पर्यटन प्रवर्द्धनको उद्देश्यका साथ तनहुँ उद्योग वाणिज्य सङ्घको आयोजनामा पर्यटकीय नगर बन्दीपुरमा आजदेखि बन्दीपुर महोत्सव हुँदैछ । ‘उद्योग, व्यापार, पर्यटन र कृषिको प्रवर्द्धन:स्थानीय कला र संस्कृतिको संरक्षण’ नाराका साथ बन्दीपुर गाउँपालिका–४ टुँडिखेलमा यही मङ्सिर २१ गतेसम्म महोत्सव सञ्चालन हुनेछ ।
महोत्सव दुई लाख पर्यटकले अवलोकन गर्ने र त्यहाँ रु पाँच करोडबराबरको कारोबार हुने अनुमान गरिएको उद्योग वाणिज्य सङ्घ डुम्रे एकाइ सभापति घनश्याम उपाध्यायले बताए।
महोत्सवमा आउने पर्यटकलाई खड्गदेवी मन्दिर, पहाडपानी महादेव, विन्ध्यवासिनी, थानीमाई, महालक्ष्मी, चामुण्डामाई, भुत्याहा बराहा, सन्तानेश्वर महादेव, मणिमुकुन्द सेन दरबार, टुँडिखेल, रानीवनको भ्रमण गराइने उनले जानकारी दिए ।
त्यसैगरी, महोत्सवमा सहासिक पर्यटन खेल, चट्टान आरोहण, प्याराग्लाइडिङ, सेती जलयात्रा र साइक्लिङिको व्यवस्था गरिएको छ । महोत्सवमा घरेलु तथा हस्तकला, कृषि उपज, सेवामूलक संस्था, होटल रेष्टुराँ, सूचना केन्द्र र सवारीसाधनका प्रदर्शनी एवं बिक्रीकक्ष रहने छन् ।








