बागमती प्रदेशमा उत्साहजनक रुपले बढ्यो होटलको अकुपेन्सी


hotel le himalaya

बागमती प्रदेशमा गत आर्थिक वर्षमा होटलको अकुपेन्सीमा उत्साहजनक वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकको एक अध्ययनले यस प्रदेशमा होटलहरूको औसत अकुपेन्सी ३६.२ प्रतिशत रहेको पाइएको हो ।

प्रतिवेदनका अनुसार, अघिल्लो वर्ष औसत अकुपेन्सी ७.२३ प्रतिशत मात्र रहेको थियो ।

कोभिडको असर न्युन हुँदै गएको, देशका अधिकांश जनताले भ्याक्सिन लगाएको, आन्तरिक तथा बाह्य पर्यटकीय गतिविधिमा उत्साह थपिएको लगाएका कारण पर्यटन आगमनको लय कोभिड अगाडि कै अवस्थामा फर्किने देखिएको प्रतिवेदनले उल्लेख गरेको छ ।

२०७८ साउनदेखि होटलहरुको अकुपेन्सीमा क्रमशः सुधार भएको देखिएको प्रतिवेदनले देखाएको छ । जसअनुसार, २०७८ साउनमा १३.६३ प्रतिशत रहेको अकुपेन्सी २०७९ जेठमा ५७.९८ प्रतिशत पुगेको छ ।

प्रतिवेदनका अनुसार, आर्थिक वर्ष २०७८ सम्ममा बागमती प्रदेशमा हेरिटेज एवम् बुटिक होटलको संख्या ४, पाँच तारा स्तरका होटलहरुको संख्या ११, चार तारा स्तरका होटलको संख्या ७, तीन तारा स्तरका होटल २६, दुई तारा स्तरका होटलको संख्या २८, एक तारा होटलको संख्या २६, लक्जरी रिसोर्टको संख्या २, डिलक्स रिसोर्टको संख्या १ र साधारण रिसोर्टको संख्या ८४ रहेको छ ।

यस्तै यस प्रदेशमा रहेका ३ वटै विमानस्थल सञ्चालनमा रहेका छन् । त्यसैगरी, यस प्रदेशमा ५६ धार्मिक स्थल, ८ विश्व सम्पदा सुचीमा सूचिकृत सम्पदा र १९ पर्यटकीय पार्क रहेको प्रतिवेदनमा उल्लेख छ ।

३ पुष २०७९