धनकुटामा महाभारत पर्वत शृंखलाअन्तर्गतका डाँडैडाँडा जोड्न खुवालुङ–त्रिवेणी–ध्वजेडाँडा पदमार्ग निर्माण शुरु गरेको छ ।
धनकुटाको साँगुरीगढी गाउँपालिकालाई दीर्घकालीन पर्यटकीय हवका रुपमा विकास गर्न पदमार्ग निर्माण शुरु गरेको हो ।
डाडाबजारका स्थानीय पर्यटन व्यवसायी पदम थेगिमले यस पदमार्गबाट भेडेटार घुम्न आउने आन्तरिक तथा बाह्रय पर्यटकहरु लाभान्वित हुने अपेक्षा गरिएको बताए ।
यो पदमार्गले गाउँपालिका भरिका १० वडामध्ये ६ वडाहरुलाई समेट्ने छ । ध्वजेडाँडादेखि त्रिवेणी हुँदै खुवालुङसम्मको पदमार्गको कुल लम्बाई ३८.२ किलोमिटर रहेको छ ।
यो कोशी प्रदेशकै सबैभन्दा लामो पदमार्ग हुनेछ । यस पदमार्ग निर्माण सम्पन्न भएपछि साँगुरीगढी र चौविसे क्षेत्रका होटल व्यवसायमा समेत लाभ मिल्ने अपेक्षा गरिएको भेडेटार होटल एसोसियसनका संस्थापक अध्यक्षसमेत रहेका होटल व्यवसायी विष्णु श्रेष्ठले बताए।
गाउँपालिकाले गत आर्थिक वर्षमा पदमार्गका लागि ४० लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो । उक्त रकमबाट पदमार्गमा पर्ने झाँडीहरूको सरसफाइ, फुट ट्रयाक, विभिन्न स्थानमा सुख्खा वाल लगायतको संरचना निर्माण गरेको गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्दाली राईले बताए। बाँकी संरचना निर्माणको लागि गाउँपालिकाले चालु आर्थिक वर्षमा ३० लाख रुपैयाँ बजेट विनियोजन गरेको अध्यक्ष रुम्दालीको भनाइ छ ।
पदमार्गको सुरुवाती विन्दु ध्वजेडाँडालाई मानिएको छ । ध्वजेडाँडाबाट सूर्योदय र सूर्यास्तको दृश्य हेर्न सकिन्छ । अनितम स्थल भने खुवालुङ हो । खुवालुङ किरातीहरूको ऐतिहासिक तीर्थस्थल हो । यो अरुण, दूधकोशी र तमोर नदीको संगमस्थल त्रिवेणीमा रहेको छ ।