दामन रिसोर्टकाे भाडा एक करोड, ठेक्का आह्वान


टुरिजम पाना संवाददाता काठमाडौं । २५ श्रावण २०८०

मकवानपुरको थाहा नगरपालिकाले दामन रिसोर्टलाई भाडामा ठेक्का लगाएको छ । बिहीबार सूचना जारी गर्दै नगरपालिकाले २० वर्ष अवधिका लागि एक करोड रुपियाँमा ठेक्कामा लगाउने भएको हो ।

पर्यटकीय स्थलको रूपमा रहेको यस दामन क्षेत्र पछिल्लो समय निकै प्रख्यात बन्दै गएको छ ।

काठमाडौँ उपत्यकाबाट नजिकको दुरीमा रहेको यस क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटकको भीड लाग्ने गरेसँगै रिसोर्टलाई थप व्यवसायिक बनाउने लक्ष्यले नगरपालिकाले ठेक्कामा लगाउने निर्णय गरेको जनाएको छ ।

गोरखापत्र दैनिकमा बिहीबार सूचना प्रकाशित गर्दै नगरपालिकाले ३० दिनभित्र बोलपत्र आव्हान गर्न सूचना जारी गरेको हो । सूचनामा सम्झौतासँगै २५ प्रतिशत अर्थात् २५ लाख रकम बुझाउनु पर्ने छ भने पाँच वर्षमा पहिलो किस्ता बापतको ३० प्रतिशत रकम बुझाउनु पर्ने छ ।

त्यसपछि दोस्रो किस्ता बापत ३० प्रतिशत १२ वर्ष भित्रमा बुझाउनु पर्ने र बाँकी १५ प्रतिशत रकम १९ वर्ष भित्रमा चुक्ता गर्नु पर्ने जनाएको छ ।

 

 

 

२५ श्रावण २०८०