पर्यटकीय विकासका लागि भिमाद नगरपालिकाले गर्‍यो २५ लाख बिनियोजन


टुरिजम पाना तनहुँ । १३ पुष २०७९
तनहुँको भिमादमा रहेको घ्यान्चोलुङ अर्थात् अग्लो ढुंगा । तस्वीर : विजयेन्द्र आले

पर्यटन विकासको प्रचुर सम्भावना बोकेको भिमाद क्षेत्र तनहुँ जिल्लाको दक्षिण पश्चिममा अवस्थित नगरपालिका हो । यो प्राकृतिक विविधता, धार्मिक र ऐतिहासिक रुपले महत्वपूर्ण मानिन्छ ।

यो नगरपालिका मौलिक संस्कृतिका लागि पनि विविधतायुक्त छ । यसको वडा नम्बर ९ मा घ्यान्चोलुङ अर्थात् अग्लो ढुंगा, सिद्धगुफा, पिलुङ झरना, वडा नम्बर ८ मा भृगुऋषि गुफा, डाँडाझोर, अनौठो गुफा, धार्मिक एवं ऐतिहासिक क्षेत्र सतिकोट, कोटबाराहीमन्दिर, शिवपार्वती मन्दिर, मगर सम्पदा संग्राहलयलगायत धेरै पर्यटकीय स्थलहरु रहेका छन् ।

मगर जातिको बाहुल्यता रहेको भिमाद मगर कलासंस्कृति, परम्परा, रहनसहनले पनिधनी छ । रिठ्ठाभञ्ज्याङ र रघु क्षेत्रमा मगर होमस्टे सञ्चालनमा छन् । भिमादको पहाडी भेगबाट धौलागिरी, माछापुच्छ्रे र अन्नपूर्ण हिमश्रृङ्खला देख्न सकिन्छ ।

यी क्षेत्रको पर्यटकीय विकासका लागि नगरपालिकाले संरचनाको निर्माण, प्रचारप्रसार लगायतका कामहरु गरिरहेको नगरपालिकाका प्रमुख दधिराज सुवेदीले जानकारी दिए । पदमार्ग निर्माणका लागि संघीय सरकारले आर्थिक वर्ष २०७८/०७९ मा १५ लाख बजेट नगरपालिकालाई उपलब्ध गराएको थियो । यसबाहेक वडास्तर सहित पर्यटन सम्बन्धी कार्यक्रमका लागि यो आर्थिक वर्षमा २५ लाख रकम बिनियोजन गरिएको छ ।

यो आर्थिक वर्षमा ऐतिहासिक झोलुंगे पुल, शिवालय मन्दिर, कोटवाराही मन्दिर, घाङ्च ल्हुम, सतिकोट गुफा लगायत क्षेत्रको पर्यटन प्रवद्र्धन गर्न समिति बनाएर सम्भाव्यता अध्ययनगर्ने, सिद्धगुफा मार्ग कालोपत्रका लागि संघीय सरकारसँग सहकार्य गर्ने, होमस्टेहरु व्यवस्थित रुपमा सञ्चालन र प्रवद्र्धन गर्ने, पर्यटकीय दृष्टिले महत्वपूर्ण रहेका पदयात्राहरुको पहिचान गरी नक्साङ्कन गर्ने योजना पालिकाले बनाएको अध्यक्ष सुवेदीले बताए ।

१३ पुष २०७९