प्रचलित नियम कानुन बमोजिम काम गर्दै छौँ: वर्णबास म्युजियम होटल

टुकुचा खोलाको किनाराबाट ५ देखि ६ मिटर जमिन छोडेर निर्माण


टुरिजम पाना काठमाडौ । २९ भाद्र २०७९
निर्माणाधिन वर्णबास म्यूजियम होटल
बालुवाटारमा निर्माणाधिन ‘वर्णबास म्युजियम होटल’ले भवन निर्माण गर्दा महानगरबाट नक्शा पास भए अनुरुप दक्षिणतर्फ टुकुचा खोलाको किनाराबाट ५ देखि ६ मिटर जमिन छोडेर निर्माण गरिएको जनाएको छ ।
साथै भविष्यमा टुकुचा किनाराबाट विस्तार हुन सक्ने सडकलाई प्रचलित नियमअनुरुप मार्ग प्रशस्त गरिएको समेत स्पष्ट पारेको छ । संरचना निर्माणबारे केही सञ्चार माध्यममा आएका नकारात्मक टिप्पणीलाई लक्षित गर्दै प्रकाशित गरिएको प्रेस विज्ञप्तिमा उक्त कुरा उल्लेख गरिएको हो ।
बुधबार विज्ञप्ति जारी गर्दै होटलले निर्माण सुरू गर्नु अगाडि नै प्रारम्भिक वातावरणीय परीक्षा पनि पास गरेको जनाएको र भवन निर्माण गर्दा नक्शा पास भएअनुरुप नै बनाइएको विज्ञप्तिमा बताइएको छ । होटलले काठमाडौं महानगरको भवन निर्माणसम्बन्धी नीतिले टुकुचा खोलाको किनाराबाट होटलको जमिनतर्फ ५ मिटर छाड्नुपर्ने वा मध्यभागबाट छाड्नुपर्ने भनेर स्पष्ट नपारे पनि निर्माणाधिन संरचनाको चारैतिर ५.५ मिटर जमिन छाडिएको  विज्ञप्तिमा उल्लेख गरेको छ ।
काठमाडौं महानगर, नापी विभागबाट पटक-पटक जग्गा नाप्दा पनि त्रुटी नभेटिएको होटलको दाबी छ ।
खोलामा पानीको बहाव बढ्दा हुन सक्ने क्षतिलाई न्यून गर्न पक्की कम्पाउन्ड लगाइएको र सडकलाई आवश्यक पर्ने जमिन पनि खाली गरि कुनै संरचना निर्माण नगरिएको विज्ञप्तिमा उल्लेख छ । नेपालका विभिन्न जातजाति, भेगहरूको मौलिक परम्परा झल्काउने गरी होटलको निर्माण भइरहेको छ । आउँदो अङ्ग्रेजी नयाँ वर्षदेखि सञ्चालनमा ल्याउने तयारी भएको होटलको लगानी एक अर्ब १६ करोड रहेको छ ।
२९ भाद्र २०७९