पहाडकी रानी उपनामले चिनिएको तनहुँको बन्दीपुरलाई ‘भिजिट बन्दीपुर–२०२५’ घोषणा गरिएको छ । पर्यटन दिवसको अवसरमा बन्दीपुर गाउँपालिकाले पर्यटन प्रवर्धनका लागि घोषणा गरेको हो ।
आन्तरिक तथा बाह्य पर्यटकलाई बन्दीपुर भित्र्याउने उद्देश्यले ४५ औँ विश्व पर्यटन दिवसको अवसरमा तनहुँको बन्दीपुरमा आयोजित कार्यक्रममा भ्रमण वर्षको लोगो सार्वजनिक गर्दै कार्यक्रमको प्रमुख अतिथि गण्डकी प्रदेश कृषि भूमि तथा सहकारी मन्त्री पद्मा जिसी श्रेष्ठ र बन्दीपुर गाउँपालिका अध्यक्ष सुरेन्द्र बहादुर थापाले एक समारोहका बीच भिजिट बन्दीपुर २०२५ घोषणा गरेका हुन् ।
बन्दीपुर भ्रमण वर्षले बन्दीपुर समृद्ध बन्नका लागि थप टेवा पुग्ने मन्त्री जिसीले बताइन्। उनले कृषिमा लगानी बढाई किसानलाई प्रोत्साहन गरी किसानको आयआर्जनमा वृद्धि गर्न यस पर्यटकीय क्षेत्रले थप सहज बनाउने बताईन ।
‘बन्दीपुरको सुन्दरता यहाँको ऐतिहासिक र पुरातात्विक सम्पदाहरू हुन्’ उनले भनिन् ‘क्षेत्र मठ मन्दिर तथा गढी लगायतका क्षेत्रहरूको प्रचारप्रसार गर्न सके पर्यटकहरूको सङ्ख्या वृद्धि गर्न सकिनेछ।’
पर्यटन प्रवद्र्धन गर्न गाउँपालिका नियम यसअघि पनि विभिन्न कार्यक्रम गर्दै आइरहेको छ। ‘घुम्न जाउँ है बन्दीपुर’ अन्तर्गत अघिल्लो आर्थिक वर्ष देशका प्रमुख सहरहरू काठमाडौँ पोखरा चितवन बुटवल भैरहवा लगायतका स्थानमा त्यहाँका सरोकारवाला निकाय तथा विभिन्न संघसंस्था सँग अन्तरक्रिया गरी बन्दीपुर घुम्नका लागि निम्ता गरिएको थियो।
बन्दीपुरका विशेष गन्तव्यहरूलाई चिनाउनका लागि विभिन्न भाषामा प्रचार सामग्री तयार गरी क्युआर कोडबाट स्क्यान गरी सजिलै पढ्न हेर्न र सुन्न सकिने व्यवस्था गाउँपालिकाले गरिसकेको गाउँपालिका अध्यक्ष सुरेन्द्र बहादुर थापाले बताए। उनले भने ‘अघिल्लो आर्थिक वर्षमा नै बन्दीपुर गाउँपालिकाको पर्यटकीय क्षेत्रको बारेमा पर्यटकहरूलाई बुझ्न सहज हुनका लागि भिडियो डकुमेन्ट्री समेत निर्माण गरी प्रचारप्रसार गरेको छ।’
बन्दीपुर पर्यटन विकास समितिका अध्यक्ष किसान प्रधानले भिजिट बन्दीपुर–२०२५ मा वर्षभरी गाउँपालिकाका सबै वडाहरूमा पर्यटन प्रवर्धनका विभिन्न कार्यक्रम गरिने बताए । यहाँको खड्देवी मन्दिर, बिन्दबासिनी थानीमाई मन्दिर, महालक्ष्मी मन्दिर, सिद्धगुफा, पातालीद्वार गुफा, मणि मुकुन्दसेन पदमार्ग (मिनी ग्रेटवाल), तीनधारा, टुँडिखेल, पहाडपानी, सहिद स्मारक, रानी वन, गुम्बा, मणि मुकुन्देश्वरी, पद्म पुस्तकालय रामकोट, धरमपानी, कोरीखा हुस्लाङकोट चन्द्रकोट लगायतका स्थानहरूलाई गाउँपालिकाले प्रमुख गन्तव्यका रुपमा सूचीकृत गरेको छ । बन्दीपुरमा विशेषगरी चीन, फ्रान्स, जर्मनबाट पर्यटक आउने गरेका छन् । विदेशी पर्यटक यहाँको हावापानी, रहनसहन, रीतिरिवाज र पुरानो घर देखेर आकर्षित हुने गरेको व्यवसायी बताउँछन् ।
सदरमुकाम दमौलीदेखि १८ किलोमिटर डुम्रे हुँदै आठ किलोमिटरको उकालो यात्रा तय गरेपछि बन्दीपुर पुगिन्छ । त्यहाँबाट मनोरम हिमशृङ्खला, पहाड, टाकुरा अवलोकन गर्न सकिन्छ । प्राकृतिक सुन्दरता बोकेको बन्दीपुरबाट अन्नपूर्ण, माछापुच्छ्रे,धौलागिरिलगायत हिमशृङ्खला देखिने भएकाले यहाँ पुग्ने जो कसैको मन लोभिने गर्दछ ।