बुटवलको नयाँ ट्रेकिङ रुटः फूलबारी-नुवाकोटगढी


टुरिजम पाना रूपन्देही । ४ पुष २०७९
Butwal fulbari hiking route

बुटवलको फूलबारीदेखि ठाडै उक्लिएर करिब दुई घन्टामा नुवाकोटगढी पुग्न सकिन्छ । ऐतिहासिक, प्राकृतिक र सांस्कृतिक महत्वको नुवाकोट गढी लुम्बिनी प्रदेशको महत्वपूर्ण हिल स्टेशनका रुपमा रहेको छ ।

नुवाकोट गढीलाई लक्षित गरेर त्यहाँ अहिले केबलकारसमेत निर्माण भइरहेको छ । बुटवल-नुवाकोटगढी नयाँ पदयात्रा (हाइकिङ) पर्यटकीय गन्तव्यका रुपमा विकास थालिएको छ ।

लुम्बिनी घुम्न आउने भारतीय तथा तेस्रो मुलुकका पर्यटकलाई लक्षित गरी बुटवल-नुवाकोटमा एकदिने हाइकिङका रुपमा विकास गर्ने योजनासहित पर्यटन व्यवसायी लागेका छन् ।

नेपाल एशोसिएशन अफ ट्राभल्स एन्ड टुर एजेन्ट (नाट्टा) लुम्बिनी प्रदेशको आयोजनामा पर्यटनका लागि हामी, हाम्रो स्वास्थ्य र पदयात्रा भन्ने नारासहित पदयात्रा (हाइकिङ) को सुरूवात गरिएको छ । फूलबारी-नुवाकोट हाइकिङ पर्यटन प्रवद्र्धनमा नेपालकै महत्वपूर्ण गन्तव्यका रुपमा विकास गर्न लाग्नुपर्ने पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलले बताए ।

यात्रामा विभिन्न सङ्घसंस्थाका प्रमुख, निजी क्षेत्रका अगुवा, सुरक्षाकर्मी, कलेजका विद्यार्थी, पत्रकारलगायत गरी साढे तीन सयभन्दा बढीले साढे तीन किलोमिटरको उकालो चढेर माथि नुवाकोट पुगी पुनःतल फूलबारी फर्केका थिए ।

पर्या–पर्यटनका हिसाबले अत्यन्तै महत्वपूर्ण गन्तव्यका रुपमा रहेको बुटवल-नुवाकोट हाइकिङ यात्रा अत्यन्तै रोमाञ्चक रहेको भैरहवाको सिर्जना जोशीले बताइन् ।

नुवाकोट प्रवेशद्वारबाट करिब आठ सय मिटरको सिँढी चढ्दा केहीमाथि समथर भूगोल आउँछ । उक्त समथर भूभागमा हाइकिङमा जाने यसो एकछिन आराम गर्न पनि मिल्छ । हाइकिङमा पहिलो पटक जानेको लागि उक्त ठाउँ पहिलो विश्रामस्थल हो ।

भ्यूटावरबाट साँझ बुटवल बजारको झिलिमिली अवलोकन गर्न र चिसो मौसममा स्थानीय उत्पादनबाट बनाइएका खानाको परिकारको स्वादमा नाच्दै गाउँदै पर्यटक रमाउँदा साच्चिकै आनन्द अनुभूत हुने नाट्टाका पूर्वध्यक्ष सागर अधिकारीले बताए।

नुवाकोटगढी पुग्न अहिले बुटवल उपमहानगरपालिका–१३ बेलवासदेखि करिब एक घण्टामा सडक मार्गहुँदै सवारीसाधनमा पनि पुग्न सकिन्छ ।

४ पुष २०७९