यात्रा गर्दै पार्टीमा झुम्न पाइने ‘पार्टी बस´: यसपाली तिजको पार्टी पनि बसमै


उपासना शर्मा काठमाडौं । ३ श्रावण २०८०

कतै जानका लागि त बस चढ्नु सामान्य नै हो । तर अब कुनै किसिमका पार्टी वा भेटघाट गर्न पनि बस नै प्रयोग गर्न थालिएको छ ।

काठमाडौं उपत्यकामा विभिन्न पार्टी तथा भेटघाटका लागि घुम्दै रमाउन सकिने गरि पार्टी बस सञ्चालन भइरहेको छ । ओरेफ इन्टरनेसनलको सहकार्यमा सञ्चालित उक्त पार्टी बस लक्जरी किसिमको छ ।

कम्फर्टेबल सिटमा मस्तसँग रमाइलो गर्न सकिने गरि बसमा व्यवस्था गरिएको छ । ३० जनासम्म यात्रुले एक पटकमा सो पार्टी बसमा मज्जा लिन सकिने ओरेफ इन्टरनेसनलका प्रमुख कार्यकारी अधिकृत प्रबेक जोशी बताउँछन् ।

उनका अनुसार, जन्मदिन, विवाह हुनुअघिको ‘ब्याचलर पार्टी’, गेट टुगेदर, भिजा सक्सेस पार्टी वा अन्य जुनसुकै अवसरमा पनि पार्टी बसमा रमाउन सकिन्छ ।

उच्च गुणस्तरको साउण्ड सिस्टममा गीत सुन्न सकिने, चिसोका लागि एसीको व्यवस्था, विभिन्न रंगका लाइटहरूले पार्टीमा विशेष रौनक भर्नेछ । बसभित्र नाच्नका लागि समेत व्यवस्था मिलाइएको छ ।

यसबाहेक वाईफाई तथा मोबाइल चार्ज गर्ने व्यवस्था बसभित्रै छ भने धुम्रपानका लागि छुट्टै ठाउँको व्यवस्था गरिएको छ ।  यस्तै पानी, बियर, सोडा लगायतका पेय पदार्थहरूको व्यवस्था पनि आवश्यकता अनुसार बसमै मिलाइने कम्पनीले जनाएको छ ।

विगतमा रेस नेपालले सञ्चालन गर्दै आएको पार्टी बस गत असारदेखि ओरेफ इन्टरनेसनलले सञ्चालनको जिम्मा लिएको हो । ‘भिजिट नेपाल २०२०’लाई लक्षित गर्दै रेस नेपाल प्रालिले नेपालमै विदेशी शैलीको पार्टी बस सञ्चालनमा ल्याएको थियो ।

कम्पनीका सिईओ जोशी भन्छन्,‘ आन्तरिक तथा बाह्य पर्यटकहरूलाई राखेर रिक्रियसनल र इन्टरटेनमेन्ट दिने उद्देश्यले पार्टी बस सञ्चालन गर्न थालेका हौँ ।’

उनका अनुसार, यस्तो किसिमको पार्टी बस सम्भवतः दक्षिण एसियामै पहिलो हो । हाल पार्टी बसका लागि कम्पनीले २ वटा बस सञ्चालन गरिरहेको छ । जसमध्ये एउटा उपत्यकाभित्र हप अन राइड र अर्को आवश्यक पर्दा उपत्यका बाहिर । पार्टी बसमा झुम्दै यात्रा गर्नका लागि कम्पनीले दुई किसिमको बुकिङ व्यवस्था गरेको छ ।

हप अन राइडअन्तर्गत काठमाडौंका कुनै चोकमा यात्रुहरूले फोनमार्फत बुक गरेका छन् भने बसले लिन जाने र त्यहीँबाट घुमाउने गर्दछ । ‘दरबारमार्गबाट फोन आयो भने लिन जाने र केही घण्टाका लागि घुमाउने गरिएको छ,’ सिईओ जोशीले भने ।

हप अन राइडका लागि कम्पनीले एक हजार रुपैयाँ शुल्क लिनेछ भने यसमा १८ वर्ष उमेर पुगेकालाई मात्र प्रवेश गर्न दिइने सीईओ जोशी बताउँछन् । यस्तै अर्को बस रिर्जभका लागि दिने गरिएको छ । जसमा विवाह, पिकनिक जस्ता कार्यक्रमका लागि ३/४ दिनका लागि बुक गर्न सकिनेछ ।

पार्टी बस कुनै रेष्टुरेन्टभन्दा कम छैन । रेष्टुरेन्टमा हुने जस्तै सुविधा तथा कर्मचारी त्यहाँ हुन्छन् । झैझगडा नपरोस् भन्ने हिसाबले त्यहाँ बाउन्सर समेत राखिएको हुन्छ । यसबाहेक अन्य कर्मचारीहरू सहित करिब ७ जनाको टिम नै छ ।

पार्टी बस पछिल्लो समये ‘डेस्टिनेसन वेडिङ’का लागि समेत चर्चित छ । कतिपयले जन्त लैजाने, मनोरञ्जन गर्नका लागि पार्टी बस नै प्रयोग गर्ने गरेका छन् ।

डेनमार्क निवासी अशोक शर्माले सन् २०१७ मा पार्टी बस नेपालको परिकल्पना गरेका थिए । पार्टी बस नेपालका प्रबन्धक समेत रहेका शर्माले नेपालको पर्यटनलाई प्रवर्द्धन गर्न तथा आन्तरिक/बाह्य पर्यटकहरुलाई नयाँ अनुभव दिलाउन सन् २०१७ मा यसको अवधारणा डेनमार्कमै तयार पारेका थिए । त्यसपछि उनले नेपालमा सन् २०२० मा भिजिट नेपाल २०२० लक्षित गरी यो बस शुरु गरेका थिए ।

यसपालीको तिज पार्टी बसमै

कम्पनीले यसपालीको तिज पार्टी बसमै मनाउने गरि योजना बनाइरहेको छ । तिजको अवसरमा झुम्ने र मनोरञ्जन पार्टी बसमै गराउने गरि तयारी भइरहेको कम्पनीका सीईओ जोशी बताउँछन् ।

नेपालको अर्थतन्त्रलाई अगाडि बढाउने पर्यटनलाई फरक कन्सेप्टमा सञ्चालनमा ल्याइएको पार्टी बस देशभर नै लैजान सकिनेछ । सामान्य रात्री बसभन्दा केही ठूलो रहेको यस बस सहज सडक मार्गमा सबैतिर गुडाउन सकिनेछ ।

पछिल्लो पटक नेपाल घुम्न आएका भारतिय चर्चित गायक हनी सिंहको टोलीले पनि पार्टी बसमा मनोरञ्जन लिएका थिए । उनीबाहेक बलिउड चलचित्र उडानको निर्माण टिमले पनि पार्टी बसमा रमाइलो गरेको सीईओ जोशी बताउँछन् । उनीहरूमात्र नभई अन्य बाह्य मुलुकका पर्यटकको रोजाइमा समेत पछिल्लो समय पार्टी बस पर्दै गएको छ ।

पार्टी बस सामान्य तयाः साँझ सात बजेपछि मात्रै सञ्चालन हुने गरेको छ । दिउँसोको समयमा सडक बढी व्यस्त हुने र जाम पनि हुने भएकाले पार्टी बसलाई राति चलाउने गरिएको जोशी बताउँछन् । उनले भने,‘साँझ सात बजेपछि राति १२ बजेसम्म बस चलाउने गरिएको छ ।’

कसरी बुक गर्ने ?

कम्पनीको सम्पर्क नम्बर तथा कम्पनीका सीईओ जोशीलाई सिधै सम्पर्क गरेर पार्टी बस बुक गर्न सकिनेछ । त्यसका लागि सीईओ जोशीको मोबाइल नम्बर ९८०२३४३२५२ मा सम्पर्क गर्न सकिनेछ । यसबाहेक कम्पनीको इमेलमा [email protected]  मार्फत पनि बुक गर्न सकिनेछ । पार्टी बसको उच्च माग हुने भएकाले एक साता अगाडि नै बुक गर्दा सहज हुन्छ ।

३ श्रावण २०८०