English language
हिन्दी भाषा (Hindi)
中文 (Chinese)
lengua española (Spanish)
한국어 (Korean)
日本語 (Japanese)
langue française (French)
बन्दिपुरको तीनधारा निकै नै पूरातात्विक एवम् ऐतिहासिक धारा हुन् । पहाडको भित्तो खोपेर परापूर्व कालमै त्यहाँ तीन धारा बनाइएको थियो । तीन वटा प्वाल बनाइएपछि त्यहाँबाट पानी आयो । त्यहाँ शुरूमा ढुंगे धारा बनाइएको थियो । तीन वटा धाराको पानी लिनका लागि बन्दिपुर मात्र नभई आसपासका अन्य स्थानबाट समेत मानिसको भिड लाग्ने गर्दथ्यो । केही समयपछि त्यहाँ ढुंगेधारा हटाएर पाइपको धारा बनाइयो । त्यसको केही पछि सालको काठबाट धारा बनाइएपनि त्यो नटिकेर अहिले फेरि ढुंगे धारा नै त्यहाँ राखिएको छ । तीन वटा धारा भएकाले त्यस ठाउँको परिचय नै तीनधारा बन्यो । ती ढुंगेधाराहरू काठमाडौंबाट ल्याइएको जानकारहरू बताउँछन् ।
पहिले पहिले मोटरबाटो नखुल्दा कास्की, गोर्खा, लमजुङ, मनाङ, तनहुँ लगायत ठाउँका मानिसले चितवन जानका लागि यही तीनधाराको बाटो प्रयोग गर्दथे । तीनधारामा अहिले पनि तीन वटा पूरानो पाटी रहेको छ । त्यस पाटीमा त्यो बाटो प्रयोग गरेर हिँड्ने बटुवाहरूले बास बस्ने गरेको जानकारहरू बताउँछन् । सुरूवाती समयमा तीनवटा मात्रै धारा भएपनि पछि त्यहाँ थप दुई वटा धारा बनाइएको छ । ती दुई थारा पनि निकै पूराना धाराहरू हुन् । तत्कालीन समयमा दलितहरूलाई विभेद गरिन्थ्यो । पछि समाजमा चेतना केही जागृत हुँदै गएपछि दलितलाई पनि त्यहाँ धारा बनाएर पानी पिउनका लागि बाटो खुला गरिएको थियो । अहिले भने बन्दिपुरमा दलितमाथि विभेद छैन । तीन धारामा रहेको जुनसुकै धाराको पानी जोसुकैले प्रयोग गर्न पाउने त्यहाँका स्थानीयहरू बताउँछन् ।
तीन धाराबारे एउटा किंवदन्ती समेत छ । बन्दिपुरका मणिरत्न प्रधानका अनुसार, तीन धारा धार्मिक हिसाबले निकै महत्वपूर्ण छ । हिन्दू धर्मग्रन्थमा भष्मासुर भन्ने दैत्यको कथा भेटिन्छ । तीन धारा र पहाडपानीमा त्यो कथा जोडिएको किंवदन्ती छ । भष्मासुरले महादेवको घोर तपस्या गरेपछि टाउकोमा हात राख्नेबित्तिक्कै उसको मृत्यु हुने वरदान पाएछ । त्यसपछि भष्मासुरले त्यो वरदान सही छ कि छैन भनेर महादेवकै शीरमा हात राख्ने प्रयास गर्यो । महादेव भाग्दै भाग्दै तीन धारा भन्ने ठाउँमा पुगेछन् । तीन धारा पुग्दा त्यहाँ उनी निकै तिर्खाएका थिए । त्यसपछि त्यहाँ त्रिशूल हानेर तीन धारा बनाए र पानी पिए । त्यसपछि त्यसलाई तीन धारा बनाइएको किंवदन्ती छ ।
तीनधारा अहिले पनि उत्तिकै लोकप्रिय छ । त्यहाँ बाह्रै मास पानी आइरहन्छ । बन्दिपुरका हरेक घरमा धारा जडान गरिएको छ । तै पनि त्यहाँका स्थानीयले पिउनका लागि भने तीन धाराकै पानी प्रयोग गर्ने गरेका छन् । स्थानीयहरू बिहान ५ बजेदेखि गाग्री लिएर त्यहाँ पुग्छन् । त्यहाँको पानी निकै मिठो हुने भएकाले पिउनकै लागि भएपनि त्यहाँको पानी प्रयोग गरिन्छ ।
तिनधारामा ढुंगैढुंगाले बनेको महादेवको मन्दिर छ । राजा मणि मुकुन्दसेन बन्दिपुरमा आउँदा बस्ती विस्तार भएको थियो । त्यसपछि त्यहाँ ढुंगैढुंगाको मन्दिर त्यहाँ बनाइएको हो । तीनधारा र मन्दिर करिब करिब सँगसँगै निर्माण भएको जानकारहरू बताउँछन् । तीन धारा नजिक स्थापना भएकाले यस मन्दिर ‘तीन धारा महादेव’को नामले पनि परिचित छ ।
ठूलो एकादशीमा मन्दिरमा फूलको तोरन लगेर विशेष पूजा गरिन्छ । त्यस्तै महाशिवरात्रीमा पनि महादेवको मन्दिरमा ठूलो मेला लाग्ने गरेको छ । यसभन्दा अघिपछि पनि यस मन्दिरमा नित्य पूजाआजा गर्ने गरिन्छ । स्थानीयहरूले तीन धारामा नुहाएर महादेव मन्दिरमा पूजा गर्ने गरेका छन् ।
कसरी पुग्ने ?
बन्दिपुर बजारको पूर्व तर्फ भैंसेखार गाउँसँगै तीनधारा रहेको छ । बजारबाट करिब १० मिनेट पैदल यात्रामा तीनधारा पुग्न सकिन्छ ।
गुगल नक्सा:
https://maps.app.goo.gl/NfRrbdcgfeM3eUEv8
फोटो ग्यालरी:
बन्दिपुर गाउँपालिका भित्रका अन्य पर्यटकीय गन्तव्यहरू:
https://tourismpana.com/bandipur-thanimai-mandir/
https://tourismpana.com/mani-mukundeswori-marga-mini-grate-wall/
https://tourismpana.com/bindhyabasini-mandir-bandipur/
https://tourismpana.com/padhma-library-bandipur/
https://tourismpana.com/bandipur-khadga-devi-temple/
https://tourismpana.com/bandipur-pataledwar-cave/
https://tourismpana.com/bandipur-pahad-pani/
https://tourismpana.com/bandipur-sahid-smarak-park/
https://tourismpana.com/bandipur-gumba/
https://tourismpana.com/bandipur-siddha-gufa/
https://tourismpana.com/bandipur-rock-climbing/
https://tourismpana.com/bandipur-bhutyai-baraha-temple/
https://tourismpana.com/bandipur-ramkot-village/