बर्गरका ‘वसन्त’ : परिकल्पनादेखि सफलतासम्मको कथा

विदेशको अनुभवले नेपालमा ‘सक्सेस’


टुरिजम पाना संवाददाता काठमाडौं । ९ पुष २०७९

पछिल्लो समय काठमाडौं उपत्यकामा मात्रै हैन, अन्य मुख्य सहरमा पनि युवा पुस्तामा लोकप्रिय छ ‘बर्गर’ । युवा पुस्तामा लोकप्रिय बनेको बर्गर उहीँ स्वादमा देशभरका १३० भन्दा बढी ठाउँमा खान पाइन्छ । बर्गरलाई नेपाली पुस्तामा बानी पार्ने परिकल्पनाकार हुन् युवा व्यवसायी वसन्त लामा ।

उनले पछिल्लो समय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा नयाँ आउटलेट सञ्चालनमा ल्याएका छन् । यहाँ थकाली खानासहित बर्गरका प्रायः सबै आइटम उपलब्ध छन् । करिब ३ करोड रुपैयाँ लगानीमा २४ सै घण्टा सेवा दिइरहेको छ । जसमा सबै सिफ्टमा गरी करिब ५० जना कर्मचारी कार्यरत रहेका छन् ।

लामो समय देश तथा विदेशमा रेष्टुरेन्ट क्षेत्रमा काम गरेका वसन्तले आफूलाई रेष्टुरेन्ट क्षेत्रमै स्थापित गराए । बर्गर उनको ब्रान्ड नै बनेको छ । दोलखामा जन्मिएका लामाले एसएलसीसम्म अध्ययन गरिसकेपछि रोजगारीको सिलसिलामा थुप्रै रेस्टुरेन्टमा काम गरे । एउटा सामान्य रेस्टुरेन्टको ‘हेल्पर’को रूपमा जागिरे जीवन शुरू गरेका वसन्तले आफैं यस क्षेत्रमा जम्ने खासै सोचेका थिएनन् ।

करिब १६ वर्षअघि हेल्परको रूपमा काम गर्दैगर्दा उनले किचेनमा पकाउन समेत सिकिसकेका थिए । उनले काठमाडौंका विभिन्न होटलहरूमा करिब ८, १० वर्ष बिताए । यसपछि भने उनको सोच विदेश जाने बन्यो । कामकै लागि अफगानिस्तान जाने तरखर गरेका उनी त्यहाँ जान पाएनन् । उनी दुबईतर्फ मोडिए ।

लामा भन्छन्, ‘अफगानिस्तानमा जाने योजना थियो तर त्यहाँ नपुगिकन दुबईमै रोकियो ।’ लामाले दुबईमा पनि करिब १० महिनासम्म रेस्टुरेन्टमा नै काम गरे । दुबईमा करिब १० महिना काम गरेका लामाले नेपालमै रेष्टुरेन्ट सञ्चालन गर्ने योजना बनाए । त्यसको केही समयपछि उनी नेपाल फर्किए ।

बर्गर हाउसको परिकल्पना

लामा स्वदेश फर्किएपछि करिब १ वर्ससम्म रेष्टुरेन्टका लागि उपयुक्त ठाउँको खोजिमा लागे । उनको योजना पाटनबाट साकार हुने अवस्था आयो । त्यसपछि उनले ललितपुरको पर्यटकीय क्षेत्र पाटनमा रेस्टुरेन्ट ‘द बर्गर हाउस एण्ड चाइनिज फूडिस्ट’ सञ्चालनमा ल्याए । आफैं सञ्चालक बनेर काम गरेको उनको यो पहिलो अनुभव हो । रेष्टुरेन्टले छोटो समयमै धेरैको ध्यान खिच्यो । व्यापार निकै राम्रो चल्यो । ग्राहकहरूले बर्गरलाई निकै रुचाए । व्यवसाय राम्रो देखेपछि उनले द बर्गर हाउस एण्ड बार्बिक्यु स्टेसन सञ्चालन गरे । यो रेष्टुरेन्टलाई पनि ग्राहकले उत्तिकै रूचाए ।

दुबै रेष्टुरेन्टबाट राम्रो प्रतिफल पाएपछि लामा थप हौसिए । बर्गरलाई ब्रान्ड नै बनाएर लैजाने हुटहुटी उनमा शुरू भयो । उनले शंखमुलबाट यसलाई शुरू गर्ने योजना बुने । त्यतिखेर उनी बौद्ध बस्थे तर काठमाडौंको बानेश्वर, शंखमुलको व्यस्ततालाई उनले नजिकबाट नियाल्ने गरेका थिए । उनले शंखमुलमा नै बर्गर हाउस एण्ड क्राउन्ची फ्राइड चिकेनको पहिलो शाखा खोल्ने तयारी गरे ।

बसन्त लामा

त्यसपछि शुरू भयो ‘बर्गर हाउस एण्ड क्राउन्ची फ्राइड चिकेन’को औपचारिक यात्रा । विक्रम संवत् २०७२ चैत ३० गते शाखाको औपचारिक रूपमा उद्घाटन गरियो । करिब ७७ लाख रुपैयाँ लगानीमा शुरू गरिएको थियो नयाँ शाखा ।

७७ लाख रुपैयाँ लगानीमा शुरू भएको पहिलो रेस्टुरेन्टले शुरूवाती ६ महिनासम्म गति लिन सकेन । भाडा तिर्नकै लागि पनि शुरूको ६ महिनामा कठीन भएको लामा सम्झन्छन् । ग्राहक नै नआउँदा ६ महिनाजति त होटल खाली जस्तै हुने गरेको थियो । त्यतिखेर उनलाई सटर भाडा तिर्न पनि धौ धौ भयो । तर ६ महिनापछि भने त्यहाँको माहोल नै फेरिए ।

बिस्तारै ग्राहकको आवागमन उक्त रेष्टुरेन्टतर्फ बढ्न थाल्यो । त्यसको ८ महिनापछि उनले मध्य बानेश्वरमा दोस्रो शाखा सञ्चालनमा ल्याए । त्यतिखेर काठमाडौंका युवापुस्तालाई बर्गर र क्राउन्ची चिकेनको बानी पर्न थालिसकेको थियो ।

त्यसपछि काठमाडौंको डिल्लीबजार, ठमेल हुँदै विभिन्न ठाउँमा उनले शाखा विस्तार गर्दै गए । उनका अनुसार, भन्छन्, पहिलो शाखा शुरू गरेको डेढ वर्षको अवधिमा ७ वटा शाखा खोलिएको थियो ।

बर्गरका वसन्त

वसन्त लामा बर्गरका लागि वसन्त नै बनेर आए । बर्गर र चेन रेष्टुरेन्ट विस्तारमा उनी अग्र भागमा देखिए । फलस्वरूप उनले ख्याति पनि उत्तिकै पाए । लामाले अहिले बर्गर हाउस एण्ड क्राउन्ची फ्राइड चिकेनको कर्पोरेट कार्यालय बौद्धमा बनाएका छन् । उनीसँग ५ जनाको टीम छ ।

करिब ७ वर्षअघि शंखमूलबाट शुरू भएको बर्गर हाउस अहिले करिब १३० भन्दा बढी शाखामा विस्तारित छ । पश्चिममा धनगढी र महेन्द्रनगर, पूर्वमा बिर्तामोड र दमक, तराईमा जनकपुर, भैरहवा, नेपालगञ्ज, चितवन, सर्लाही र विरगञ्ज लगायत मुख्य शहरहरूमा पुगिसकेको छ बर्गर।

काठमाडौं उपत्यकामा मात्रै उनका रेस्टुरेन्ट ७५ देखि ८० वटासम्म छन् । उपत्यकाबाहिर २५–३० वटा रेस्टुरेन्ट सञ्चालनमा रहेको लामा बताउँछन् । शुरूमा ५–७ जना कर्मचारी राखेर शुरू गरिएको रेस्टुरेन्टले विस्तारित रूप लिँदै जाँदा रोजगारीमा पनि वृद्धि भएको छ । अहिले एउटा शाखामा २५–३० जनासम्मले रोजगारी पाइरहेका छन् । सानो शाखामा भने १८–२० जनासम्म कर्मचारी राखिएको वसन्तले सुनाए ।

लामाका अनुसार अहिले रेस्टुरेन्टका सबै शाखामा गरी करिब ३०० जनाले प्रत्यक्ष रोजगारी पाएका छन् । जसमध्ये स्थानीय अर्थात दोलखाका जनशक्तिलाई उनले परिचालन गरिरहेका छन् बर्गर हाउस एण्ड क्राउन्ची फ्राइड चिकेनले विशेष गरी बर्गर, क्राउन्ची चिकेन, मःम, फ्राई राइस, बिर्यानी लगायत परिकार पाइन्छन् ।

हरेक आउटलेटमा एउटै स्वाद

बर्गर हाउस एन्ड क्राउन्ची फ्राइड चिकेनका १३० भन्दा बढी आउटलेट छन् । ती सबेैमा उपलब्ध परिकारहरूमा एकै स्वाद पाइन्छ । जसका लागि कम्पनीले बौद्धमा सेन्टर किचेन राखेका छन् ।

नबिग्रने आइटमहरू त्यहाँबाटै सबै आउटलेटमा पुर्याइन्छ । बिग्रन सक्ने आइटम जस्तैस् चिकेन लगाउतलाई भने उही स्वादमा आउटलेटहरूले आ आफैं तयार पार्ने गरेको लामा सुनाउँछन् । प्रायः आउटलेटहरूले सम्भव भएसम्म स्थानीय उत्पादनलाई प्रयोग गर्ने गरेको उनको भनाइ छ ।

वसन्त अहिले व्यवसायमा मात्रै सीमित छैनन् । गत स्थानीय निर्वाचनमा उनी दोलखाको मैलुङ–३ को वडाध्यक्ष पदमा निर्वाचित भए । त्यसपछि उनले अहिले समाज सेवाका साथमा रेष्टुरेन्ट अगाडि बढाइरहेका छन् ।

इण्डियामा फ्रेन्चाइजको तयारी

लामा अहिले बर्गर हाउसको फ्रेन्चाइज इण्डियामा खोल्ने तयारीमा जुटेका छन् । त्यहाँ रहेका साथीहरूसँग मिलेर केही समयभित्र नै फ्रेन्चाइज शुरू गर्ने उनको सोच छ । जसका लागि ठाउँ खोजिरहेको लामा बताउँछन् ।

९ पुष २०७९