तनहुँको आँखे ताललाई धार्मिक पर्यटनसँग जोड्ने युवाको प्रयास


टुरिजम पाना तनहुँ । २४ पुष २०७९

तनहुँको शुक्लागण्डकी नगरपालिकामा रहेको आँखे ताललाई धार्मिक पर्यटनसँग जोड्ने अभियानका सुरु भएको छ । नगरपकालिका वडा नं १ ज्यामिरबोटे र वडा नं २ सुन्दरी गाउँका युवाहरु आँखे तालको प्रवद्र्धनमा लागेका हुन् ।

पृथ्वी राजमार्ग अन्तर्गतको कोत्रे तथा गगनगौडाबाट करिब छ किलोमिटरको दूरीमा रहेको ताल दुई वडाको सिमानास्थित ज्यामिरबोटेमा पर्छ । परापूर्वकालदेखि धार्मिक आस्था एवं विश्वाससँग जोडिएको ताललाई धार्मिक पर्यटनको गन्तव्य बनाउने उद्देश्यका साथ पाँच वर्षदेखि युवाहरु त्यसको संरक्षण र प्रवद्र्धनमा जुटेका हुन् ।

चार वर्षअघि सुन्दरी गाउँ र ज्यामिरबोटेका स्वदेश तथा विदेशमा रहेका युवाले सक्रियता देखाएका थिए । उनीहरुबाट रू ९० हजार सङ्कलन गरी अभियान सुरु भएका आँखे ताल संरक्षण एवं सिद्धिकाली मन्दिर निर्माण समितिका सचिव सञ्जय ढकालले बताए ।

ताल रहेको स्थानलाई व्यवस्थित गर्दै त्यही परिसरमा सिद्धिकालीको मन्दिर समेत बनाउनका लागि स्थानीय समाजसेवी डिल्लीराम अधिकारी, कृष्णराज अधिकारी र तीर्थराज ढकालले जग्गा दान गरेका हुन् ।

मन्दिर निर्माण एवं तालको संरक्षणका लागि हालसम्म छ लाख २५ हजार नगद खर्च भएको छ । “निर्माणका लागि जग्गादानसँगै स्थानीय जनश्रमदान अत्यधिक छ, त्यही सहयोगले हामी मन्दिर निर्माणलाई अन्तिम चरणमा पुर्‍याउनुका साथै ताललाई केहीमात्रामा भने पनि व्यवस्थित गर्न सफल बनेका छौँ”, सचिव ढकालले भने ।

यस ठाउँमा मन्दिर निर्माणका क्रममा उत्खनन गर्दा प्राचीन मौलोसँगै महेन्द्रकालीन मुद्रासमेत फेला परेको उनले जानकारी दिए । उनले यसको ऐतिहासिकता अनुसन्धान गर्न बाँकी रहेको बताए ।

यहाँको जलाशय क्षेत्रफलका हिसाबले ताल जति ठूलो नभए पनि परावूर्वकालदेखि नै तालका रुपमा लिने गरिएको स्थानीय बुढापाकाहरु बताउँछन् । युवाको सक्रियतामा यहाँको जलाशयलाई नेपालकै पहिलो जलविद्युत् गृह फर्पिङको जलाशयको स्वरुपमा स्टिलको रेलिङसहित गोलाकार रुपमा संरक्षण गरिएको छ ।

कोत्रे तथा गगनगौडाबाट आउने यहाँको बाटोलाई व्यवस्थित गर्दै ज्यामिरबोटे र सुन्दरी गाउँको बीचमा पर्ने गुवे खोलामाथि पक्की पुल आवश्यक रहेको स्थानीयको भनाइ रहेको छ । पृथ्वी राजमार्गको गगनगौँडाबाट पाँच किलोमिटरको दुरीमा पुग्न सकिने उक्त क्षेत्र विगतमा बीचमा पर्ने खुदी खोला र गुवे खोलामा पक्की पुल नहुँदा लामो समयदेखि ओझेलमा परेको थियो । पछिल्ला समयमा दुवै खोलामाथि पक्की मोटरेवल पुल बनेपछि स्थानीय खुसी बनेका छन् ।

पुल बनेसँगै कास्कीको पोखरा महानगरपालिका वडा नं ३२ पृथ्वी राजमार्गमा पर्ने तल्लो गगनगौडाबाट आँखे तालसम्म आठ/दश मिनेटकै अन्तरालमा सवारी साधनबाट पुग्न सकिन्छ ।

खुदी खोलामाथिको पुल गण्डकी प्रदेश सरकारको रू तीन करोड ७५ लाख १२ हजार लागतमा सम्पन्न भएको हो भने गुवे खोलाको पुल तटबन्धसहित करिब रू पौने तीन करोडको लागतमा सम्पन्न हो ।  (रासस)

२४ पुष २०७९