भोटेकोशी हेली रिसोर्टको आकर्षक प्याकेज, २२ हजारमै हेलिकप्टर यात्रा र लक्जरी स्टे


उपासना शर्मा भोटेकोशी । ५ पुष २०७९
bhotekoshi heli resort

जहाज चढ्ने सबैको चाहना हुन्छ । जहाज चढेर कतै घुम्न जाने वा केही कामका लागि बाहिर जाने योजना हुनेहरुलाई समयको बचत गर्न पनि जहाज उपयुक्त हुन्छ । तर, यो त महँगो पर्छ । अझै हेलिकप्टर चढेर घुम्न जाने त तपाईं हामीले सोचेकै हुँदैनौँ ।

सस्तो शुल्कमै हेलिकप्टर चढेर घुम्न जान पाउँदा तपाईं कम्ता खुशी हुनुहुन्न । यसका लागि भोटेकोशी हेली रिसोर्टले प्याकेजमै सेवा सञ्चालन गरिरहेको छ । प्याकेज सर्भिसका लागि यो विकल्प उत्तम हुने जनरल म्यानेजर दीपेन्द्र पोखरेल बताउँछन् ।

उनका अनुसार, हरेक दिन बिहान रिसोर्टबाट हेलिकप्टरमार्फत फर्किन सकिन्छ । यसका लागि रिसोर्टले फिक्स्ड डिपार्चर भनेर शुरू गरेको छ । जसमा ५ जनाको समूह भएमा उत्तम हुन्छ ।

हरेक दिन दिउँसो ४ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हेलिकप्टरले हेलीका लागि उडान भर्छ । त्यसको केही मिनेटमै रिसोर्ट पुगिनेछ भने भोलिपल्ट बिहान ब्रेकफास्टपछि रिसोर्टबाट उडान भरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुहरूलाई अवतरण गराउनेछ ।

रिसोर्टले दुई वटा प्याकेज सञ्चालनमा ल्याएको छ ।

पहिलो प्याकेजमा हेलिकप्टरका साथसाथै रुम, डिनर तथा ब्रेकफास्ट दिँदै आएको छ । यो प्याकेजका लागि प्रतिव्यक्ति २२ हजार रुपैयाँ तिर्नुपर्ने हुन्छ । अन्नपूर्ण हेलिकप्टरसँगको सहकार्यमा रिसोर्टले यो सेवा सुरू गरेको हो ।

अर्को प्याकेजमा २७ हजार रुपैयाँ प्रति व्यक्ति पर्दछ । जसमा माथिकै प्याकेजका अतिरिक्त भैरवकुण्ड समेत हेलिकप्टरमा जान सकिनेछ ।

सो प्याकेज अन्तर्गत काठमाडौं-भोटेकोशी हुँदै भैरवकुण्ड पुगेर फेरि काठमाडौं फर्कन सकिनेछ ।

३९ रोपनी क्षेत्रफलमा फैलिएको यो रिसोर्टमा करिब ७० करोड रुपैयाँ लगानी भइसकेको छ । जसमा पार्किङ सुविधा सहित २४ वटा लक्जरी रूम सञ्चालनमा रहेका छन् । यसलाई डबल तथा त्रिबल रुम बनाएको अवस्थामा तत्कालै ६० जनाभन्दा बढी बस्न सकिने रिसोर्टले जनाएको छ ।

साथमा रिसोर्टमा ८० जना राउण्ड टेबलमा अट्ने सभा हल छ । रिर्सोटमा लक्जरी प्याकेजबाहेक हाइकिङ महत्वपूर्ण सेवा हो । करिब १३ सय मिटर उचाइमा रहेको यस होटलले निशुल्क रूपमा ३ सय मिटर उचाइको गाती झरनामा हाइकिङ गराउँदै आएको छ ।

रिसोर्टले विभिन्न सुविधाहरू समेत थप गर्ने तयारी गरेको छ । जसमध्ये स्वीमिङ पुल सञ्चालनमा आइसकेको छ । रिसोर्टमा स्पा तथा साउना समेत सञ्चालनमा ल्याउने तयारी भइरहेको छ । रिसोर्टमा कुल ४८ वटा रुम नै सञ्चालनमा ल्याउने गरि तयारी भइरहेको छ ।

कसरी पुग्ने ?

रिसोर्टमा हेलिकप्टरका साथसाथै आफ्नै सवारी साधनमा पनि जान सकिन्छ । यतिमात्रै नभएर सार्वजनिक यातायातमा समेत रिसोर्ट पुग्न सकिन्छ । आफ्नै साधनमा रिसोर्ट जान चाहनेहरूका लागि रिसोर्टमा १५ हजार रुपैयाँ शुल्क लाग्नेछ । १५ हजार रुपैयाँको प्याकेजमा एक जोडीका लागि डिनर, लञ्च र ब्रेकफास्टको सुविधा रहेको छ ।

काठमाडौंबाट रिसोर्ट जान चाहनेहरूका लागि आफ्नै सवारी साधनमा करिब ३ घण्टादेखि ४ घण्टा समय लाग्नेछ ।
कोटेश्वरबाट करिब १०० किलोमिटर दूरीमा रहेको यस रिसोर्टमा जानका लागि समूहले गाडी माग गरेर रिसोर्ट आफैंले गाडीको समेत व्यवस्था गर्नेछ । गाडी व्यवस्थापन गरेबापत रिसोर्टले त्यसको शुल्क भने लिनेछ ।

यसका अतिरिक्त सार्वजनिक यातायातमा जान चाहनेहरूका लागि जडिबुटीबाट बस लाग्नेछ । बिहान सात बजे जडिबुटीबाट सार्वजनिक बस चढेमा केही घन्टामै रिसोर्टको गेटमा पुगिनेछ । जसका लागि बस भाडा चार सय ५० रुपैयाँ लाग्नेछ ।

यस्तै सुमोमार्फत पनि रिसोर्ट पुग्न सकिनेछ । दिउँसो २ बजे जडिबुटीबाट सुमो चढेर केही घण्टामै रिसोर्ट पुग्न सकिनेछ । जसका लागि ८ सय रुपैयाँ भाडा लाग्ने छ । यो भाडा रकम समयसमयमा केही परिमार्जन समेत हुन सक्नेछ ।

स्थानीय उत्पादनलाई प्राथमिकता

रिसोर्टमा ३४ जना जनशक्तिले प्रत्यक्ष रुपमा रोजगारी पाएका छन् । प्रायः सबै जनशक्ति स्थानीय नै भएको होटलका जनरल म्यानेजर पोखरेल बताउँछन् ।

उनले भने,‘म्यानेजरहरूमात्रै बाहिरको हुनुहुन्छ । नत्र बाँकी स्थानीयलाई रोजगारी दिइएका छौँ । पहिलो प्राथमिकता यहीँका नागरिकलाई रोजगारी दिने ।’

स्थानीय उत्पादनलाई नै प्राथमिकता राख्ने गरिएको उनी बताउँछन् । त्यहाँबाट उत्पादिन सागसब्जी तथा माछा मासुले नपुगेको अवस्थामा मात्रै बाह्रबिसे तथा काठमाडौंबाट ल्याइने गरिएको उनको भनाइ छ ।

किन पुग्ने रिसोर्ट ?
भोटेकोसीको चर्चित रिसोर्टमध्ये पर्छ भोटेकोसी हेली रिसोर्ट । काठमाडौंबाट करिब १०० किलोमिटर दूरीमा रहेको यस रिसोर्टमा सुन्दर तथा शान्त वातावरणमा अवस्थित छ । काठमाडौं उपत्यकाको कोलाहलबाट केही पर गएर शान्त बस्न रुचाउनेहरूका लागि रिसोर्ट उत्तम विकल्प हुने गरेको छ ।

रिसोर्टका जनरल म्यानेजर पोखरेल भन्छन्,‘काठमाडौँको ५ स्टार होटलमा जुन लक्जरी छ, त्यो हामी यहाँ दिन्छौँ ।’

रिसोर्टमा रुमसँगै जोडिएको रुम जत्तिकै फराकिलो बाल्कोनीको व्यवस्था समेत छ । बाल्कोनीमा बसेर सुन्दर दृश्य तथा शान्त वातावरण अवलोकन गर्न सकिन्छ ।

 

५ पुष २०७९