बालमष्तिकमा गढेको त्रासमा खाेजिएकाे गन्तव्य “क्यानोनिङ र रक क्लाइमिङ”


सम्राज्ञी भण्डारी काठमाडाैँ । २९ श्रावण २०८१

प्रितम तामाङ र साथीहरु सँधै तीनै झरनाको छाँगाबाट झरेको पानीको बाछिट्टामा भिज्दै विद्यालय आउने जाने गर्थे । घरमा आमा बाबुले पनि त्यस झरना जान हुँदैन भूत आउँछ भनी डर देखाएका कारण झरनाको पानीमा खेल्न चाहेर पनि खेल्न आँट गर्न सकेनन् । जबकि त्यस झरनामा खेल्ने हुटहुटी यती धेरै थियो कि सँधै यस झरनामा खेल्न पाए कस्तो नै हुने थियो भन्ने कतुहल्तासँगै उनी हुर्किए ।

पाँच वर्ष अगाडि उनी भर्खर भर्खर पत्रकारिता पेशामा संलग्न थिए । यसै क्रममा सुन्दरीजलको जंगलभित्र रहेको झरना आयोजना गरिएको क्यानोनिङ खेलमा सहभागी हुने अवसर पाए ।

सुन्दरीजलको झरना देख्ने बित्तिकै आफ्नै गाउँमा भएको ठूलो छाँगाको झरना उनले सम्झिए । उनलाई  यही बेला लाग्यो कि यस्तो अप्ठ्यारो ठाँउमा त यस्तो क्यानोनिङ खेल्न मिल्ने रहेछ । आफ्नो गाउँको त्यती ठूलो झरनामा पनि क्यानोनिङ गर्न पाए कस्तो हुन्थ्ये होला। यस्ता कल्पना गर्दै गर्दा उनले सुन्दरीजलमा पहिलो पटक क्यानोनिङको अनुभव लिए ।

३४ वर्षीय उनी सुन्दरीजलको क्यानोनिङको अनुभव लिएपछि गाउँको झरनामा कसरी क्यानोनिङ गर्न सकिन्छ भनी बुझ्न विभिन्न व्यक्ति तथा संघ संस्थामाझ धाए । पर्यटन बोर्डका एक कर्मचारीले  क्यानोनिङ  गर्न सकिने  सुझाव दिँदै  झरनामा क्यानोनिङको पूर्वाधार निर्माण गर्न बाह्र लाख लाग्ने सुझाव बताए। यती धेरै बजेट जुटाउन नसकिने भएपछि उनको आँट रहरमा मात्र सिमित भयो ।

सिन्दुपाल्चोक जिल्लाको बलेफी गाउँपालिका वडा नं ३ चिलाउने स्थित ठूलो छाँगामा तीन वटा झरना छ । उनको पहलमा अघिल्लो वर्ष स्थानीय सरकारको सहयोगमा ४ लाख ५० हजार बजेट विनियोजन भयो । यसपछि भने उनको उद्देश्य पूरा हुन धेरै समय लागेन । जसमा एक लाख रुपियाँमा डिपिआर भयो । बाँकी ३ लाख ५० हजारले झरनामा क्यानोनिङको पूर्वाधार निर्माण भयो ।

सगरमाथा अरोहि पेम्बा तामाङ, फूरादिकी शेर्पा,  र सुजल गुरुङले दुई दिन क्यानोनिङ र रक क्लाइमिङको प्रशिक्षण दिए। जसमा उनी सहित दश जना प्रशिक्षार्थी सहभागी थिए ।

दश जना प्रशिक्षार्थीले क्यानोनिङ र रक क्लाइमिङ सफलतापूर्वक खेलेसँगै यस झरनामा क्यानोनिङ र रक क्लाइमिङ भविष्य तय भएको छ । यस खेलमा सहभागी निराज तामाङले सुरुमा खेल खेल्न अलि डर लागे पनि पानीको छहारासँगै खेल्दै जाँदा लगातार खेलि रहन मन लागेको बताए । खेलमा स्थानीको पनि उपस्थीती रहेको थियो । खेल हेर्दै गरेका स्थानीय बुढापाकाले झरनामा भूत आउने कुरा भ्रम मात्र रहेको बताए।

तीन स्तरको झरना रहेको ठुलो छाँगामा माथिल्लो झरना ९ मिटरको छ । जसमा आधारभुत अर्थात सिकारुहरुलाई सिक्न, बिचको करिब १२ मिटरको झरनामा जानिसकेका लागि उपयुक्त रहेको छ ।तेस्रो झरनामा करिब १७ मिटरको रहेको छ जसमा गाइड तथा एडभान्सहरुका लागि उपयुक्त छ ।

सुकुटेबाट १२ किलो मिटरमा यो झरमा पुग्न सकिन्छ । साहासिक र रोमाञ्चकारी यस खेलमा पर्यटकलार्इ ल्याउन सके यस क्षेत्रको आर्थिक विकास गर्न सकिने विश्वास उनले लिएका छन् ।

उद्बघाटन कार्यक्रममा बलेफी वडा नं‌ ३ का वडा अध्यक्ष रितेश  तामाङकाे सभापतित्वमा पालिका अध्यक्ष गंगा बहादुर तामाङ, उपाध्यक्ष सरु लामा तामाङ,नेपाल एसोसियसन अफ र्‍याफ्टिङ एजेन्सी (नारा)का महासचिव नारायण श्रेष्ठ, र्‍याफ्टिङ  एण्ड क्यानोनिङ एसोसिएसनका उपाध्यक्ष रामेश्वर आचार्य लगायत अन्य विशिष्ट व्यक्तीहरुको उपस्थिती रहेको थियो ।

२९ श्रावण २०८१