पोखराको मान्द्रेढुङ्गाबाट आगामी माघ १ देखि प्याराग्लाइडिङको व्यावसायिक उडान हुने भएको छ । यही पुस १७ देखि पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन भएसँगै प्याराग्लाइडिङको उडान मान्द्रेढुङ्गाबाट हुने भएको हो ।
पोखरा महानगर २४ मा पर्ने मान्द्रेढुङ्गाबाट अहिले प्याराग्लाइडिङको परीक्षण उडान भइरहेको छ । विमानस्थल सञ्चालन आएपछि नेपाल नागरिक उडड्यन प्राधिकरणले सराङकोट, तोरिपानी र तामागी क्षेत्रमा प्याराग्लाइडिङ उडानमा रोक लगाएको थियो । मान्द्रेढुङ्गा सराङकोटबाट करिब पाँच किलोमिटर पश्चिममा पर्छ ।
प्याराग्लाइडिङ साहसिक गतिविधिमा रुचि राख्ने आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्दै आएको छ । प्राधिकरणले सराङकोट लगायतका स्थानबाट प्याराग्लाइडिङमा रोक लगाएपछि विकल्पमा मान्द्रेढुङ्गाबाट उडानको तयारी गरिएको नेपाल हवाई खेलकुद संस्थाका अध्यक्ष सुनिल भट्टराईले जानकारी दिए ।
“तालिका मिलाएर सराङ्कोटबाट उडान गर्न प्रयास गरेका थियौ”, उनले भने, “उक्त स्थानबाट सम्भव नभएपछि हवाई सुरक्षाका कारण नमिल्ने निष्र्कषसहित मान्द्रेढुङ्गाबाट उडान तयारी गरेका छौँ, प्राविधिक टोली र प्यारापाइलटको परीक्षण उडान भइरहेको छ ।”
यसअघि सराङकोटको एक हजार चार सय ५० मिटर उचाइबाट करिब सात हजार फिटको क्यापमा प्याराग्लाइडिङ उडान भइरहेकोमा मान्द्रेढुङ्ङगाबाट भने एक हजार सात सय ४० मिटर उचाइबाट छ हजार फिट क्यापमा उडान हुनेछ । यसअघि पनि मान्द्रेढुङ्गाबाट उडान भए पनि व्यावसायिक उडान नभएको भट्टराईले बताए ।
मान्द्रेढुङ्गाबाट हुने उडान पामेमा अवतरण हुनेछ । अहिले परीक्षणका क्रममा पनि पामे फाँटमा अवतरण भइरहेको उनले जानकारी दिए । मान्द्रेढुङ्गाबाट व्यावसायिक उडानअघि प्यारापाइलट र प्याराग्लाइडिङ व्यवसायीलाई सुरक्षा र अन्य आधारभूत विषयमा एकदिने प्रशिक्षण गोष्ठी सञ्चालन गरिसकेको छ ।
करिब एक दशकदेखि व्यावसायिक उडान गर्दै आएका प्यारापाइलट माधव तिवारीले नयाँ ठाउँमा सिधैँ उडान गर्दा हावाको वहावको दिशा, उडान सहजता र सुरक्षा अवस्था परीक्षण उडानबाट जानकारी लिइरहेको बताए ।
उक्त स्थानबाट पनि पोखरा र आसपासका सुन्दर हिमशृङ्खला, तालतलैया र प्राकृतिक सुन्दरतालाई अवलोकन गर्न सकिने भएकाले साहसिक खेलप्रेमीका लागि निकट भविष्यमै मान्द्रढुङ्गा उत्कृष्ट गन्तव्य हुनेमा आशावादी रहेको बताए ।
नेपाल हवाई खेलकुद संस्थाका निर्वतमान अध्यक्ष कृष्ण भण्डारीले साविकको स्थानबाट नयाँ स्थानमा आवातजावातमा केही समय बढी लागे पनि मान्द्रेढङ्ङ्गा प्याराग्लाइडिङका उत्कृष्ट सुरक्षित र भरपर्दो हुने विश्वास व्यक्त गरे ।
“मान्द्रेढुङ्गा नयाँ ठाउँमा पूर्वाधार विकासका लागि तत्काल व्यवसायीले केही लगानी गर्नुपर्ने छ”, उनले भने, “झनै अग्लो उचाइबाट उडान गर्न पाइने र सुन्दर दृश्यवलोकन गर्न पाइने भएकाले उत्कृष्ट हुनेछ ।”
हाल पोखरामा करिब ६० वटा प्याराग्लाइडिङ कम्पनी छन् भने ५० वटा अहिले सञ्चालनमा छन् । त्यसैगरी तीन सय ७६ जनाले प्यारापाइलटले उडान अनुमति लिएका छन् भने व्यावसायिक रुपमा दुई सय ५० जनाले उडान गरिरहेका छन् । पोखराको प्याराग्लाइडिङमा रू एक अर्ब बराबरको लगानी रहेको बताइएको छ ।