ऐनापहरामा आधुनिकपार्क निर्माण सुरु


टुरिजम पाना तनहुँ । ७ पुष २०७९

तनहुँको आँबुखैरेनी गाउँपालिकास्थित प्रसिद्ध पर्यटकीयस्थल ऐनापहरामा आधुनिक पार्क निर्माण गर्न थालिएको छ ।पृथ्वीराजमार्गको नजिकै रहेको ऐनापहरालाई थप व्यवस्थित बनाउन गाउँपालिकाले पार्क निर्माण सुरु गरेको हो ।

आँबुखैरेनी गाउँपालिका–२ र ४ को सिमानामा निर्माण गरिने पार्क मङ्गलबार गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले शिलान्यास गरे । ऐनापहराको वरपर रहेका चट्टानमा आकर्षक देवीदेवताको मूर्ति निर्माण गर्न थालिएको उनको भनाइ थियो ।

पार्क निर्माणका लागि गाउँपालिकाले चालु आर्थिक वर्षमा एक करोड ४० लाख बजेट विनियोजन गरेको छ । ‘ऐनापहरालाई तनहुँको मात्र नभइ गण्डकी प्रदेशकै उत्कृष्ट पर्यटकीय गन्तव्य बनाउने सोच राखेका छौं’, अध्यक्ष चुमानले भने, ‘सोही बमोजिम अहिले भइरहेको ठाउँलाई थप आकर्षण बनाउन काम सुरु भएको छ ।’

गण्डकी प्रदेशको प्रवेशद्वारमा रहेको ऐनापहरामा मनमोहक झरना छ । कलकल बगेको पानी, हरियाली जङ्गल र खोंचबाट झरेको पानीले यहाँ आइपुग्ने पुग्ने जो कसैको पनि मन लोभ्याउँछ । पृथ्वीराजमार्गबाट एक मिनेटको दूरीमा पुगिने यो झरना आकर्षक पर्यटकीयस्थलको रुपमा विकास हुँदै गएको हो ।

राजमार्ग भएर यात्रा गर्ने सर्वसाधारणका लागि विश्रामस्थलको रुपमा ऐनापहरा झरना विकास भइरहेको आँबुखैरेनी गाउँपालिका–३ का वडासदस्य मनोजकुमार श्रेष्ठले बताए ।

‘काठमाडाैं, चितवनबाट पोखरा जाने र पोखराबाट फर्कने सर्वसाधारण सवारीसाधन रोकेरै यस झरनामा रमाउने गरेका छन्’, उनले भने ।

यहाँ स्काइ साइक्लिकिङ र सिसाको पुल बनाउने योजना बनाइएको छ । गर्मी मौसमका बेला झरनामा नुहाउन, थकान मेटाउन, भिडिओ वा टिकटक बनाउन सर्वसाधारणको भीड लाग्न थालेको छ भने चिसो मौसममा यहाँ पुग्ने पर्यटकको चाप रहँदै आएको छ ।

छिम्केश्वरीको फेदीमा अवस्थित सिउँढी खोलाको पानी बगेर झरनामा मिसिएको छ । उक्त झरनालाई व्यवस्थित बनाउन गाउँपालिकाले तयार पारेको विस्तृत गुरुयोजना प्रतिवेदनमा दश करोड बजेट लाग्ने अनुमान गरिएको छ । उक्त ठाउँमा बुद्धको मूर्ति, रेलिङ, पार्किङलगायत संरचना निर्माण गरिने जनाइएको छ ।

७ पुष २०७९