मेयर बालेनको इण्डोनेसिया भ्रमण: पत्नी सबिनाले सार्वजनिक गरिन् रोमान्टिक तस्बीरहरू


टुरिजम पाना संवाददाता काठमाडौं । २४ पुष २०७९

काठमाडौं महानगपालिकाका मेयर बालेन शाह पत्नीसहित यतिखेर इन्डोनेसियाको जकार्तामा छन् ।

शुक्रबारबाट शुरू हुने पब्जी मोबाइल विश्व च्याम्पियनसिपको फाइनल प्रवेश गरेका दुई नेपाली टोलीको हौसला बढाउन उनी परिवारसहित जकार्ता पुगेका हुन् ।

बालेनपत्नी सबिना काफ्लेले जकार्तामा रहँदाका रोमान्टिक तस्बीरहरू सामाजिक सञ्जालमा सेयर गरेकी छन् ।

मेयर शाहले आफ्नो फेसबुक पेजमा एक पोस्ट गर्दै नेपाली टोलीहरू डीआरएस गेमिङ र टीटुके समूहलाई शुभकामना दिएका छन् ।

बालेनले प्रतियोगतामा सहभागी हुन जाने टोलीहरूलाई विदाई समेत गरेका थिए ।

यसअघि मेयर निर्वाचित भएपछि बालेनको नेतृत्वमा महानगरपालिकाले आफ्नो कार्यक्रममा ई–स्पोर्टस्‌सँग सम्बन्धित गतिविधि र प्रतियोगिताको सहयोगका लागि बजेट विनियोजन गरेका थिए ।

काठमाडौं महानगरका अनुसार मेयर शाहको यो भ्रमण अनौपचारिक हो ।

जकार्ताको इन्टरनेसनल एक्स्पोमा आयोजना हुने तीन दिने यो ग्राण्ड फाइनल प्रतियोगितामा विभिन्न देशका १६ टिमले १५ लाख डलर राशीको पुरस्कारका लागि प्रतिस्पर्धा गर्नेछन् । सो टिममा चीनका ३, ब्राजिलका ३, नेपालका २, टर्कीका २, मंगोलियाका २, थाइल्यान्डका २ र मलेसिया तथा इन्डोनेसियाका एक एक टोलीले प्रतिस्पर्धा गर्नेछन् ।

२४ पुष २०७९