२५ वर्ष पुरानो विमान बेच्दै बुद्ध एयर


टुरिजम पाना संवाददाता काठमाडौं । ८ माघ २०७९

बुद्ध एयरले २५ वर्ष पुरानो विमान क्यानडाको कम्पनीलाई बिक्री गरेको छ ।

अहिलेसम्म ७५ हजार उडान अवतरण भइसकेको विमान क्यानडाको कम्पनीले खरिद गरेको कम्पनीका प्राविधिक निर्देशक मंगेश थापाले जानकारी दिए ।

बि १९०० डि नम्बरको यो विमान उडान योग्य अवस्थामै कम्पनीले बिक्री गरेको हो ।

बुद्ध एयरले एटिआर विमानमात्रै उडाउने निर्णय गरेपछि १९ सिटे विमान बिक्री गर्ने निर्णण गरिएको कम्पनीका प्राविधिक निर्देशक थापाको भनाइ छ ।

‘विमान पुरानो हुने भए २५ वर्ष सञ्चालन भएको विमान क्यानडा जस्तो देशमा बिक्री हुने थिएन, नेपालमा बरु १५ वर्ष पुराना विमान ल्याउन नमिल्ने व्यवस्था छ,’ थापाले भने, ‘विमान नियमित मर्मत सम्भार भएको छ भने पुराना हुँदैन । क्यानडाबाट आएका प्राविधिकले बि १९०० डि विमान हेरेका थिए । उहाँहरुले विमान उडान योग्य अवस्थामा भएकाले खरिद गरेर लैजानु भएको हो ।’

बि १९०० डि विमानले १९९७ सेप्टेम्बरमा पहिलो उडान भरेको थियो ।

त्यसयता विमान निर्माता कम्पनीले निर्धारण गरेको मापदण्ड अनुसार मर्मत सम्भार गरेकाले उडान योग्य अवस्थामा रहेको थापाको दाबी छ ।

८ माघ २०७९