को हुन् पर्यटन मन्त्रीको लागि चर्चामा रहेका फुर गेल्जे शेर्पा?

एभिएसन, एक्सपिडिसन, हस्पिटालिटी ब्यवसायसँगै एनएसी, टुरिजम बोर्ड, टान र एनएमएको अनुभव


टुरिजम पाना काठमाडौँ । ३१ भाद्र २०८२

नेपालको पर्यटन, पर्वतारोहण र हवाई यातायात क्षेत्रलाई विश्वस्तरीय स्तरमा पुर्‍याउने सपना बोकेका नाम हुन्– फुर गेल्जे शेर्पा। सोलुखुम्बुको सुदूर चौरिखर्कको साधारण परिवारमा जन्मिएका फुर गेल्जेको जीवन संघर्ष र समर्पणको अद्भुत कथाले उनलाई आज नेपालको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सर्वश्रेष्ठ उम्मेदवारको रूपमा उभ्याएको छ।

बाल्यकालदेखि नै हिमालसँगको आत्मीयता बोकेका फुर गेल्जेले किशोरावस्थामै पर्वतारोहण यात्राको सुरुवात गरे। हिमालसँगको यही नाता उनले आफ्नो जीवनको बाटो बनाए। पर्वतारोहणको अनुभव, मेहनत र अनुशासनको जगमा उनले नेपालको पर्यटन उद्योगलाई नयाँ दिशा दिन सक्ने क्षमताको प्रमाण दिएका छन्।

फुर गेल्जे हाल नेपाल माउण्टेनियरिङ्ग एसोसिएसन (एनएमए)का अध्यक्ष छन्। यसअघि नेपाल पर्यटन बोर्डको कार्यसमिति सदस्यका रूपमा दुई कार्यकाल बिताउँदै उनले नीति निर्माणदेखि ब्रान्ड प्रमोशनसम्मको अनुभव सँगालेका छन्।

ट्रेकिङ एजेन्सीज एसोसिएसन अफ नेपाल (टान) का उपाध्यक्ष र महासचिवको जिम्मेवारीसमेत सम्हाल्दै उनले ट्रेकिङ व्यवसायको विकासमा महत्वपूर्ण योगदान पुर्‍याएका छन्।

नेपाल एयरलाइन्सको बोर्ड निर्देशकको रूपमा काम गरेको अनुभवले उनलाई नेपालको हवाई क्षेत्रको समस्या र सम्भावनाको गहिरो ज्ञान दिएको छ।

व्यावसायिक मोर्चामा पनि फुर गेल्जेको योगदान प्रशंसनीय छ। उनी हेलि एभरेस्ट लिमिटेडका संस्थापक तथा प्रबन्ध निर्देशक हुन्, जसले हिमाली क्षेत्रको आपतकालीन उद्धार र पर्यटन यातायातमा महत्वपूर्ण भूमिका खेल्दै आएको छ।

उनले आफ्नै लगानीमा सोलुखुम्बुमा होटल कोङ्दे र शेर्पा शाङ्रिला रिसोर्ट सञ्चालन गर्दै स्थानीय रोजगार र पर्यटन प्रवर्द्धनमा उदाहरणीय काम गरेका छन्।

हिमालयन शेर्पा एडभेन्चर (१९९२) र खाङ्ग्री टुर्स एण्ड ट्राभल्स (२०१२) जस्ता सफल ट्रेकिङ र ट्राभल कम्पनीमार्फत उनले नेपाललाई विश्वको प्रमुख पर्यटन गन्तव्य बनाउन अग्रसरता लिइरहेका छन्।

व्यापारिक सफलतासँगै फुर गेल्जेको सामाजिक उत्तरदायित्व पनि प्रेरणादायी छ। उनले आफ्नै गाउँ फाक्दिङमा २० शैयाको हिमालयन शेर्पा अस्पताल निर्माण गरी स्थानीयलाई निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराएका छन्।

त्यस्तै, उनले हिमालयन शेर्पा फाउण्डेशनमार्फत छात्रवृत्ति तथा विभिन्न सामाजिक परियोजना सञ्चालन गर्दै ग्रामीण समुदायको शिक्षा र स्वास्थ्यमा निरन्तर योगदान दिँदै आएका छन्।

संघर्षपूर्ण जीवन, व्यावसायिक दक्षता र सामाजिक सेवाको अद्भुत संयोजन भएकै कारण अहिले पर्यटन, नागरिक उड्डयन र संस्कृति मन्त्रालयको नेतृत्वका लागि फुर गेल्जे शेर्पाको नाम बलियो उम्मेदवारका रूपमा चर्चामा छ।

३१ भाद्र २०८२