सुनसरीको रामधुनी नगरपालिका–६ स्थित शङ्करबेली सिमसार यतिबेला ढकमक्क फुलेका विभिन्न प्रजातिका फूलले भरिभराउ देखिन्छ। सेता तथा हल्का पिङ (गुलाबी) रङका फूलले सिमसार क्षेत्रलाई मनमोहक र आकर्षक बनाएसँग आन्तरिक पर्यटकको आगमन बढेको हो।
फूल फुलेसँगै शङ्करबेली सिमसार अवलोकन तथा फोटो, भिडियो खिच्न दैनिक सयौँको सङ्ख्यामा आन्तरिक पर्यटक यहाँ पुग्ने गरेका छन्।
बिहानदेखि साँझसम्म पर्यटकको घुइँचो लाग्ने गरेको शङ्करबेली सिमसार उपभोक्ता समितिका सदस्य निश्चल तामाङले बताए।
साथीहरूसँग शङकरबेली सिमसार घुम्न पुग्नुभएकी मोरङ बेलबारीका सरिता श्रेष्ठले पछिल्लो समय टिकटक र फेसबुक जस्ता सामाजिक सञ्जालमा यो स्थानको चर्चा भएको देखेपछि यहाँ आएको बताए। ‘चारैतिर ढकमक्क फुलेका विभिन्न रङका फूलबीच फोटो खिच्न र भिडियो बनाउन पाउँदा रमाइलो लाग्यो’, उनले भने, ‘पोखरी वरिपरि फूलैफूलले ढाकिएको दृश्यले मनै प्रफुल्लित बनायो। सामाजिक सञ्जालमा देखे जस्तै सुन्दर र आकर्षित रहेछ। चारैतिर फुलेका फूल र हरियालीले भरिएको वातावरण यहाँ देखिन्छ।’
‘शिरिष, पिङ्क सावरट्री’ अर्थात गुलाबी वर्षा रुख भनेर चिनिने फूल फुलेपछि यतिबेला शङ्करबेली सिमसार फोटो तथा भिडियो खिच्नेहरूको आकर्षक गन्तव्य बनेको छ।
वैशाख अन्त्यदेखि फूल फुल्न सुरु भएपछि शङ्करबेली सिमसार आन्तरिक पर्यटकको आकर्षक गन्तव्यका रूपमा विकास हुँदै गएको छ।
करिब १३ वर्षअघि स्थापना गरिएको उक्त सिमसार क्षेत्र उपभोक्ता समितिको सक्रियता, संरक्षण, सरसफाइ तथा प्रदेश र स्थानीय सरकारको सहयोगमा व्यवस्थित गर्दै पर्यटकीयस्थलका रूपमा प्रवर्द्धन गरिँदै आएको समितिका सदस्य तामाङले बताए।
जङ्गलभित्र रहेको सिमसारलाई सरसफाइ र व्यवस्थापन गरी पर्यटकमैत्री बनाइएको उनको भनाइ छ। विभिन्न प्रजातिका फूल फुलेपछि अहिले दैनिक दुई हजारदेखि तीन हजारसम्म पर्यटक आउने गरेका छन् भने शनिबार तथा सार्वजनिक बिदाका दिन पाँच हजारदेखि सात हजारसम्म पर्यटक घुम्न र फूल अवलोकन गर्न आउने गरेका उहाँले जानकारी दिए।
शङ्करबेली सिमसार क्षेत्र वनभोजका लागि उपयुक्त स्थलका रूपमा परिचित छ। वनभोज खाने याममा यहाँ दैनिक १० हजारभन्दा बढी तथा बेमौसममा दैनिक १५० भन्दा बढी पर्यटक आउने गरेका सिमसार व्यवस्थापन समितिका पूर्वअध्यक्ष रत्न राईले बताए।
‘वनभोजको याममा अत्यधिक भीड हुने भएकाले कहिलेकाही व्यवस्थापन गर्न गाह्रो हुन्थ्यो’, उनले भने, ‘अहिले मौसमी फूल फुलेपछि यहाँ आउने पर्यटकको भीड अझ बढेको छ।’
कात्तिकदेखि पुससम्म र वैशाख १५ देखि जेठ २० गतेसम्मको अवधि मुख्य वनभोजको यामका रूपमा रहने गरेको उहाँले बताए। वैशाख अन्त्यदेखि यहाँ शिरिषलगायत विभिन्न प्रजातिका फूल फुल्ने भएकाले त्यस समयमा पर्यटकको चाप बढ्ने गरेको उनको भनाइ छ।
शङ्करबेली वन उपभोक्ता समितिले संरक्षण गर्दै आएको उक्त सिमसार प्राकृतिक मनोरञ्जन र वनभोजका लागि उपयुक्त मानिन्छ। सिमसार वरपर रहेका शिरिष, पिङ्क सावरट्री तथा गुलाबी क्यासिया प्रजातिका फूल वैशाखदेखि फुल्दा यस क्षेत्रको सौन्दर्य अझ बढेको र सोही समयमा पर्यटकको चापसमेत वृद्धि हुने समितिले जनाएको छ।
एकैपटक करिब ११० टोलीले वनभोज खान सक्ने क्षमता रहेकाले पनि यहाँ आन्तरिक पर्यटकको आकर्षण बढेको समितिका सदस्य तामाङले बताए। उनका अनुसार प्रतिटोलीबाट रु ३०० देखि रु एक हजारसम्म शुल्क लिने गरिएको छ भने घुम्न आउने पर्यटकका लागि रु २० टिकट शुल्क तोकिएको छ। उक्त रकमबाट सिमसारको संरक्षण, सरसफाइ तथा व्यवस्थापन गरिँदै आएको समितिले जनाएको छ।
करिब साढे चार बिघा क्षेत्रफलमा फैलिएको सिमसारमा कोशी प्रदेश सरकारबाट गत आर्थिक वर्ष २०८०/८१ मा विनियोजित रु दुई करोड बजेटबाट विभिन्न पूर्वाधार निर्माण गरिएको समितिका सदस्य तामाङले जानकारी दिए।
उक्त बजेटबाट पर्यटकका लागि साना कटेज, बालबालिकाका लागि खेलमैदान (चिल्ड्रेन पार्क), पुल, करिब ३०० मिटर ग्राभेल सडक तथा आकर्षक प्रवेशद्वार निर्माण गरिएको उनले बताए।
सिमसारभित्र रहेको आकर्षक पोखरीमा पर्यटकले बोटिङको सुविधासमेत पाउने छन्। सोही पोखरीको बीच भागमा रामधुनी नगरपालिकाको सहयोगमा करिब रु एक लाख ५० हजार लागतमा निर्माण गरिएको ‘ह्वाइट हाउस’ संरचनाले सिमसारको आकर्षण थप बढाएको उनको भनाइ छ।
यहाँ दैनिक रूपमा धरान, इटहरी, विराटनगर, झापा, उदयपुरलगायत भारतबाट पर्यटक घुम्न आउने गरेका छन्। रामधुनी नगरपालिकाको सहयोगमा आर्थिक वर्ष २०७३र७४ मा ज्येष्ठ नागरिक कार्यक्रमअन्तर्गत उपलब्ध बजेटबाट सिमसारभित्र खरले छाएका टहरा निर्माण गरिएको थियो। ती संरचनाले सिमसार क्षेत्रको सौन्दर्य थप वृद्धि गरेको समितिको भनाइ छ।








