हस्पिटालिटीमा अप्सराको छलाङ, २५ वर्षको उमेरमै पाँच तारे होटलको सेल्स म्यानेजर

राजनीतिबारे पनि उतिकै चासो


उपासना शर्मा काठमाडौं । २० फाल्गुन २०७९

अप्सरा तिमल्सिना सम्भवतः नेपालको पाँचतारे होटलहरूमध्ये सबैभन्दा कम उमेरकी सेल्स म्यानेजर हुन् । उनी २५ बर्षको उमेरमै पाँच तारे होटलको सेल्स म्यानेजर बनेकी हुन् ।

काठमाडौंको कपनमा जन्मिएकी अप्सरा ललितपुरको चापागाउँमा हुर्किइन् । विद्यालयमा शिक्षक शिक्षकाले विद्यार्थीहरूको भविष्यको लक्ष्य के हो ? भनेर प्रायःजसोलाई सोधेका हुन्छन् । त्यही क्रममा आफूले लयर ‘अधिवक्ता’ बन्ने जवाफ दिन्थिन् । अधिवक्ता नै किन ? त्यतिखेर उनलाई यसको जवाफ भने थिएन । उनी भन्छिन्,‘त्यतिखेर कानुन भनेको के हो भन्ने त खसै थाहा थिएन, तर पनि मलाई अधिबक्ता बन्न मन थियो ।’

वि.सं. २०६९ मा उनको एसएलसी सकियो । त्यसपछि ब्रीजकोर्सका लागि उनी एउटा इन्स्टिच्युट गइन् । त्यतिखेर विज्ञान विषय अध्ययन गर्ने उनको योजना थियो । तर उनलाई त्यता ध्यान गएन । उनलाई ब्रिजकोर्स बोरिङ लाग्यो ।’

ब्रीजकोर्ष छोडेर चाइनिज भाषा सिक्न थालिन् । त्यसपछि कक्षा ११ मा के अध्ययन गर्ने ? यो प्रश्न उनको सामु उभिन थाल्यो ।

विज्ञान विषय नपढ्ने भएपछि होटल म्यानेजमेन्ट उनको रोजाइमा पर्‍यो । त्यतिखेर उनको नजिक कक्षा १२ मा ल्याब भएको एउटा मात्रै कलेज थियो, ग्राण्ड एकेडेमी, कुमारीपाटी । उनले होटल म्यानेजमेन्ट अध्ययन गर्ने र त्यो ल्याबमा ‘प्राक्टिकल’ गर्ने सोच बनाइन् ।

त्यहाँ अध्ययन थालिसकेपछि भने उनी त्यसमै रमाउन थालिन् । विषयमाथिको ज्ञान त बढ्दै गयो नै, त्यसले उनलाई थप अवसर समेत दिलाउन थाल्यो । प्राक्टिकलहरूमा पनि धेरै सहभागी हुन थालिन् । उनी कलेजको ‘क्याप्टेन’ समेत बनिन् ।

कक्षा १२ अध्ययन सकेपछि उनले बिबीएस सुरू गरिन्, रोलवालिङ कलेजबाट । यसै बीचमा उनलाई होटलमा इन्टर्न गर्न मन लाग्यो । कलेज (कुमारीपाटी) को नजिकै भएकाले कुपण्डोलको हिमालय होटलमा उनले इन्टर्न शुरू गरिन् । त्यहाँ एक महिनाको काम गरिन् ।

अप्सरा भन्छिन्, ‘होटल हिमालयमा सबै जनासँग नजिक पनि भएँ, काम पनि राम्रै गरें । त्यसपछि मलाई त्यहाँ नै जब अफर पनि आयो ।’ तर उनले त्यतिखेर रोजगारीको सोच बनाइनन्, पहिला अध्ययन सकाउने पारिवारिक सल्लाह थियो । सोही अनुसार उनले काम गरिनन् ।

समय बित्दै गयो । बिबीएस अन्तिम वर्षमा अध्ययन गर्दै थिइन् उनी । त्यतिखेर एयरपोर्ट होटलमा रोजगारीका लागि आवेदन माग गरिएको थियो । अप्सराले त्यहाँ बायोडाटा पठाइन् । त्यतिखेर अप्सरा अनुभवी थिइनन् । तर पनि उनी छनोट भइन् । अप्सरा भन्छिन्,‘जीवनको पहिलो पटक अन्तर्वार्ता दिएको होटल, एयरपोर्ट होटल हो ।’ त्यहाँ छनोट भइसकेको करिब ३ महिनापछि उनले काम सुरू गरिन् ।

केही समयपछि बानेश्वरमा रहेको एभरेष्ट होटलमा रोजगारीका लागि आवेदन खुलेको थियो । त्यहाँ जाने सोच बनाइन् अप्सराले । तर, त्यहाँ जाने निर्णय गर्नु अगावै उनको योजना बदलियो । उनलाई उनकै चाहना बमोजिम सेल्स हेर्ने प्रस्ताव एयरपोर्ट होटलले गर्‍यो । उनले त्यसलाई सहजै स्वीकार गरिन् ।

सेल्समा ६ महिनामा राम्रो काम गरेमा बढुवा गरिने शर्त होटलले अगगाडि सारेको थियो । अप्सराले स्वीकार गरिन् । बिग हस्पिटालिटीले त्यतिखेर एयरपोर्ट होटलसहित अन्य विभिन्न होटलहरूको व्यवस्थापन हेर्दै आएको थियो । उनले एयरपोर्ट होटलमा सोही कम्पनीकै मातहतमा रहेर काम गरेकी थिइन् । ६ महिनाको टार्गेट उनले पूरा गरिन् ।

त्यतिखेर उनी सेल्समा स्थापित नै भइसकेकी थिइन् । सोही समयमा बिग हस्पिटालिटीले हेर्दै आएको अन्य ३ होटलको सेल्स हेर्ने जिम्मा पनि अप्सरालाई नै दिइयो । उनले ती सबै होटलमा सेल्स हेर्न थालिन् । भैरहवा लगायत विभिन्न ठाउँमा रहेको होटल हेर्ने जिम्मा समेत उनले पाएपछि उनी सेल्समा झन् अब्बल बन्दै गइन् । जसबाट नेपालभरकै होटलबारे बुझ्ने मौका पाएको अप्सरा बताउँछिन् ।

सेल्स डिपार्टमेन्टबाटै प्रतिनिधि भनेर उनी विभिन्न मुलुकहरूमा आयोजना हुने सेमिनार, गोष्ठीहरूमा समेत सहभागी भइन् । यसले उनलाई आफ्नो क्षेत्रमा थप अब्बल बनाउँन सहयोग गर्‍यो ।

केही समयपछि एभरेष्ट होटलबाट उनलाई नयाँ अफर आयो । जहाँ जान उनी पहिले इच्छुक थिइन्, त्यहीँबाट अफर आएपछि उनी उत्साहित बनिन् । तर गइनन् । कोभिड महामारीको समय भएकाले पनि जाने सोच नबनाएको उनी सुनाउँछिन् ।

साथै केही समय सिक्छु अनि अन्त जानुपर्ला भन्ने सोच थियो उनमा । तर, एभरेष्टले कोभिडकै बीचमा उनलाई फेरि प्रस्ताव गर्‍यो । यसपछि भने उनले त्यहाँ जाने निर्णय दिइन् ।

कोभिड महामारीमा होटल क्षेत्रमा काम गर्ने जनशक्ति धेरैको रोजगारी गुमिरहेको थियो, तर त्यति नै बेला अप्सरालाई भने फरक फरक होटलबाट रोजगारीकै लागि प्रस्ताव आइरहेको थियो ।

होटल एयरपोर्टमा सेल्स एक्युटिभबाट सिनियर सेल्स एक्यिुकेटिभ बनेकी अप्सरा एभरेष्ट होटलमा भने असिस्टेन्ट सेल्स म्यानेजरको बनेर पुगिन् ।

एभरेष्टमा काम गरेको एक वर्ष मात्रै पुगेको थियो । उनलाई फेरि नयाँ प्रस्ताव आयो विभिन्न होटलबाट । त्यसमध्ये याक एण्ड यतिबाट पनि उनलाई प्रस्ताव आयो ।

अप्सरा भन्छिन्,‘याक एण्ड यति एक ऐतिहासिक होटल र लक्जरी होटल हो । त्यसैले पनि नयाँ अनुभव समेट्न मैले त्यहाँ जाने निर्णय गरें ।’ अप्सराले होटल याक एण्ड यतिमा काम गर्न थालेको साढे १ वर्ष भएको छ । अहिले उनी सेल्स म्यानेजर छिन् ।

२५ वर्षमै सेल्स म्यानेजर

अप्सरा उमेरले भर्खर २६ वर्ष पुगेकी छन् । यतिखेर उनी मुलुककै ठूलो पाँच तारे होटल याक एण्ड यतिको सेल्स म्यानेजरको भूमिकामा छिन् । उनी भन्छिन्,‘विगतमा ५ तारे होटल भन्दा हामीलाई कस्तो होला है भन्ने लाग्थ्यो, तर अहिले यहीँ उच्छ तहमा काम गर्ने पाएको छु ।’

राजनीतिमा अपडेटेड अप्सरा

अप्सरा राजनीतिक परिवारमा जन्मिएकी हुन् । उनको बुवाको पृष्ठभूमि माओवादी राजनीति हो । उनी होटलमा म्यानेजर हुँदा पनि देशको वर्तमान राजनीतिबारे चासो राखिरहेकी हुन्छिन् । समयले मागे राजनीति गर्ने समेत उनको सोच छ ।

सेल्स म्यानेजरकै भूमिकामा उनी प्रायः विभिन्न बैंक तथा वित्तीय संस्था, कर्पोरेट हाउस वा अन्य क्षेत्रका प्रतिनिधिहरूसँग ठोक्किरहन्छिन् उनी । होटलमा केही कार्यक्रम पर्दा त्यसको प्रवन्ध गर्ने जिम्मा उनकै हो । जसका कारण पनि आफू अपडेटेड रहनुपर्ने उनी बताउँछिन् ।

बिहान ९ बजे उनी होटलमा प्रवेश गरिसकेकी हुन्छिन् । त्यसपछि कहिले विभिन्न बैठकमा सहभागी हुने, विभिन्न ‘बिजनेस डिल’ गर्ने, बजारबारे जानकारी लिने उनको काम हुन्छ । अन्य क्षेत्रमा जस्तै उनको समय होटलमा ८ घण्टा नै हो । तर ८ घण्टामात्रैले उनलाई पुग्दैन । बेलुकी कहिले त मध्यरातसम्म पनि होटलमै काम गर्नुपर्ने अवस्था आउने उनी सुनाउँछिन् । ‘एमओडी म्यानेजर अन ड्युटी महिनामा एक पटक पालो आउँछ, त्यो पालो आउँदा बेलुका १० बजेसम्म बस्नुपर्छ, समय कम्पर्माइज गर्नुपर्छ,’ उनी भन्छिन् ।

यसबीचमा उनले औपचारिक अध्ययनमा बिबीएस सकाएर मास्टर्स गर्दैछिन् । मास्टर्स सकेर भने बाल्यकालको धोको पूरा गर्न एलएलबी गर्ने उनको योजना छ ।

२० फाल्गुन २०७९