को हुन् चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत (वार्डेन) डिलबहादुर पुर्जा पुन ?

संघर्ष, समर्पण र अनुभवले बनाएको पहिचान


बिपिन घिमिरे काठमाडौं । १७ जेष्ठ २०८३

नेपालको उत्कृष्ट प्राकृतिक वैभवमध्ये एक हो, चितवन राष्ट्रिय निकुञ्ज । बिहानको कुहिरो चिर्दै गैँडाको पदचाप, पाटेबाघको आकर्षक चाल अनि नदी किनारमा देखिने घडियाललगायत विभिन्न चराचुरुंगीले यसलाई विशेष बनाएका छन् ।

विश्वसम्पदा सूचीमा सूचीकृत यस निकुञ्जले दशकौँदेखि दुर्लभ वन्यजन्तु, वनस्पति र पर्यावरणीय सन्तुलनको संरक्षण गर्दै आएको छ । यिनै चुनौती, अवसर र जिम्मेवारीबीच निकुञ्जको नेतृत्व सम्हालिरहेका छन्, वरिष्ठ संरक्षण अधिकृत (वार्डेन) डिलबहादुर पुर्जा पुन ।

विसं २०८३ वैशाख २८ गतेदेखि उनले औपचारिक रूपमा चितवन राष्ट्रिय निकुञ्जको प्रमुख संरक्षण अधिकृतको जिम्मेवारी सम्हालेका हुन् । पर्वतको जलजला गाउँपालिकामा २०३४ साल साउन १ गते जन्मिएका पुन बाल्यकालदेखि नै प्रकृतिसँग नजिक थिए । बुवा भीमलाल पुर्जा पुन र आमा जन्मती पुर्जा पुनका कान्छा छोरा उनी शहरको सुविधासम्पन्न वातावरणमा भन्दा बढी जंगल, गोठ, खोल्सा र गाउँको प्राकृतिक संसारमै हुर्किए । गाईवस्तु चराउँदै जंगलका बाटो चहार्ने क्रममा उनी प्रकृतिसँग मोहित भइसकेका थिए ।

सानैमा उनले ‘काले’ नामको कुकुर पालेका थिए । आज पनि बाल्यकाल सम्झँदा उनी त्यो कुकुरको प्रसंग भावुक हुँदै सुनाउँछन् । उनी भन्छन्, “म सानैदेखि वनजंगलमै हुर्किएको हो । त्यसैले प्रकृतिसँग मेरो विशेष सम्बन्ध छ, जनावरप्रति माया छ ।”

त्यतिबेला गाउँघरमा भारतीय सेना वा नेपाली सेनामा भर्ती हुनु प्रतिष्ठाको विषय मानिन्थ्यो । पुनका परिवारका धेरै सदस्य भारतीय सेनासँग आबद्ध थिए । परिवार र समाजको अपेक्षा पनि त्यही थियो । तर पुनको सपना फरक थियो । उनलाई बन्दुकभन्दा जंगल प्रिय लाग्थ्यो । सैनिक पोशाकभन्दा हरियो वन आकर्षक लाग्थ्यो ।

पढाइमा अब्बल उनलाई शिक्षक र आफन्तले वन तथा संरक्षण क्षेत्रमा भविष्य बनाउन सुझाव दिए । सोही बमोजिम उनी अध्ययनका लागि पोखरा पुगे । त्रिभुवन विश्वविद्यालयअन्तर्गत पृथ्वीनारायण क्याम्पसबाट एन्थ्रोपोलोजीमा स्नातकोत्तर गरेपछि उनले पोखरा विश्वविद्यालयबाट प्राकृतिक स्रोत व्यवस्थापनमा अर्को स्नातकोत्तर पूरा गरे । यस क्रममा उनले विश्वविद्यालयको उपाधिसँगै प्रकृतिलाई नजिकबाट थप बुझ्ने मौका पाए ।

विसं २०५४ सालमा जिल्ला वन कार्यालय अर्घाखाँचीबाट उनको सरकारी सेवा सुरु भयो । युवा रेन्जरका रूपमा उनले वन फँडानी, वन्यजन्तु चोरीशिकार, स्थानीय समुदायका समस्या र संरक्षणका चुनौतीलाई नजिकबाट बुझे । त्यो समय उनले केवल सरकारी कर्मचारीको भूमिका निभाएनन्, जंगलको भाषा बुझ्ने मानिसका रुपमा आफूलाई स्थापित गरे ।

उच्च शिक्षा पूरा गरेपछि २०६७ सालमा उनी वन अधिकृत बने । काठमाडौं र गोरखामा काम गर्दै प्रशासनिक अनुभव बटुलेपछि उनको नेतृत्व क्षमता राष्ट्रिय निकुञ्ज क्षेत्रमा अझ स्पष्ट देखिन थाल्यो ।

बाँके राष्ट्रिय निकुञ्जमा प्रमुख संरक्षण अधिकृतका रूपमा उनले संरक्षण र स्थानीय समुदायबीच सन्तुलन कायम गर्ने प्रयास गरे । शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जमा दुई कार्यकाल बिताउँदा शहरी दबाबबीच संरक्षणको जटिलता अनुभव गरे । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा उनले घाँसे मैदान र दुर्लभ वन्यजन्तु संरक्षणमा महत्वपूर्ण भूमिका खेले । राष्ट्रपति चुरे तराई–मधेस संरक्षण विकास समितिमा रहँदा उनले भूक्षय, चुरे विनाश र जलस्रोत संकटका विषयमा पनि काम गरे ।
यसरी हेर्दा उनको अनुभव केवल एउटा जंगल वा निकुञ्जमा सीमित छैन । नेपालको पहाड, तराई, चुरे र संरक्षित क्षेत्रको लगभग सम्पूर्ण पारिस्थितिक भूगोलसँग उनी प्रत्यक्ष परिचित छन् । उनले २०६५ सालमा नेपाल सरकारबाट निजामती सेवा पुरस्कार र २०८१ सालमा ज्यानु बसन्त मिश्र फाउन्डेशनबाट वातावरण सरक्षण पुरस्कार पनि प्राप्त गरेका छन् ।

चितवनसँगको पुरानो सम्बन्ध
चितवन राष्ट्रिय निकुञ्जसँग उनको सम्बन्ध नयाँ होइन । यसअघि पनि उनले झण्डै २० महिना चितवन राष्ट्रिय निकुञ्जको प्रमुख संरक्षण अधिकृतका रूपमा काम गरिसकेका छन् ।

चितवन संरक्षणका हिसाबले नेपालको सबैभन्दा संवेदनशील क्षेत्रमध्ये एक हो । यहाँको जैविक विविधता, दुर्लभ वन्यजन्तु र अन्तर्राष्ट्रिय महत्वका कारण यसको नेतृत्व सम्हाल्नु सामान्य प्रशासनिक जिम्मेवारी होइन । यो विश्वकै दुर्लभ प्राकृतिक सम्पदा जोगाउने दायित्व हो ।

तीन दशकभन्दा लामो संरक्षण यात्रापछि अहिले उनी यही निकुञ्जको नेतृत्वमा पुगेका छन् । संरक्षण क्षेत्रमा लामो अनुभव बोकेका कारण धेरैले उनीबाट सन्तुलित, व्यावहारिक र दीर्घदृष्टियुक्त नेतृत्वको अपेक्षा गरेका छन् ।
पुन प्रकृतिलाई ‘आमा’ समान ठान्छन् । उनको सोच केवल जंगल जोगाउनेमा सीमित छैन । उनी विकास र संरक्षणलाई सँगसँगै लैजानुपर्छ भन्ने मान्यता राख्छन् ।

आज नेपाल तीव्र पूर्वाधार विकासको चरणमा छ । सडक, रेल, विद्युत्, पर्यटन र विभिन्न विकास योजनाले देशको आर्थिक भविष्य बदल्ने अपेक्षा गरिएको छ । तर यिनै विकास योजनाले वन्यजन्तुको बासस्थान, जैविक मार्ग र पर्यावरणीय सन्तुलनमा असर पार्ने खतरा पनि बढिरहेको छ । उनी यसमा चिन्ता र चासो व्यक्त गर्छन् । यही सन्तुलन कायम गर्नु अहिले संरक्षण क्षेत्रको सबैभन्दा ठूलो चुनौती हो भन्ने उनी मान्छन् ।

उनको दृष्टिमा संरक्षण केवल कानून लागू गर्ने प्रक्रिया होइन । स्थानीय समुदायको विश्वास जित्ने, जिम्मेवार पर्यटन प्रवद्र्धन गर्ने र भावी पुस्ताका लागि जैविक सम्पदा सुरक्षित राख्ने दीर्घकालीन अभियान हो ।

जंगलले बनाएको व्यक्तित्व
संरक्षण वृत्तमा उनी कम बोल्ने तर काम धेरै गर्ने व्यक्तिका रूपमा चिनिन्छन् । सरल जीवनशैली, शान्त स्वभाव र जिम्मेवारीप्रतिको गम्भीरताले उनलाई फरक बनाएको छ ।

सायद जंगलले नै उनलाई यस्तो बनाएको हो । “जंगलले मानिसलाई धैर्य सिकाउँछ । प्रकृतिले विनम्रता सिकाउँछ । र संरक्षणले जिम्मेवारीको वास्तविक अर्थ बुझाउँछ”, उनले भने ।

आज जब उनी चितवन राष्ट्रिय निकुञ्जको नेतृत्वमा पुगेका छन्, यो एउटा पद मात्रै होइन । यो त एउटा गोठालो बालकले बाल्यकालमा देखेको हरियो संसार जोगाउने यात्राको नयाँ अध्याय पनि हो । उनको काँधमा अहिले केवल निकुञ्जको सुरक्षा छैन, नेपालको प्राकृतिक भविष्य सुरक्षित राख्ने जिम्मेवारी पनि थपिएको छ ।

१७ जेष्ठ २०८३