टर्की र भियतनाममा नेपालको पर्यटन प्रवर्द्धन


टुरिजम पाना काठमाडौं । ४ बैशाख २०८०

टर्की र भियतनाममा नेपालको पर्यटकीय गन्तव्यको प्रवर्द्धन गरिएको छ । टर्कीको राजधानी इस्तानबुल र भियतनामको राजधानी हनोईमा अन्तर्राष्ट्रिय पर्यटन यात्रा तथा मार्ट गरी पर्यटन प्रवर्द्धन गरिएको हो ।

स्तनबुलमा २६औँ पूर्वी भूमध्य सागरीय अन्तर्राष्ट्रिय पर्यटन तथा यात्रा प्रदर्शनी एएमआइटीटी सम्पन्न भएको छ । चैत २९ देखि वैशाख २ गतेसम्म चलेको कार्यक्रममा नेपाल पर्यटन बोर्ड र नेपाली पर्यटन कम्पनीले सहभागिता जनाएका थिए ।

भियतनामको राजधानी हनोईमा अन्तर्राष्ट्रिय ट्राभल मार्ट (भिआइटीएम) सम्पन्न भएको छ । अप्रिल १३ देखि १६ सम्म आयोजना गरिएको मार्टमा नेपाल पर्यटन बोर्ड र निजी क्षेत्रका व्यवसायीको सहभागिता रहेको थियो । आइसीए समूहको सहयोग र समर्थनमा, टर्कीको संस्कृति र पर्यटन मन्त्रालय, टर्किस एयरलाइन्स र इस्तानबुल महानगरपालिकाको संयोजनमा आयोजित कार्यक्रमले टर्की र विश्वव्यापी यात्रा क्षेत्रलाई नयाँ व्यापार र सहयोगको अवसर प्रदान गर्ने व्यापार मञ्च खोलेको सहभागीले प्रतिक्रिया दिएका छन् ।

कार्यक्रममा दुई सय ३० भन्दा बढी होस्ट गरिएका पर्यटन खरिदकर्ता, ३३ देशका प्याभिलियन, छुट्टी गन्तव्य, गर्मी र शीतकालीन पर्यटन, बाहिरी पर्यटक गन्तव्य, होटल र पर्यटन केन्द्र तथा टुर अपरेटर, ट्राभल एजेन्सीको प्रदर्शन गरिएको थियो ।

सहभागी नेपाली पर्यटन कम्पनीले आफ्ना ट्राभल प्याकेज सम्भावित टर्की यात्रुका बीचमा बजारीकरण गर्ने र टर्कीका टुर अपरेटरसँग वार्ता र व्यापार सम्झौता गर्ने अवसर पाएको कार्यक्रममा सहभागी पर्यटन बोर्डका प्रबन्धक गोविन्द ओवीले जानकारी दिए ।

टर्कीमा ठूलो अर्थतन्त्र भएको र टर्किस एयरलाइन्सद्वारा इस्तानबुलदेखि काठमाडौँसम्मको सिधा उडान सञ्जाल भएकाले टर्कीमा नेपाली पर्यटन उद्योगका लागि ठूलो आउटबाउन्ड पर्यटन सम्भावना रहेकोले मेला फदायी भएको उनले बताए ।

भियतनाम सोसाइटी अफ ट्राभल एजेन्ट्स (भिटा), राष्ट्रियस्तरको पर्यटन सङ्गठनले आयोजना गरेको मार्टमा नेपाल स्टलमा आएका ट्रेड प्लस सार्वजनिक खरिदकर्ताले नेपालको विभिन्न पर्यटकीय गन्तव्य, अध्यागमन नीति र एयरलाइन कनेक्टिभिटीका बारेमा जिज्ञासा राखेका थिए । धेरैजसो भियतनामीका लागि नेपाल एकदमै नयाँ गन्तव्य भएकाले मेलाको माध्यमबाट नेपालका पर्यटकीय गन्तव्यको बारेमा जानकारी प्रवाह गरी नेपालको प्रवर्द्धनमा मद्दत पुगेको मेलामा सहभागी बोर्डका प्रबन्धक रोहिणी खनालले जानकारी दिए ।

मेलामा सहभागी सरोकोरवालाले नेपाल र भियतनामबीचको हवाई सम्पर्कमा सुधार गर्नुपर्नेमा जोड दिएका थिए ।

४ बैशाख २०८०