क्यानको वार्षिकोत्सव कार्यक्रम नेपाल एयरलायन्सद्वारा बहिस्कार !


टुरिजम पाना काठमाडौं । १६ पुष २०७९

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)को वार्षिकोत्सव कार्यक्रम नेपाल वायुसेवा निगमले बहिस्कार गरेको छ ।

शनिवार सम्पन्न प्राधिकरणको वार्षिकोत्सव कार्यक्रममा निगमका कोही पनि पदाधिकारीहरू उपस्थित नभएका हुन् ।

निगमलाई निम्ता दिइएपनि पदाधिकारीहरू कार्यक्रममा सहभागी नभएको प्राधिकरण स्रोतले जानकारी दिएको छ ।

प्राधिकरणले औपचारिक रुपमै निम्ता दिएको थियो, तर उहाँहरू किन, के कारणले आउनुभएन थाहा भएन,’ प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले टुरिजम पानासँग भने ।

उनका अनुसार प्राधिकरणले निगमका अध्यक्षसहितका पदाधिकारीलाई भेटेर नै निम्ता दिएको थियो ।

यता निगमका सूचना अधिकारी गणेश घिमिरेले निगमलाई निम्ता आए/नआएकोबारे आफू अनभिज्ञ रहेको बताए ।

उनले भने,‘शुभकामनाको एडमा सहकार्य भएको हो । तर कार्यक्रममा बोलावट भयो/भएन थाहा भएन ।’

उनले प्राधिकरणले आफ्नो कार्यक्रममा बोलाउने वा नबोलाउने उसकै कुरा रहेको समेत सुनाए ।

क्यान र निगमबीच केही महिनादेखि सम्बन्ध चिसिएको छ ।

१६ पुष २०७९