उप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पोडेलले होटललाई उद्योगसरहको मान्यता र सोहीअनुसारको सुविधा उपलब्ध गराउन सरकार तयार रहेको बताएका छन्।
शुक्रबार क्यापिटल नेपालले आयोजना गरेको होटलियर समिट–२०२४ कार्यक्रममा व्यवसायीले होटलाई उद्योग सरहको मान्यता दिनुपर्ने विषय उठाएपछि अर्थमन्त्री पौडेलले यस्तो बताएका हुन्।
‘होटललाई उद्योग सरहको मान्यता र सुविधा दिनुपर्ने विषय उठाइएको छ। जतिबेला मैले बजेट लेख्ने मौका पाएको थिएँ, त्यतिबेला मैले होटले व्यवसायीसँग कुराकानी गरेको थिएँ। के गर्दा पर्यटन उद्योग राम्रो हुन्छ भनेर सोधेको थियो,’ मन्त्री पौडेलले भने, ‘यस विषयमा मैले टानका प्रतिनिधिसँग बसेर छलफल गर्न र सुझाव लिन चाहन्छु।’
उनले बजेटमा होटललाई उद्योग सरहको सेवा सुविधा दिने विषय उठाएको बताए। होटलले उद्योग सरहको मान्यता पाउनुपर्ने र व्यवसायीले यो विषय पटक-पटक उठाए पनि कार्यान्वयनमा नगएको उनको भनाइ छ।
‘सरकारले होटललाई उद्योग सरहको मान्यता दिन्छ। उद्योग सरहको मान्यता र सुविधा के-के हो भन्ने विषय बुझेर छलफल गरेर हामीले काम गर्ने छौं,’ अर्थमन्त्री पौडेलले भने।
यस्तै, पोखरा र भैरहवाका विमानस्थलहरू नेपालको पर्यटन प्रवद्र्धनका लागि निकै महत्वपूर्ण रहेको उनी बताउँछन् । भने छिमेकी राष्ट्रहरूसँग पनि हवाइ उडान सँख्या बढाउनका लागि विमान थप्नका लागि पहल भइरहेको उनले बताएका छन् ।
साथै उच्च हिमाली भेगमा विभिन्न खेलहरूको सुरुवात गर्न सके यसले फरक किसिमका पर्यटक भित्राउन सकिने उनको भनाइ छ । ‘नेपालको उच्च हिमाली भेगमा खेल खेलाउने व्यवस्था मिलाउन सके यो खेलाडीहरूका लागि नयाँ अनुभव हुन्छ,’ उनी भन्छन् ‘आध्यात्मिक, खेल, योगध्यान, परम्पागत उपचार लगायतका पर्यटकहरू समेत आकर्षक गर्न सकिन्छ ।’