिद्ध हिमाली क्षेत्रमा आयोजित यस कार्यक्रमले परम्परागत कन्सर्टको परिभाषालाई बदलिदिएको थियो। साइलेन्ट सेसन (शान्त सत्र) को अवधारणा अनुरूप सहभागीहरूले विशेष वायरलेस हेडफोन लगाएर संगीतको आनन्द लिएका थिए।
हेडफोनभित्र चर्चित डीजेहरू फिन्जेक, नोर्चेन, डिक्छु र तेन्जीलेको ऊर्जावान् र जादुमयी सांगीतिक धुन गुन्जिरहेको थियो । हेडफोनबाहिर हिमाली पर्यावरणको प्राकृतिक शितलता लिन पाइरहेका थिए ।

स्वच्छ हिमाली हावा, मनोरम दृश्य र संगीतको अद्भूत संयोजनले उपस्थित सबैलाई उत्साहित बनाइरहेको थियो । संगीतको तालमा दर्शकहरू घण्टौँसम्म झुमिरहेका देखिन्थे।

नौलो प्रस्तुतीमा सहभागी हुन करिब १५० जना संगीतप्रेमी पुगेका थिए । साहसिक अनुभवको खोजीमा रहेका उनीहरू नाम्चे पुगेका थिए।

आन्तरिक मात्र नभई बाह्य पर्यटकहरूको समेत सहभागिता थियो। हिमाल आरोहण र पदयात्राका लागि मात्र चिनिने नाम्चेमा मनोरञ्जनको हिस्सा बन्न पाउनु आफ्ना लागि जीवनभरकै अविस्मरणीय अनुभव भएको सहभागीहरूले बताए ।

हिमालको फेदमुनी यस्तो प्रयोगलाई सफल पार्न नाम्चेबजारका स्थानीयबासीको भूमिका पनि उत्तिकै महत्त्वपूर्ण थियो । कठिन र उचाइको क्षेत्रमा यस्तो कार्यक्रम व्यवस्थापन गर्नु चुनौतीपूर्ण थियो । स्थानीयबासीले मन खोलेर सहयोग गरेका थिए ।

सगरमाथाको काखमा आयोजित यस कार्यक्रमले नेपालको प्राकृतिक सौन्दर्य, साहसिक पर्यटन र आधुनिक मनोरञ्जनलाई विश्वसामु प्रस्तुत गर्ने अवसर प्रदान गरेको ३३ डिग्री स्काइ वेस्ट बारका अध्यक्ष रबिन श्रेष्ठले बताए ।

यस्ता कार्यक्रमले नेपाललाई अन्तर्राष्ट्रिय इभेन्ट तथा पर्यटनका लागि नयाँ गन्तव्यका रूपमा स्थापित गर्न मद्दत पुर्‍याउँने उनको भनाइ छ ।

मनोरञ्जनमा मात्र सीमित नभइ यसले नेपाली पर्यटन क्षेत्रमा एउटा नयाँ सम्भावनाको ढोका समेत खोलेको श्रेष्ठले बताए । उनका अनुसार अनुसार साहसिक पर्यटन, संगीत र मनोरञ्जनलाई एउटै मञ्चमा जोड्ने यो प्रयासले नेपालका हिमाली गन्तव्यहरूलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्न सकारात्मक योगदान पुर्‍याउनेछ।

नाम्चे बजार केवल हिमाल आरोहणको प्रवेशद्वार मात्र नभएर विश्वस्तरीय मनोरञ्जन र सांगीतिक इभेन्टहरूको लागि पनि गन्तव्य बनेको छ ।

नेपालका हिमाली क्षेत्रहरूलाई विश्वस्तरीय ‘इभेन्ट गन्तव्य’ का रूपमा स्थापित गर्ने लक्ष्यका साथ विभिन्न नयाँ अवधारणाहरूमा यस्ता कार्यक्रमहरू निरन्तर आयोजना गर्दै जाने प्रतिबद्धता आयोजक जनाएका छन् ।

१८ जेष्ठ २०८३