पर्यटन प्रवर्द्धन गर्न तनहुँमा अल्ट्रा म्याराथन हुने


टुरिजम पाना तनहुँ । १२ माघ २०७९
damauli tanahun

‘विविधतायुक्त गाउँसहर, समृद्ध मेरो व्यास नगर’ भन्ने नाराका साथ पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले छैटौँ व्यास नगर अल्ट्रा म्याराथनको आयोजना गरिएको छ । सहिद दिवसका अवसरमा तनहुँको व्यास–५ को मानहुँबाट व्यास–८ को सहिदग्राम पुलिमराङसम्मको ४४ किमी दूरीमा म्याराथन आयोजना गरिएको हो ।

नगरपालिकाले खेलकुदको माध्यमबाट पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले पाँच वर्षदेखि सुरुआत गरेको म्याराथनलाई यस वर्ष पनि निरन्तरता दिन लागेको हो । नगर प्रमुख वैकुण्ठनाथ न्यौपानेले पर्यटकीय गाउँ मानहुँ र सहिदहरूको गाउँ पुलिमराङलाई खेलकुदको माध्यमबाट जोड्दै पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले म्याराथन आयोजना गरिएको जानकारी दिए ।

विगतमा गर्दै आएको म्याराथनले मानहुँकोटको पर्यटकीय प्रवर्द्धनमा ठूलो सहयोग पुगेको उनले बताए ।“ म्याराथन नगरपालिकाको पहिचान बनिसकेकाले निरन्तर दिँदै आएका छौँ”, उनले भने, ‘मानहुँलाई पर्यटकीयस्थलका रूपमा चिनाउन म्याराथनले पनि टेवा पुर्‍याएको छ ।

मानहुँकोटबाट सिद्धमार्ग हुँदै अलैचे, चापाघाट, पृथ्वी राजमार्ग हुँदै दुर्गा मन्दिर अनसन चौतारी, सफा सडक, भोर्लेटार चोक, व्यासमार्ग हुँदै बैरेनी दुम्सी खहरे, कलेस्ती बोटेटार, पाथ्रा सत्रसय, कालिका मार्ग हुँदै बर्लाछी सोतीबेँसी, बगुवा रिस्ती, बाहुन पोखरा हुँदै पुलिमराङ सहिद स्मारक पार्कमा पुगेर टुंङ्गिने छ ।

गत वर्षसम्म म्याथनमा राष्ट्रिय धावक सहभागी गराइए पनि यस वर्ष जिल्लाभित्रका धावकलाई मात्रै सहभागी गराइने प्रमुख प्रशासकीय अधिकृत हरिराम नागिलाले जानकारी दिए । प्रतियोगितामा प्रथम हुनेलाई रु ६१ हजार, द्वितीयलाई रु ५१ हजार, तृतीयलाई रु ३८ हजार र सान्तवना तीन जनालाई जनही रु १२ हजार पाँच सयका दरले पुरस्कार प्रदान गरिनेछ ।

प्रतियोगितामा सहभागी हुने धावकले माघ १५ गतेसम्म नाम दर्ता गराउन पाउनेछन् । खेलाडीलाई दर्ता शुल्क रु तीन सय कायम गरिएको छ भने माघ १५ गते धावकलाई अभिमुखीकरण कार्यक्रम रहेको छ । माघ १६ गते बिहान ७ः३० बजेदेखि म्याराथन सुरु हुने नगरपालिका कार्यालयले जनाएको छ ।

१२ माघ २०७९