पर्यटन प्रवर्द्धनका लागि स्याङ्जाको कोल्मामा क्रसकन्ट्री दौड हुँदै


टुरिजम पाना स्याङ्जा । २० फाल्गुन २०७९

स्याङ्जाको कोल्मामा तेश्रो संस्करणको दौड प्रतियोगिता हुने भएको छ । स्वास्थ्यका लागी दौड, राष्ट्रका लागी दौड भन्ने मुल नाराका सहित सात सय कोल्मा– बहाकोट सम्पर्क मञ्चले यहि फागुन २६ गते तेश्रो संस्करणको क्रसकन्टी दौड प्रतियोगिताको आयोजना गर्न लागेको हो ।

२० किलो मिटर खुल्ला पुरुष र २१ वर्ष मुनिका १० किलोमिटर पुरुष गरी दुई विद्यामा सञ्चालन हुने उक्त प्रतियोगितामा सहभागिताहरुका लागि कोल्मा देखि राङभाङ हुँदैं काहुले, डाँडा स्वारा, नाम्चे, काल्खु, कोल्मासम्मको लागि २ रुट तय गरिएको मञ्चका महासचिव मन थापाले टुरिजमपानालाई बताए ।

उनका अनुसार प्रतियोगिताको सम्पूर्ण तयारी भईसकेको र १० कि.मी तर्फ एक सय भन्दा वढी र २० कि.मी तर्फ झण्डै ५० जनाको सहभागिता रहने छ । प्रतियोगितामा २० किमी तर्फ प्रथम हुनेले नगद ३५ हजार, द्धितिय हुनेले नगद २५ हजार र तृतीय हुनेले नगद २० हजार प्राप्त गर्नेछन भने १० किलोमिटर दौडतर्फ प्रथम, द्धितिय र तृतिय हुनेले क्रमश नगद १५ हजार, १० हजार र ७ हजार पुस्कार पाउनेछन् ।

कार्यक्रममा प्रमुख अतिथिको रुपमा अल्टालाइट विश्वच्याम्पियन मीरा राईको समेत सहभागिता रहने छ । यसअघि पहिलोपटक २०७५ मा गरिएको प्रतियोगिता २०७७ र २०७८ मा भने कोरोना महामारीका कारण रोकिएको थियो । यसपटकको प्रतियोगिताको मुख्य प्रायोजकमा कोल्मा वहाकोट समाज यू के रहेको छ ।

स्याङ्जा सदरमुकामबाट करिब ९ किलोमिटरको दुरीमा कोल्मा पुगिन्छ । कोल्मामा कोल्माकोट मन्दिर समेत रहेको छ त्यहाँ वडा दशैं, चैते दशैं लगायतका चाड पर्वहरुमा मेला लाग्ने गर्दछ । परापूर्व कालमा कोल्मामा रहेको यहि कोल्माकोटमा रहेको कालीका मन्दिरमा त्यस वरपरका ७ सय घरधुरीका स्थानीयहरु गएर पुजाआजा गर्ने भएकाले यस ठाउँलाई ७ सय कोल्मा भन्ने गरिएको किम्बदन्ती पाइन्छ ।

कोल्मा र यस वरपरका विभिन्न स्थानहरुलाई पर्यटनको सम्भावना पनि बोकेको र देश विदेशमा छरिएर रहेका युवा पुस्ताहरुलाई खेल प्रतिको रुची वढाउनका लागि दौड प्रतियोगिताको आयोजनाले जनाएको छ । कोल्मा गाउँलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउनका यस्ता कार्यक्रमहरु थप गर्नुपर्नेको स्थानीयहरुको भनाइ छ ।

२० फाल्गुन २०७९