स्नेहा ग्रपका अध्यक्ष भवानी राणाले नेपालमा पर्यटन प्रवद्र्धनका लागि नेपाल भित्रने विभिन्न नाकाहरूको व्यवस्थापन हुन जरुरी रहेको बताएकी छन् ।
शुक्रबार क्यापिटल नेपालले आयोजना गरेको होटलियर समिट–२०२४ कार्यक्रममा भैरहवा, विरगञ्ज, काँकडभित्ता, सुदुरपश्चिम लगातका नाकामा सरकारले विशेष ध्यान दिएमा थप पर्यटकलाई भित्राउन सकिने उनी बताउँछिन् । साथै सो नाकाबाट जोडिने पर्यटकिय क्षेत्रको सडक पुर्वाधारमा समेत विशेष ध्यान दिनुपर्ने उनी बताउँछन् ।
‘हामीले बोर्डर टुरिजमलाई ध्यान दिएका छैनौँ । नेपालमा अन्य माध्यमहरूबाट जसरी नै नाकाहरूबाट पनि धेरै पर्यटक भित्रिरहेका छन् । किनभने चीन, भारत र भुटान भ्रमणका लागि आएका कतिपय पर्यटन नेपाल पनि सोही नाकाबाट आउने गरेको देखिन्छ’ उनी भन्छन् ‘कतिपय अवस्थामा ती पर्यटकहरूले भिजाको समस्याका कारण नेपाल भित्रिन पाएका हुँदैनन् । यस्ता समस्यालाई सरकारले उचित नीति सहित व्यवस्थापन गरेमा पर्यटन क्षेत्रमा थप टेवा पुग्छ ।’
यस्तै नेपालका नाकाहरूमा वेलकम स्टेसनको समेत व्यवस्था हुनुपर्ने उनको भनाइ छ । सरकार तथा व्यवसायीको ध्यान नपुगेको यस क्षेत्रमा उचित नीति र व्यवस्थापन ल्याउन सके पर्यटन प्रवद्र्धन हुनुका साथै व्यवसायीहरूलाई पनि व्यवसाय विकासमा टेवा पुग्ने उनको विश्वास छ ।