भैरहवादेखि साइकल यात्रामा निस्केको टोली तनहुँ पुग्यो


कृष्णचन्द्र न्यौपाने तनहुँ । १४ कार्तिक २०७९
cycle city bhairahawa

आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यसहित भैरहवाबाट सुरु भएको साइकलयात्राको टोली तनहुँ आइपुगेको छ । साइकल सिटी भैरहवाको आयोजनामा शुक्रबारदेखि सुरु भएको साइकलयात्राको टोली आइतबार साँझ तनहुँ आइपुगेको हो । उक्त टोलीलाई शुक्रबार गृहमन्त्री बालकृष्ण खाणले बिदाइ गरेका थिए ।

साइकलयात्री तेस्रो दिन तनहुँको व्यास नगरपालिका–५ मानुङकोट आइपुगेका छन् । तनहुँको भिमाद, खैरेनीटार, जामुने हुँदै टोली साँझ मानुङकोट पुगेको हो । साइकल सिटी भैरहवाका अध्यक्ष सूर्यकुमार सारु मगरले आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यसहित साइकलयात्रा गरिएको जानकारी दिए ।

‘साइकल पर्यटनमार्फत् आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यसहित साइकलमा यात्रा गरेका हौं’, उनले भने, ‘हाम्रो यो यात्रा निरन्तर जारी रहन्छ ।’ गत वर्ष अर्घाखाँचीमा साइकलयात्रा गरिएको उनले बताए ।

उनले भने, ‘मानिसको दैनिक जीवनमा साइकल महत्वपूर्ण साधन बनेको छ, महँगिदो पेट्रोलका कारण पनि साइकल प्रयोगमा जोड दिँदै आएका छौँ । स्वास्थ्यका हिसाबले पनि साइकल प्रभावकारी छ ।’

भैरहवादेखि सुरु भएको यात्रा तनहुँको व्यास नगरपालिका–५ मानुङकोट पुगेर टुङ्गिनेछ । मानुङकोटसम्म पुगेर चितवन हुँदै भैरहवा फर्किने कार्यक्रम तय भएको छ । भैरहवा साइकल सिटीमा ७० जना सदस्य आबद्ध भए पनि साइकल यात्रामा १६ जना सहभागी छन् । ‘सबैजनाको अनुकूल मिलेन, कोही व्यापार व्यवसायमा हुनुहुन्छ, कोही सरकारी जागिरमा हुनुहुन्छ, समय मिलाएर प्रतिनिधित्वमूलक साइकलयात्रा गरेका छौं’, उनले भने ।

व्यास नगरपालिकाका उपप्रमुख इन्दिरा दरै, वडाध्यक्ष विष्णुकुमार श्रेष्ठले साइकलयात्रीलाई स्वागत एवं सम्मान गरे । सो क्रममा व्यास नगरपालिकाका उपप्रमुद दरैले पर्यटकीय गन्तव्यको रुपमा विकास भइरहेको मानुङकोटको प्रचारप्रसारका लागि साइकल यात्राले सहयोग पुग्ने बताइन् ।

कुहिरो र सूर्योदय अवलोकनका लागि पर्यटक मानुङकोट आउने क्रम बढेको र साइकलयात्राले यहाँको पर्यटनमा थप टेवा पुग्ने वडाध्यक्ष श्रेष्ठले बताए ।

यस्तै साइकलयात्रीलाई भिमाद नगरपालिकाले स्वागत एवं सम्मान गरेको छ । भिमाद नगरपालिकाका प्रमुख दधिराज सुवेदीले पर्यटन प्रवद्र्धनका लागि थालिएको प्रयासले सार्थक रुप लिने बताए ।

साइकलयात्रीलाई म्याग्दे गाउँपालिका-२ स्थित ज्यानटाङ पँधेरा सामुदायिक वन उपभोक्ता समूहले पनि स्वागत गरेको छ । सामुदायिक वनभित्र निर्मित रुखमाथि बनेको घर (ट्रि हाउस) मा साइकलयात्रीलाई स्वागत गरिएको हो ।

साइकलयात्री थीरेन्द्र श्रेष्ठले पर्यटन प्रवद्र्धनका लागि रुखमाथि बनेको घर एकदमै राम्रो रहेको प्रतिक्रिया दिए । म्याग्दे-२ का वडाध्यक्ष शिवबहादुर रानाभाट, ज्यानटाङ पँधेरा सामुदायिक वनका उपाध्यक्ष सरस्वती रानाभाटलगायतले साइकलयात्रीलाई फूलमालाले स्वागत गरेका थिए ।

यात्राको पहिलो दिन भैरहवाबाट सुरु भई बुटवल, पाल्पा बर्तुङ, आर्यभञ्ज्याङ, चिदीपानी, हुमिन हुँदै ताहुँ धोबाधी, दोस्रो दिन धोबाधीबाट यात्रा सुरु गरी रम्भादेवी मन्दिर, ताहुँ बजार, बिर्कोट, रामपुरसम्मको यात्रा गरेका थिए । तेस्रो दिन भिमाद बजार हुँदै खैरेनीटार, जामुने भञ्ज्याङ, चापाघाट हुँदै मानुङकोटसम्म साइकलयात्रा गरिएको थियो । रासस

१४ कार्तिक २०७९