पोल्याण्डका ३७ वर्षीय स्कीचालक आन्द्रेज बार्गियलले अतिरिक्त अक्सिजनको प्रयोग नगरी सगरमाथाको शिखरबाट स्कीमार्फत अवतरण गरेर नयाँ इतिहास रचेका छन्।
उनले काठमाडौँको सेभेन समिट ट्रेकमार्फत विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गरेका हुन् । सेभेन समिटका फुर्बा शेर्पाका अनुसार उनी यही असोज ६ गते सगरमाथाको ४ नम्बर बेस क्याम्प पुगेका थिए । सोही दिन दिउँसो ३ बजे उनले त्यहाँबाट सगरमाथाको चुचुरोमा पुग्ने यात्रा सुरु गरेका थिए ।
क्याम्प नम्बर ४ बाट हिँडेको उनी १६ घण्टामा सगरमाथाको चुचुरोमा पुगेका हुन् । शिखरमा पुगेको केही समयमै उनले स्की बाँधेर अवतरण सुरु गरेको सेभेन समिटले जनाएको छ ।
“यो यात्राले असम्भवजस्तो देखिने कुरालाई सम्भव बनाएको छ। यो सफलता केवल मेरो मात्र होइन, टिम र मलाई सहयोग गर्नेहरुको परिणाम हो”, बार्गियलले सामाजिक सञ्जालमार्फत भनेका छन्। उनले विश्वका विश्वका उच्च हिमालहरूमा आरोहण र स्की अवतरण गर्ने योजना रहेको समेत बताएका छन् ।
अन्तर्राष्ट्रिय माउण्टेन गाइड समेत रहेका उनले सन् २०१८ मा पाकिस्तानमा रहेको विश्वको दोस्रो अग्लो हिमाल केटुबाट पनि स्की अवतरण गरेर इतिहास रचेका थिए ।
नेपालको सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि उनले नेपाल पर्यटन बोर्डसँग भदौ ५ गते अनुमति लिएका थिए । उनले अवतरण गर्ने बेलामा स्की गरेरै अवतरण गर्नको लागि बोर्डबाट अनुमति लिएको नेपाल पर्यटन बोर्डकी सूचना अधिकृत गुना राईले बताइन् । उनका अनुसार बार्गियलले लोत्से हिमाल पनि सोही अनुसार नै अवतरण गर्ने अनुमति लिएका थिए । तर, मौसम खराबीको कारण गर्न नसकेको उनले बताइन् ।
अवतरण गरिसकेपछि बार्गियलले नेपाल पर्यटन बोर्डमा ब्रिफिङ गरिसकेका छन्। अब उनले सगरमाथा आरोहण गरेको विस्तृत प्रतिवेदन बोर्डसमक्ष पेश गरेपछि मात्र बोर्डले उनलाई साहसिक पर्वतारोहीको प्रमाणपत्र दिने गुना राईले बताएकी छन् ।
बार्गियलको यो उपलब्धिलाई स्की पर्वतारोहण र साहसिक खेल क्षेत्रमा एउटा ठूलो उपलब्धिका रूपमा हेरिएको छ। उनले अहिले विश्वभर नै चर्चा कमाइरहेका छन् ।








