संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले दक्षिण कोरियाका पूर्व पर्यटनमन्त्री युजिन रोंङलाई केही महँगो भएको हवाई भाडा घटाउन आग्रह आग्रह गरेका छन् ।
नेपाल भ्रमणमा रहनु पूर्वमन्त्री रोंङ सहितको प्रतिनिधि मण्डलले सोमबार पर्यटनमन्त्रीसँग भेटवार्ता गरेकाे हो ।
उक्त भेटमा मन्त्री पाण्डेले नेपाल र कोरियाबिचको हवाई भाडा केही महँगो भएको विषयमा आम जनगुनासो रहेको ध्यानाकर्षण गराएका थिए । उनले भने, ‘‘५० हजार भन्दाबढी नेपाली कोरियामा बस्छन् । उनीहरूलाई आउजाउ गर्न प्लेन भाडा महँगो हुने गरेको गुनासो गरिरहेका छन् । यस विषयमा कोरियाली सरकारको ध्यानाकर्षण होस् ।’’
उनले नेपाल कोरिया सम्बन्ध स्थापनाको ५० औँ वर्ष पुगेको स्मरण गर्दै नेपाल कोरियाको सम्बन्ध थप प्रगाढ बन्नेमा विश्वास व्यक्त गरे ।
उनले सन् २००५ मा नेपाल र कोरियाबिचको सांस्कृतिक सम्झौताले दुई देशबिच संस्कृति, शिक्षा, युवा खेलकुद र पर्यटनका क्षेत्रमा सहयोग पुग्नेमा विश्वास व्यक्त गरे ।
नेपालमा कोरियाबाट बर्सेनि ३० हजार पर्यटक आउने गरेको तथ्याङ्क रहेको बताउँदै कोरियाका पूर्वमन्त्री युजिनले नेपाल कोरिया दुई मित्र देशबिचको मित्रवत् सम्बन्धको प्रशंसा गर्दै हवाई भाडा घटाउनका लागि कोरिया सरकारसँग पहल गर्ने बताए ।
भेटघाटमा उनले मन्त्री पाण्डेलाई सन् २०२५ मा कोरिया भ्रमणको निम्तो दिएका छन्।