परम्परागत नेवारी आर्किटेक्ट जोगाइराखेका घरहरू, स्थानीय स्लेट ढुङ्गाले चिटेको बाटो, नेवार, मगर, गुरुङ अनि विभिन्न जातजातीको जिउँदो जातीय संग्रहालय, रक क्लाइम्बिङ, प्याराग्लाइडिङ, र्याफ्टिङ लगायत एड्भेञ्चरको मज्जा, मनै लोभ्याउने सूर्योदय र सूर्यास्त अनि फराकिला हिमशृङ्खलाको अवलोकन ।
यी अद्भुत अनुभव संगाल्न पुग्नै पर्ने ठाउँ हो तनहुँको बन्दिपुर ।
‘पहाडकी रानी’ उपनामले परिचित बन्दिपुर तनहुँ जिल्लाको पूरानो सदरमुकाम पनि हो । मगर भाषामा ‘बन’को अर्थ जंगल र ‘डी’को अर्थ पानी हो । जंगलबाट आएको पानी भन्ने अर्थ लाग्ने गरि बन्डिपुर हुँदै पछि बन्दिपुर नामाकरण भएको स्थानीयहरू बताउँछन् ।
नेवारी शैलीका परम्परागत घरहरू भएको बन्दिपुर बजार करिब चार सय वर्ष पहिले भक्तपुर र कीर्तिपुरबाट आएका नेवारहरूले बसालेको बस्ती हो । भक्तपुरे शैलीका चिटिक्क परेका घरहरू बन्दीपुरको मुख्य आकर्षण हो । ती घरहरू बन्दीपुरका ऐतिहासिक सम्पदा हुन् । जसले बन्दीपुरको इतिहास, संस्कृति र परिचय बोकेका छन् ।
१८ औं र १९ औं शताब्दीमा बन्दिपुर भारत र तिब्बत बीचको मार्गमा एक महत्वपूर्ण व्यापारिक केन्द्र थियो । ब्यापारीहरू कोलकता जाने, काठमाडौं र तिब्बतसँग ब्यापार गर्नका लागि बन्दिपुरको बाटो प्रयोग गर्दथे । यस्तै मोटर यातायातको सुविधा नहुँदा पश्चिम पहाडका तनहुँ, कास्की, लम्जुङ्ग, गोर्खा र मनाङ्गको लागि चितवनतर्फबाट सामान ल्याउने मुख्य व्यापारिक नाका थियो बन्दिपुर ।
‘डेड सिटी’ देखि ‘टुरिजम सिटी’
वि.सं. २०२५ मा बन्दिपुरबाट तनहुँको सदरमुकार दमौली सारियो । सदरमुकाम सरेपछि बन्दिपुर सुनसान बन्यो । २०५० सम्म आइपुग्दा सुन्दर बन्दिपुर बजार खण्डहरमा परिणत भएको थियो । त्यतिखेर बन्दीपुर ‘डेड सिटी’ अर्थात् ‘मृत शहर’ भनेर समेत चिनिएको थियो । कतिपयले बन्दीपुरलाई ‘भूत गाउँ’ भनेर समेत सम्बोधन गर्न थालेका थिए ।
तर, पछि फेरि बन्दिपुरबाट काठमाडौं र भक्तपुर फर्केका नेवार समुदायले बन्दिपुरको विकासका लागि पुनः पहल गरे । २०६३ पछि बन्दिपुरलाई पुनः पर्यटकीय गन्तव्यको रुपमा चिनाउने काम भयो । यसपछि क्रमशः बन्दिपुरलाई पर्यटकीय नगरीको रुपमा परिचित बनाउँदै लगियो ।
सन् २००५ मा ‘बन्दीपुर इको कल्चरल टुरिजम प्रोजेक्ट’ अन्तर्गत बन्दीपुरको ‘रिनोभेसन’ शुरू गरिएको थियो । त्यसपश्चात पर्यटकलाई आकर्षित गर्ने उद्देश्यले जीर्ण बनेका घरहरूलाई पूरानै शैलीमा सुन्दर डिजाइन र आकार दिएर सिँगारियो ।
बजार बीचको बाटो र आसपासका गोरेटाहरूमा बन्दिपुरकै स्लेट ढुङ्गा छापिए । उकालो, ओरालो बाटाहरूमा खुड्किला बनाएर हिँड्न सहज भयो । यसरी मेहनत गरेपछि बन्दिपुर बेहुलीझैं चिटिक्क सिँगारियो ।
बजार बीचमा सवारीसाधन प्रवेशमा रोक लगाइयो । जसले गर्दा बन्दिपुर बजार शान्त गन्तव्य बनेको छ । सवारीसाधन रहित बन्दिपुर बजारको बीच सडकमा हरेक होटल, रेष्टुरेन्ट अगाडि टेबल, कुर्सी राखिएका छन्, जहाँ बसेर बजार क्षेत्रको दृश्यावलोकन गर्दै खानपिन गर्न सकिन्छ ।
सांकृतिक सम्पदा र प्राकृतिक मनोरमताको प्रचारप्रसारसंगै बन्दिपुर ‘डेड सिटी’ बाट ‘टुरिजम सिटी’को रुपमा अहिले विश्वभर नै प्रसिद्ध छ ।
जीवन्त साँस्कृतिक संग्रहालय
बन्दिपुरमा नेवार समुदायमात्र नभएर मगर, गुरुङ, ब्राह्मण लगायतका जातजातीको बसोबास रहेको छ । यी सबै जातजातीको जीवन्त साँस्कृतिक संग्रहालय पनि हो, बन्दिपुर । बन्दिपुरमा लाखे नाँच, डोको नाँच लगायत विभिन्न जात्राहरू, चुड्का, कौरा, सोरठी, मरुनि र झ्याउरे भाकाहरूमा रमाउन पाइन्छ।
होटल
पर्यटक स्ट्याण्डर्डका होटलदेखि सुविधासम्पन्न एक सय बढी होटलहरू बन्दिपुरमा रहेका छन् । बन्दिपुर टुँडिखेल छेउको ‘बन्दिपुर माउन्टेन रिसोर्ट’ यहाँको होटल लगानीको कोसेढुङ्गा हो । पछिल्लो समय बनेका होटलहरूले परम्परागत नेवारी आर्किटेक्टलाई प्राथमिकता दिएका छन् । जसले बन्दिपुरको मौलिक शोभामात्रै बढाएको छैन, पर्यटकहरूलाई पनि लोभ्याएको छ ।
सामुदायिक होमस्टे
६० को दशकको बीचतिर बन्दिपुरमा सामुदायिक होमस्टेहरूको प्रचलन आयो । बन्दिपुर सामुदायिक होमस्टे (साबिकको चन्डेनी पिपलथोक होमस्टे) को लोकप्रियता सँगै बजार क्षेत्र र आसपासका गाउँहरूमा होमस्टे स्थापनाको लहरै चल्यो । कोरिखा र धरमपानीको होमस्टेमा गुरुङ संस्कृतिमा रमाउन पाइन्छ भने मगर संस्कृति बुझ्न रामकोट जान सकिन्छ । विमलनगर, तीनधारा, नारायण टोल, मोहोरिया, टुँडिखेलमा पनि होमस्टे खुलेका छन् ।
विशेष तिथीहरू
दशैंको फूलपातीका दिन खड्गदेवीको शोभा यात्रा, नव वर्षको दिन बिस्केट जात्रासँगै पुतलीको बिहे, साउन महिनामा सिद्धगुफामा बोलबमको मेला, रामनवमीमा पातलेद्वार गुफामा मेला, त्यसैगरि कात्तिकको हरेक सोमबार गरिने थानीमाईको पूजा, ठूलो एकादशीमा तिनधारा महादेवको पूजा बन्दिपुरका विशेष तिथीहरू हुन् ।
कृषि पर्यटन
नेपाल सरकारको कृषि अनुसन्धान केन्द्र (बाख्रा), प्रदेशस्तरको व्यवसायिक किट विकास केन्द्र (मौरी, च्याउ, रेशम खेती), निजी स्तरबाट सञ्चालित कालिज तथा गाई फार्म, याम्पा फाँटको तरकारी खेती बन्दिपुरको कृषि पर्यटनका मुख्य आधारहरू हुन् ।
ऐतिहासिक गाथा
मणि मुकुन्देश्वरी गढी, चन्द्रकोट गढी र हुस्लाङकोट गढीले बन्दिपुरको ऐतिहासिक गाथा बोकेका छन् । बाइसे, चौबिसे राजाका पालामा तनहुँको केन्द्र तनहुँसुर भएपनि त्यसपछाडिको गढीको रूपमा मणि मुकुन्देश्वरी गढीलाई लिइन्छ । बन्दिपुरमा सेन राजाहरूले पनि शासन गरेका थिए । मणि मुकुन्द सेन दरबारको भग्नावशेषहरू बन्दिपुरको माथि थुम्कामा अझै पनि रहेको छ । त्यस थुम्कामा जानका लागि पछिल्लो समय मणि मुकुन्द सेन पदमार्ग नै निर्माण गरिँदैछ । जसलाई ‘मिनी ग्रेट वाल’ नामले समेत चिनिन्छ ।
साहसिक पर्यटनको हब
पृथ्वी राजमार्गसँगै टाँसिएको विमलनगर चुनपहराको रकक्लाइम्बिङ, भिमकाय शिद्धगुफाको अवलोकन सँगसँगै पातलेद्वार लगायतका गुफाहरूको अवलोकन, भञ्ज्याङ चौतारा नजिकैबाट फराकिला हिमशृङ्खला हेर्दै सुखौरा फाँटमा झर्ने प्याराग्लाइडिङ, रामकोटदेखि बन्दिपुर बजार हुँदै कोरिखा पुग्ने अफरोड साइक्लिङ रुट, मस्र्याङ्दी र सेती नदीको र्याफ्टिङले बन्दिपुरलाई साहसिक पर्यटनको हबका रूपमा पनि स्थापित गरेको छ ।
प्रकृतिको माधुर्य र बन्दिपुरे आत्मियता
फराकिला हिमशृङ्खलाहरूको अवलोकन, बादल उठेर बनेको ताल (ह्वाइट लेक) माथिबाट देखिने सूर्योदय, सुनौला किरण छर्ने मनमोहक सूर्यास्त, बजार नजिकैको रानीवन अनि जंगल भित्र सुनाखरी लगायत जंगली फूलहरूको माधुर्य हेर्दा बन्दिपुर प्रकृतिको उत्कृष्ट सिर्जना भएको भान हुन्छ ।
थानीमाईको डाँडाबाट देखिने बन्दिपुर बजार र आसपासको ‘बर्ड आई भ्यु’, आसपासका गाउँमा जाँदाको अफरोड ड्राइभिङ, चैत वैशाखमा जाँदा भेटिने काफल र ऐंसेलु, होमस्टेको ब्रेकफास्टमा चाख्न पाइने कोदोको रोटी मानसपटलमा घुमिरहने बन्दिपुरका याद बन्न पुग्छन् ।
हरिया वनजंगल, हाइकिङ रुटमा भेटिने मृग लगायतका जंगली जनावर तथा चराचुरुङ्गी, शान्त र सितल बाताबरण, बन्दिपुरेको न्यानो आत्मियता अनि पर्यटक देखेर मुस्कुराउने फराकिला हिम शृङ्खला बन्दिपुरले बन्दिपुरको महत्व अझ बढाएको छ ।
हाइकिङ
बिमलनगरबाट शिद्द्गुफा हुँदै बन्दिपुर, डुम्रेबाट पुरानो बन्दिपुरे उकाली हुँदै बन्दिपुर, बन्दिपुर बजारबाट मणि मुकुन्देश्वरी गढी एकदिने हाइकिङका लागि उपयुक्त रुटहरू हुन् । त्यस्तै चन्द्रकोट गढी, हुस्लाङ कोट, रामकोट र बन्दिपुर बजारबाट दक्षिण तर्फका विभिन्न गाउँहरूमा हाइकिङ जान सकिन्छ ।
टुँडिखेल
टुँडिखेल बन्दिपुर बजारको पश्चिममा रहेको थुम्को हो । राणाहरूले शाषन लिएपछि यो ठाउँलाई पश्चिम ३ नम्बर बाहिनी अड्डा (ब्यारेक) बनाएका थिए । सोही थुम्कालाई पछि चौर बनाइएको हो । यहाँ वर, पिपलको ५ वटा रुख भएको पन्चवृक्ष चौतारा रहेको छ । पहिले टुँडिखेलभित्र गाडी जान्थ्यो । स्थानीयले विदेशीको सहयोगमा पछि टुँडिखेलमा सिँडी बनाए, त्यसपछि भने गाडीहरू त्यहाँ जान पाएनन् ।
टुँडिखेलबाट हिमालय पर्वत, मर्स्याङ्दी नदीको नागबेली रुप र आसपासका उपत्यकाको मनोरम दृश्यावलोकन गर्न सकिन्छ । टुँडिखेलबाट गोर्खा दरबार, लिगलिगकोटको दरबार, लमजुङको राइनासकोट, फराकिला हिमशृंखलाहरू देख्न सकिन्छ । पैदल यात्रा गर्दै बन्दिपुरको डाँडाकाँडा हेर्ने र शितल हावा खाँदै थकाइ मार्न टुँडिखेल चर्चित छ ।
पद्म पुस्तकालय
बन्दिपर पहिलेदेखि नै राजनीतिक चेत भएको ठाउँ हो । राणा शासन अन्त्य गर्न बन्दिपुरमा रहेको अहिलेको पद्म पुस्तकालयले निकै नै भूमिका खेलेको थियो । तनहुँका रामप्रसाद खनालको नेतृत्वमा युवाहरू राणाविरुद्ध चेतना फैलाउन वि.सं. २००१ मा भानु पुस्तकालयको स्थापना गरिएको थियो ।
पछि श्री ३ पद्म शमशेर जबरा प्रधानमन्त्री भए । राणाहरू जनताले शिक्षा पाउने कुराको बिरोधि थिए । पुस्तकालयका अगुवालाई राणाहरूले पक्राउ गरे । पछि पुस्तकालयको नाम परिवर्तन गरेर प्रधानमन्त्री पद्म शमशेरकै नाममा पुस्तकालयको नामकरण गर्ने सर्तमा उनीहरूको रिहाइ भयो ।
यसरी वि.सं. २००४ मा भानु पुस्तकालय नाम परिवर्तन भएर पद्म पुस्तकालय बन्यो । राजनीतिक चेत वुलन्द पार्नका लागि स्थापना भएको यो पुस्तकालय अहिले पनि निरन्तर सञ्चालनमा छ ।
सहीद स्मारक पार्क
यस्तै राणा शाषन विरुद्ध २००७ माघ १ मा बन्दिपुरमा भएको आन्दोलनमा ६ जना सहीद भएका थिए । सहीदहरू सम्झनामा उनीहरूको शव दह गरेकै स्थानमा अहिले सहीद स्मारक पार्क बनाइएको छ ।
दरबारजस्तो घरको कथा
बन्दिपुर बजार प्रवेश गर्ने बित्तिकै पूरानो दरबार जस्तै एउटा घर देखिन्छ । चन्द्रगोपाल प्रधानले वि.सं. १९८५ मा ३२ हजार चाँदीको मोरु खर्च गरेर उक्त घर बनाएका थिए । तत्कालीन समयमा दरबार जस्तो घर बनाएका कारण राणाहरूले चन्द्रगोपाललाई पक्राउ गरि ३ सय ५ चाँदीको मोरु जरिवाना तिराएका थिए । राणाहरूको अवरोधका कारण घरको नौ तला बनाउने योजना रोकियो । सात तला निर्माण भएको उक्त घरको तल्लो दुई तला पुरेर हाल पाँच तला कायम गरिएको छ ।
बौद्ध गुम्बा
बन्दिपुर बजारको शिरमा छ सुन्दर रानीबन । अनि रानीबनको काखैमा छ बौद्ध गुम्बा । बन्दिपुरका गणेश बहादुर गुरुङको अग्रसरतामा र नेतृत्वमा बिक्रम सम्बत २०६० सालमा गुम्बा निर्माण भएको हो।
गुम्बाले धार्मिक पर्यटनमा टेवा पुर्याएको छ । तनहुँमा अन्यत्र गुम्बा नहुँदा यो गुम्बा निर्माण गरिएको गुरुङ बताउँछन् । गुम्बामा शाक्यमुनि बुद्धका मूर्ति राखिएको छ । साथै विभिन्न मुलुकहरूबाट ल्याइएका बौद्ध धर्मग्रन्थका पुस्तक राखिएको छ ।
गुम्बामा बुद्धका एक सय आठ मूर्ति तथा एक सय आठ वटा नै माने राखिएका छन् । मानेमा बुद्धका छ विशेष मन्त्र रञ्जना लिपीमा कुँदिएको छ । सबै लोकका प्राणीको सुख तथा शान्तिका लागि मन्त्र उच्चारण गरिन्छ ।
मठ मन्दिर
धारापानी महादेव, बसाहा थान, सेराटारको सन्तानेश्वर महादेव, झप्रीको मुलपानी महादेव, ऐतिहासिक खड्गदेवी मन्दिर, गुरुन्चे डाँडाको थानीमाई, नाहालाको भुत्याइ बराह मन्दिर, पवित्रा स्कुल नजिकैको भुकभुके बराह, बजार क्षेत्रको बिन्द्यबासिनी, महालक्ष्मी स्थान, गणेश थान र महादेव मन्दिर, चामुण्डा देवी, तिनधाराको राधाकृष्ण मन्दिर र महादेव मन्दिर, बन्दिपुरका महत्त्वपूर्ण धार्मिक गन्तव्य हुन् ।
अवलोकन र भ्रमण पिकनिक
पर्यटकका लागि मात्र नभई बाह्य जिल्लाका विद्यालयहरूले विद्यार्थीहरूलाई बन्दिपुरको अवलोकन भ्रमण समेत गराउँदै आइरहेका छन् । बन्दिपुरको तीनधारा क्षेत्रमा सेल्टर र विद्युत सुबिधा सहितको व्यवस्थित पिकनिक स्थल रहेको छ । जहाँ पोखरा, लमजुङ, गोर्खा, धादिङ, चितवन, नवलपुरदेखि पिकनिक खान जानेको घुइँचो लाग्छ ।
कसरी पुग्ने ?
काठमाडौँ कलङ्कीबाट १३५ किलोमीटर, पोखरा पृथ्वी चोकबाट ६६ किलोमीटर र चितवन पुल्चोकबाट ६० किलोमीटर यात्रा गरेपछी तनहुँको डुम्रे बजार पुगिन्छ । डुम्रेबाट ८ किलोमीटर नागबेली उकालो सडक पार गरेपछि बन्दिपुर बजार पुगिन्छ । सार्वजनिक यातायातम जाँदा डुम्रेमा सवारी परिवर्तन गर्नुपर्ने हुन्छ । डुम्रेबाट बस, जिप वा ट्याक्सीमा जान सकिन्छ ।
Google Map:
https://maps.app.goo.gl/yqLNRwyr8vRN8cDd8
कति समय छुट्ट्याउने ?
बन्दिपुरका मुख्य पर्यटकीय गन्तव्य दुईदेखि तीन दिनमा घुमेर भ्याइन्छ । मिहिन ढंगले यात्रा गर्ने हो भने एक साता छुट्ट्याउनुपर्छ ।
कोशेली ?
बन्दिपुर बजारमा कोशेली घर छ, जहाँ खासगरी बन्दिपुरका कृषि उपज किन्न पाइन्छ । कोरीखा, धरमपानी र रामकोट गाउँ जाँदा रैथाने उत्पादन र स्थानीय गाई भैंसीको घ्यु कोशेली ल्याउन सकिन्छ ।
बन्दिपुर गाउँपालिका भित्रका अन्य पर्यटकीय गन्तव्यहरू:
थानीमाईबारे जानकारी पाउन तलको फोटोमा क्लिक गर्नुहोस् ।
मणि मुकुन्देश्वरी पर्खाल (मिनी ग्रेटवाल)बारे जानकारी पाउन तलको फोटोमा क्लिक गर्नुहोस् ।
विन्ध्यवासिनी मन्दिरबारे जानकारी पाउन तलको फोटोमा क्लिक गर्नुहोस् ।
पद्म पुस्तकालयबारे जानकारी पाउन तलको फोटोमा क्लिक गर्नुहोस् ।
खड्गदेवी मन्दिरबारे जानकारी पाउन तलको फोटोमा क्लिक गर्नुहोस् ।
पातलेद्वार गुफाबारे जानकारी पाउन तलको फोटोमा क्लिक गर्नुहोस् ।
पहाड पानीबारे जानकारी पाउन तलको फोटोमा क्लिक गर्नुहोस् ।
सहिद स्मारक पार्कबारे जानकारी पाउन तलको फोटोमा क्लिक गर्नुहोस् ।
Bandipur Boudha Gumba बारे जानकारी पाउन तलको फोटोमा क्लिक गर्नुहोस् ।
सिद्ध गुफाबारे जानकारी पाउन तलको फोटोमा क्लिक गर्नुहोस् ।
रक क्लाइम्बिङ्बारे जानकारी पाउन तलको फोटोमा क्लिक गर्नुहोस् ।
भुत्यायी बराह मन्दिरबारे जानकारी पाउन तलको फोटोमा क्लिक गर्नुहोस् ।
तीन धाराबारे जानकारी पाउन तलको फोटोमा क्लिक गर्नुहोस् ।
रामकोट गाउँबारे जानकारी पाउन तलको फोटोमा क्लिक गर्नुहोस् ।
चन्द्रकोट गढीबारे जानकारी पाउन तलको फोटोमा क्लिक गर्नुहोस् ।
हुस्लाङकोट गढीबारे जानकारी पाउन तलको फोटोमा क्लिक गर्नुहोस् ।