ग्रामीण क्षेत्रमा एग्रोटुरिजम विकास गर्ने शुक्लागण्डकी नगरपालिकाको योजना


टुरिजम पाना तनहुँ । ४ मंसिर २०७९
dhorbarahi temple

नेपालको पर्यटनको मुख्य केन्द्र पोखरा लेखनाथसँग सिमाना जोडिएको शुक्लागण्डकी नगरपालिकालाई पृथ्वी राजमार्गले छोएको छ ।

यो क्षेत्र पर्यटकीय, सांस्कृतिक, धार्मिक तथा भौगोलिक कारणले पर्यटकीय सम्भावना बोकेको क्षेत्र हो । यहाँ ढोरबाराही मन्दिर, भुजिकोट, दगाम, शिवपान्चाष्न मन्दिर, मुक्तिनाथ शुक्लागण्डकी च्यवनधाम मिलेनियम गुफा, रक गार्डेन, तिनखोले देवीमन्दिर, भुलभुले बाराहीमन्दिर, खोरादीकोट, कोट खड्ककाली, भूमे भैरब लगायतका धार्मिक, ऐतिहासिक, सांस्कृतिक दृष्टिले महत्वपूर्ण गन्तव्यहरु रहेका छन् ।

पालिकाले आर्थिक वर्ष २०७९/८० कालागि १ अर्ब २२ करोड १६ लाख ३१ हजारको बजेट छुट्याएको छ । जसमध्ये पर्यटन, सहकारी र उद्योग शिर्षकमा २५ लाख, संस्कृति प्रवद्र्धनमा १५ लाख बजेट छुट्याएको छ । यसबाहेक मिलेनियम गुफाको विकासका लागि ८ लाख, पदमार्गका लागि ११ लाख, ढोरबाराहीको पूर्वाधारका लागि २५ लाख, दगाम, भुजिकोट कला संस्कृति प्रवद्र्धन र बाटोघाटो निर्माणका लागि ४० लाख रकम छुट्याएको नगरप्रमुख पण्डितले बताएका छन् ।

वडा नम्बर १२ को लामागाउँलाई पर्यटकीय गाउँमा विकास गर्ने र यसकालागि २५ लाख रकम छुट्याइएको छ । अन्य ग्रामीण क्षेत्रमा एग्रोटुरिजम विकास गर्ने योजना पनि नगरपालिकाले बनाएको छ । होम स्टे, धार्मिक र दृश्यावलोकन गर्ने तीन किसिमका पर्यटकीय क्षेत्रहरु शुक्लागण्डकीभित्र रहेको नगरपालिकाका प्रमुख कृष्णराज पण्डितले जानकारी दिए । यस क्षेत्रभित्र दैनिक ५ सय बढी आन्तरिक पर्यटक पुग्ने गरेका छन् ।

सयौं पर्यटक पुग्ने वडा नम्बर ८ को एक्लेडाँडामा पूर्वाधार निर्माण गर्ने योजना पनि नगरपालिकाले बनाएको छ । यसअनुसार २ किलोमिटरको पदमार्ग र एक्लेडाँडामा गौतमबुद्धको मूर्ती र विश्रामस्थल निर्माण गरिनेछ ।

४ मंसिर २०७९