बन्दीपुरको हरेक गाउँलाई पर्यटकीय ठाउँको रूपमा प्रवर्द्धन गरिने


सागर गिरी काठमाडाैँ । १४ असार २०८१
तस्बिरः कृष्ण न्यौपाने, रासस

तनहुँको बन्दीपुर गाउँपालिकाका हरेक गाउँलाई पर्यटकीय ठाउँहरूको रूपमा प्रवर्द्धन गरिने भएको छ ।

बन्दीपुर गाउँपालिकाको वडा– ३ मा रहेको रामकोट, वडा–५ मा पर्ने कोरिखा झारगाउँ र वडा– ६ स्थित धरपानी, हुस्लाङ कमलबारी, लखनबारी तथा ग्याँजाटार लगायतका ठाउँहरू पर्यटकीय ठाउँका रुपमा प्रवर्द्धन गर्न लागिएको हाे ।

गाउँपालिकाले होमस्टेहरूको संरक्षण सम्बर्धन र प्रवर्धन गरी होमस्टे सर्किटको विकास समेत गरिने गाउँपालिका अध्यक्ष सुरेन्द्रबहादुर थापाले बताए । उनका अनुसार पर्यटनतर्फ बन्दीपुर बजारलाई संरक्षित क्षेत्र घोषणा गरिएको छ । साथमा यस क्षेत्रमा पौराणिकता झल्कने कार्यक्रमहरू सञ्चालन गरिने तथा उपयुक्त स्थानमा सांस्कृतिक प्रदर्शनी स्थल बनाइनेछ ।

बन्दीपुर आउने पर्यटकहरूको लागत राख्न र होमस्टे होटलहरूको एकीकृत जानकारी गराउन पर्यटन सूचना केन्द्रको स्थापना गरिने उनले जानकारी दिएका छन् । यस्तै उज्यालो बन्दीपुर अन्तर्गत ‘उज्यालो पर्यटकीय गाउँ’ अभियानलाई समेत निरन्तरता दिइने नीति तथा कार्यक्रममा समावेश छ ।

सिद्धगुफा, पातलदारी गुफा, हुस्लाङकोट दरबार, मुकुन्देश्वरी पदमार्ग, चन्द्रकोटगढी, थानीमाई, भुकभुके लगायतका पर्यटकीय स्थलहरूको संरक्षण सवर्धन र प्रवर्द्धन समेत गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।  बन्दीपुर आउने पर्यटकहरूलाई यहाँको संस्कृति रीतिरिवाज रहनसहन बुझ्न मौका मिल्नेछ ।

उत्पादनको पहिचान गरी बजार संभाव्यता अध्ययन गरी उक्त उत्पादनको ब्रान्डिङ गरिने,  पालिकाले सञ्चालन गरेका सीपमूलक तालिमबाट उत्पादन भएका हस्तकला सामानहरूको कोसेली घर मार्फत बिक्री वितरण गरिने निति तथा कार्यक्रममा उल्लेख गरिएको छ।

नीति तथा कार्यक्रम अनुसार यस्तै बन्दीपुर गाउँपालिकाभित्र आउट डोर जिमको विस्तार गर्दै लगिने, पर्यटकीय क्षेत्रहरूमा रहेका प्राकृतिक शिलाहरूलाई थप आकर्षक बनाइने, बन्दीकापुर २५ पोखरी तालपार्कको निर्माण कार्य यसै वर्ष सुरुवात गरिने भएको छ । साथै बृहत झप्रीफाँट जलाशय र देवीथुम्का जलाशय निर्माणको संभाव्यता अध्ययन गरिनेछ ।

यसैगरी बन्दीपुरको पर्यटनलाई विस्तार गर्दै हस्तकला सामान, टुरिस्ट गाइड हस्पिटालिटी ट्रेनिङ, होमस्टे ट्रेनिङ, रैथाने बाली परिकार लगायतका सिपमूलक तालिम सञ्चालन गरी कोसेली घरलाई थप प्रभावकारी बनाइने कार्यक्रम रहेको छ ।

बन्दीपुरको पर्यटन प्रवर्द्धनलाई थप उचाइ प्रदान गर्न देशका ठूला शहर काठमाडौँ, पोखरा, सौराहा, लुम्बिनी, मुस्ताङ जस्ता पर्यटकीय गन्तव्यहरूमा ‘घुम्न जाउँ है बन्दीपुर’ अभियानलाई निरन्तरता दिइने भएको छ ।

 

१४ असार २०८१